Comments Add Comment

तराईका झोलुङ्गे पुलमा पर्यटकको आकर्षण

ठोरीमा बन्दैमा २ सय मीटर लामो झोलुङ्गे पुल

२५ साउन, काठमाडाैं । पहाडको भौगोलिक बनोटलाई मध्यनजर गरेर सरकारले झोलुङ्गे पुलहरु निर्माण गर्दै आइरहेको छ । पछिल्लो समय तराईका जिल्लामा समेत झोलुङ्गे पुल निर्माणले तिव्रता पाएको छ ।

पछिल्लो समय तराईका जिल्लामा झोलुङ्गे पुलको संख्या बढ्न थालेको छ । तराईको बारा, पर्सा र रौतहट जिल्लामा झोलुङ्गे पुलको संख्या बढ्दै गएको झोलुङ्गे पुल निर्माणमा सहजीकरण गर्दै आइरहेका विनोद यादवले जानकारी दिए ।

वर्षौँदेखि सुविधासम्पन्न पुल निर्माण हुन नसकेका स्थानमा स्थानीय तहको समन्वयमा तराईका जिल्लामा झोलुङ्गेपुल निर्माण  हुने गरेको यादवले बताए ।

कम लागत र छिटो समयमा आवत-जावतमा सहजता आउने भएपछि सर्वसाधरण पनि झोलुङ्गे पुलतर्फ आकषिर्त हुने गरेको उनले बताए ।

सुविधासम्पन्न पुल निर्माण हुन नसक्दा वर्षायाममा खोला तर्न नसक्दा आउजाउसमेत अवरुद्ध हुने गरेपछि सर्वसाधारणले झोलुङ्गे पुल निर्माणको माग गर्ने गरेको उनले बताए ।

यादवका अनुसार पर्सा जिल्लामा मात्रै १५ भन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन् । बारा र रौतहटमा समेत एक दर्जनको हाराहारीमा झोलुङ्गे पुल निर्माण भएको उनले बताए ।

तराईका जिल्लामा निर्माण भएका झोलुङ्गे पुलले सर्वसाधारणको जीवन यापनमा सहजता ल्याइदिनुका साथै पर्यटनको विकासमा समेत सघाएको यादव बताउँछन् ।

झोलुङ्गे पुलको संख्या थपिँदै जाँदा ती स्थानको सौन्दर्य वृद्धि हुनुका साथै पर्यटन आगमनमा वृद्धि हुने गरेको उनले सुनाए ।

तराईको जिल्ला भए पनि मिनी उपत्यकाको रुपमा परिचित पर्साको ठोरीमा झोलुङ्गे पुल हेर्न भारतीय पर्यटक आउने क्रम बढेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ बताउँछन् ।

ठोरीमा बनेका झोलुङ्गे पुल चढ्न दैनिक एक हजार भन्दा बढी संख्यामा भारतीय पर्यटकहरु आउने गरेको उनले बताए ।

ठोरीको वडा नं १ र २ लाई जोड्ने ढेडुखोलामा पर्सा जिल्लाकै लामो र फराकिलो झण्डै २ सय मिटरको झोलुङ्गे पुल थपिँदैछ । सो खोलामा अहिलेसम्म कुनै पनि पुल बन्न नसक्दा वषर्ायाममा सर्वसाधारणले आउजाउमा समेत समस्या झेल्दै आउनुपरेको छ ।

पक्की पुल बन्न नसके पनि तीनपाङ्ग्रे अटो र मोटरसाइकल आउजाउ गर्न सक्ने गरी ५ फिट फराकिलो झण्डै २ करोड ३३ लाख रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण भइरहेको उपभोक्ता समितिका अध्यक्ष शम्भु गुरुङले  अनलाइनखबरलाई जानकारी दिए ।

नेपाल सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको आर्थिक सहयोग, ट्रायल ब्रीज सपोर्ट युनिट हेल्भेटास काठमाडौंका प्राविधिक सहयोग तथा आदर्श जनसेवा क्लव पर्साको सहजीकरणमा उपभोक्ता समितिले अहिले फाउन्डेसनको काम गरिरहेको गुरुङले बताए ।

ढेडुखोलामा बन्दै गरेको झोलुङ्गे पुल पर्सा जिल्लामा नै सबैभन्दा लामो, बढी लागत र फराकिलो रहेको क्लवका अध्यक्ष विनोद यादवले बताए ।

योसँगै ठोरी गाउँपालिकामा अब झोलुङ्गे पुलको संख्या चार पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment