Comments Add Comment

बलात्कार घटना मिलापत्र गराउने गाउँले अगुवा फरार !

Photo Credit : बलात्कार आरोपमा पक्राउ परेका रोमन मगर र प्रिन्स अधिकारी

२३ साउन, विराटनगर । सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गराउने व्यक्तिहरु प्रहरीको फरार सूचीमा परेका छन् ।

मोरङको रङ्गेली नगरपालिकामा सुस्त मनिस्थितिकी १६ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गराउने एकै गाउँका १० जना फरार सूचीमा परेका हुन् ।

किशोरी बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार छन् । इलाका प्रहरी कार्यालय रंगेलीले १० जना मतियार र तीन आरोपीसहित १३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता गरी अनुसन्धान सुरु गरेको हो ।

सामूहिक बलात्कारजस्तो जघन्य प्रकृतिका घटनामा पीडित पक्षलाई दबाव दिएर गाउँमै मिलापत्र गराएको घटना सार्वजानिक भएपछि प्रहरीले बलात्कारमा संलग्न रोमन मगर, प्रिन्स अधिकारी पक्राउ परेका छन् भने सुनिल चौधरी फरार छन् ।

पीडित पक्षलाई मिलापत्र गर्न दबाव दिएको आरोपमा रामबहादुर राजवंशी, निमलाल राजवंशी, शेखर गौतम, चित्रासेन राजवंशी, अभिनव बजगाई, गणेशप्रसाद दाहाल, दिलिप मुर्मु, रेवतबहादुर काफ्ले, सुवास राजवंशी र चेतबहादुर मगर फरार छन् । पीडक पक्षको तर्फबाट पीडितलाई दबाव दिएर मिलापत्र गराउनेहरू गाउँका अगुवा हुन् ।

मोरङका डीएसपी राजकुमार खिइजुले मिलापत्र गराउनेहरुको खोजी कार्य भइरहेको बताए ।

अशक्त बालिकामाथि भएको बलात्कार प्रहरीसम्म पुग्न नदिई गाउँमै पञ्चायती राखेर १ लाख ५० हजार रुपैयाँमा मिलापत्र गरी सामसुम पार्न खोजिएको प्रहरीको भनाइ छ । घटना गत असार २० गतेको हो ।

रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त बालिकामाथि तीनजनाले सामुहिक बलात्कार गरेका पीडित परिवारको भनाइ छ । घटनापछि असार २६ गते गाउँमै भएको पञ्चायतीमा प्रतिव्यक्ति ५० हजारका दरले क्षतिपूर्ति दिने सहमति गर्दै पीडित परिवारलाई घटना बाहिर नल्याउन दबाव दिएका थिए ।

प्रहरीका अनुसार गत असार २० राति मादक पदार्थ सेवन गरेका तीनजनाले चुरोट सल्काउन सलाई माग्ने निहुँमा बालिकाको घरमा पुगेका थिए । राति करिब साढे ८ बजे शौचालय जान निस्किएकी बालिकाको घर नजिकैको धान कुट्ने मिलको बरण्डामा लगेर सामूहिक बलात्कार भएको परिवारको भनाइ छ । बालिका राम्रोसँग बोल्न र कान सुन्न सक्दिनन् ।

असार २६ गते भएको मिलापत्रमा साउन ६ गते रकम दिने सहमति भएको थियो । तर साउन ६ गते अघि नै घटना बाहिरिएपछि लेनदेन भएको छैन । सुस्तश्रवण भएकी बालिकालाई विराटनगरस्थित सामाजिक संस्थाको संरक्षण गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment