Comments Add Comment

प्रभावकारी बन्यो टाँडीको कपडा बैंक

२५ साउन, चितवन । पूर्वी चितवनको रत्ननगरमा सञ्चालित कपडा बैंक प्रभावकारी बन्दै गएको छ । यही साउन १५ गते स्थापना भएको बैंकबाट अहिलेसम्म एक सयभन्दा बढी लुगा कपडा विपन्न तथा असहायहरुले लगिसकेको कार्यक्रमका अभियन्ता केदार शर्माले जानकारी दिए ।

पछिल्लो समयमा राजधानीलगायत देशका विभिन्न स्थानमा कपडा बैंक सञ्चालन हुँदै आएका छन् । पूर्वी चितवनको रत्ननगरमा सामाजिक जागरण युवा समूह सौरहाका युवाहरुको सक्रियतामा खुलेको कपडा बैंकबाट कडा परिश्रम गर्ने कामदार, विपन्न चेपाङ, थारु समुदाय र वृद्धवृद्धाहरु लाभान्वित भएको अभियन्ता शर्माले बताए ।

टाँडी बजार र बकुलहर बजारको वीचमा कपडा बैंक स्थापित छ । छोटो समयको अवधिमा नै धेरै विपन्न नागरिकहरुले कपडा बैंकबाट फाइदा लिएको शर्माको दावी छ । बैंकमा कपडा दिन आउनेहरुको संख्याहरु पनि बढेको छ । सामाजिक उत्तरदायित्व निर्वाह पनि हुने र विपन्न र सहयोगी मनहरुलाई जोड्नका लागि यो प्रभावकारी बनेको संस्थाकी अध्यक्ष रिजा जोशीले बताइन् ।

आफूले लगाएका पुराना तथा पुनः प्रयोग गर्न मिल्ने खालका कपडा सो बैंकमा सहयोग गर्न सकिने जोशीको भनाइ छ । ‘आफूले लगाइसकेको तर अझै पनि प्रयोग गर्न मिल्ने खालको कपडा छन् भने कपडा बैंकमा ल्याएर जम्मा गर्न सकिन्छ,’ अध्यक्ष जोशीले भनिन् ‘कतिपयका घरमा कपडा यत्तिकै फाल्तु बसिरहेका हुन्छन्, त्यसलाई सफा गरेर बैंकमार्फत विपन्नलाई दिन सकिन्छ ।’

कपडा बैंकमा लगाएका कपडा मात्रै नभई कसैले नयाँ लुगा किनेर दिए पनि आफूहरुले वितरण गरिदिने अभियन्ता केदार शर्माले बताए । ‘लक्षित समुदायलाई सहयोग गर्न चाहाने व्यक्तिहरुले नयाँ कपडासमेत ल्याएर दिन सक्नुहुन्छ,’ शर्माले भने, ‘कहाँ लगेर दिने भन्ने समस्या भएकाहरुका लागि पनि यो विकल्प बनेको छ ।’ जाडोको समयमा अझै यो प्रभावकारी हुने शर्माले बताए ।

सामाजिक सञ्जालमा फोटोहरु देखेर कपडा बोकर ल्याइदिइनेको संख्या बढिरहेको छ । कपडा आवश्यक हुनेहरुले खुशी हुँदै लगिरहेका भेटिन्छ । पहिला पहिला लिन आउनेलाई एक-एक जोर दिने गरिएकोमा अहिले भने अवस्था हेरेर दिने गरिएको अध्यक्ष जोशीले बताइन् ।

अहिले बनाइएको स्ट्याण्डमा ३०/४० वटा लुगा राख्न मिल्छ । अब यसलाई बढाउने र पानी पर्दासमेत जोगिने हिसावले अघि बढाउन लागिएको छ । ‘हामीले सोचेको भन्दा पनि धेरै सफलता मिल्यो,’ संस्थाकी अध्यक्ष जोशीले भनिन्, ‘थुप्रै सहयोगी हातहरुले साथ दिनुभएको छ, लिन आउने र दिन आउनेको चासो उत्तिकै छ ।’

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले भने खासै सहयोग गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment