Comments Add Comment

फेसबुक, एप्पल, गुगलसहितका कम्पनीले दुई दिनमै किन गुमाए सवा दुई खर्ब डलर ?

अमेरिकी शेयर बजारले अमेजन, एप्पल, फेसबुक, गुगल तथा माइक्रोसफ्टलगायतका दिग्गज कम्पनीका लागि पछिल्ला केही दिनयता सुखद् समाचार ल्याएको छैन ।

शेयर बजारमा आएको गिरावटका कारण यी पाँचवटा कम्पनीले सोमबार मात्र कुल १ खर्ब ६२ अर्ब डलर गुमाए । शुक्रबार ६६ अर्ब डलर गुमाएका यी कम्पनीहरुले यो हप्ताको अन्तर्राष्ट्रिय शेयर बजार सुरुको दिन १ खर्ब ६२ अर्बको नोक्सान व्यहोरेका हुन् । यसबाट शेयर बजारमा मात्र दुई दिनको अवधिमा यी पाँच दिग्गज कम्पनीले बेहोरेको घाटा २ खर्ब २८ अर्ब डलर पुगेको छ ।

यी कम्पनीमध्ये सबैभन्दा धेरै गुमाउनेमा एप्पल रहेको छ । एप्पलको शेयर मूल्यमा सबैभन्दा धेरै अर्थात् ५.२ प्रतिशतले गिरावट आएको छ । चीन र अमेरिकाबीचको व्यापार युद्धका बीच अमेरिकी सरकारले पछिल्लोपटक घोषणा गरेको नयाँ करपश्चात् एप्पलको शेयर मूल्यमा समेत नकारात्मक असर परिरहेको छ ।

धेरै घाटा बेहोर्ने कम्पनीको दोश्रो स्थानमा फेसबुक रहेको छ । फेसबुकको शेयर मूल्यमा ४.६ प्रतिशतले गिरावट आएको छ । जबकि गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्यमा ३.४ प्रतिशतले गिरावट आएको छ । त्यस्तै माइक्रोसफ्टले ३.४ र अमेजनले ३.१ प्रतिशतको गिरावट व्यहोरेका छ ।

गत मे महिनायता एप्पलको बजार मूल्यमा भएको सबैभन्दा ठूलो गिरावट हो । मे १३ मा एप्पलको बजार मूल्यमा ५.८ प्रतिशतको गिरावट आएको थियो ।

स्मरण रहोस् अमेरिका र चीनबीचको व्यापार युद्धको प्रभाव अमेरिकी प्रविधि कम्पनीहरु, विशेष गरी एप्पलले महसुस गर्न थालिसकेका छन् । यद्यपि, फेसबुक, गुगल र अमेजनको चीनमा शून्य उपस्थिति रहेको छ । जबकि, बिक्री र उत्पादन दुवै क्षेत्रमा एप्पलचाहिँ चीनमाथि धेरै निर्भर रहेको छ ।

हालैको त्रैमासिक आर्थिक प्रतिवेदनमा एप्पलको आम्दानी सन्तोषजनक नै देखिएको थियो । तथापि, भविष्यमा अमेरिका र चीनबीचको तनावले एप्पललाई ठूलो प्रभाव पार्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

हालै अमेरिकी राष्ट्रपति ट्रम्पले एक घोषणा गर्दै आगामी सेप्टेम्बर महिनादेखि चीनबाट आयात हुने ३ सय अर्ब डलर बराबरका वस्तुमा १० प्रतिशत कर लगाउने बताएका थिए । त्यस्ता वस्तुहरुमा एप्पलको आइफोन, म्याकबुक तथा आइप्याड लगायतमा प्रयोग हुने पाटपुर्जा र सामानहरु समेत रहेका छन् । यो घोषणासँगै अमेरिकाका धेरै प्रविधि कम्पनीहरुको शेयर मूल्यमा नकारात्मक असर परिरहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment