Comments Add Comment

सम्झौता एक्सप्रेस रेल बन्द गर्ने पाकिस्तानको घोषणा

२३ साउन, काठमाडौं । पाकिस्तानले लाहौरबाट भारतको अटारीसम्म चल्ने सम्झौता एक्सप्रेस रेल बन्द गर्ने घोषणा गरेको छ ।

पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले यो रेल सधैंका लागि बन्द गर्ने निर्णय सुनाएका हुन् । उनले भने, ‘कश्मीरीमाथि उत्पीडन हुने र पाकिस्तानको सरकार तमासा हेरिरहने हुन सक्दैन । सम्झौता एक्सप्रेस सदा सदाका लागि बन्द गरिएको छ ।’
जसले टिकटका लागि पैसा दिइसकेका छन्, उनीहरुको रकम फिर्ता गरिने उनले बताएका छन् ।

सम्झौता एक्सप्रेस भारत र पाकिस्तानबीच सातामा दुई दिन चल्ने रेलगाडी हो, जुन विभाजन अगाडिदेखि नै अटारीबाट लाहौरसम्म चल्दै आएको छ । सिमला सम्झौतापछि २२ जुलाई १९७६ मा लाहौरबाट अमृतसरसम्म चलाइएको थियो । तर १९९४ मा अटारीबाट लाहौरसम्म चलाउन थालियो ।

यो ट्रेन भारत र पाकिस्तानबीच उत्पन्न हुने तनावमा रोकिने र फेरि सुरु हुने क्रम चल्दै आएको छ । पुलुवामामा भएको चरमपन्थी आक्रमणपछि भारतले यो रेल सेवा रोकेको थियो । अहिले पाकिस्तानले भारतले चालेको अनुच्छेद ३७० को कदमपछि रोकेको छ ।

भारतले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा हटाउने गरी संविधानको अनुच्छेद ३७० निष्प्रभावी बनाएको प्रतिक्रिया स्वरुप पाकिस्तानले यो निर्णय लिएको हो ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले यसको पुष्टि गरे । तर भारतको कुनै प्रतिक्रिया आएको छैन ।

अनुच्छेद ३७० निष्प्रभावी बनाएको विरोधमा पाकिस्तानले भारतसँग व्यापारिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । साथै राजनीतिक सम्बन्ध सीमित बनाउने भन्दै भारतीय उच्चायुक्तलाई फिर्ता पठाउने र आफ्ना उच्चायुक्तलाई फिर्ता बोलाउने निर्णय लिएको छ ।

पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा भारतीय विमानलाई प्रवेश नदिने निर्णय पनि लिएको छ । भारतले भने आफ्ना निर्णयहरु पुनर्विचार गर्न पाकिस्तानलाई औपचारिक आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment