Comments Add Comment

आजका पत्रपत्रिका : हदबन्दी बढीको जग्गा जफत गर्दै सरकार

२६ साउन, काठमाडौं । हदबन्दी बढीको जग्गा जफत गर्ने तयारी सुरु भएकोदेखि निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग भएकासम्मका खबर आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, प्राकृतिक स्रोतको स्वामित्वलाई लिएर प्रदेशबीच देखापरेको विवाद, जम्मु–कश्मिरमा रहेका नेपालीको अवस्था, पृथ्वी राजमार्गमा बढ्दो सवारी दुर्घटनाबारे पनि आजका दैनिक पत्रिकाहरूले समाचार बनाएका छन् ।

कान्तिपुरले ‘हदबन्दी बढीको जग्गा जफत गरिँदै’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार, सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानूनी रूपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानूनी जग्गा सरकारका नाममा ल्याउन भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भने विचाराधीन अवस्थामा छ ।

अख्तियारको तथ्यांक अनुसार देशभर ३८ हजार ३ सय १९ रोपनी अर्थात् २ हजार ८ सय ७८ बिघाभन्दा बढी जमिन हदबन्दीभन्दा बढी छ । हिमालमा एक व्यक्तिको नाममा ७५ रोपनीसम्म जग्गा राख्न पाइने नियम छ । हदबन्दी लागू भएमा यो क्षेत्रको ९ हजार ३७ रोपनी जग्गा जफत हुने छ । त्यस्तै उपत्यकाबाट २ हजार ८ सय ६४ रोपनी जग्गा जफत हुने छ । उपत्यकामा ३० रोपनी मात्रै जग्गा राख्न पाइने भए पनि कतिपयसँग बढी जग्गा रहेको कान्तिपुर समाचारमा उल्लेख छ । हदबन्दी लागू भएमा तराईबाट २ हजार २ सय बिघा जग्गा जफत हुने छ ।

जम्मु–कश्मिरमा रहेका नेपालीबारे पनि आज कान्तिपुरले सोधीखोजी गरेको छ । समाचार अनुसार, त्यहाँ रहेका नेपाली सुरक्षित भए पनि चिन्तित छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले जम्मु–कश्मिरको विशेषाधिकार खारेज गर्ने निर्णयपछि यो क्षेत्रमा अहिले तनावको अवस्था छ ।

अन्नपूर्णले ‘निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार नेपाल प्रहरीबाट सेवा निवृत्त अधिकांश उच्च अधिकारी पेन्सन खाएर निजी कम्पनीमा काम गर्दै आएका छन् । यति मात्रै होइन, उनीहरूले सरकारी तलबभत्ता खाएका बहालवालला सुरक्षाकर्मीलाई आफूसँगै लगेर दुरुपयोग गर्ने गरेको पाइएको छ ।

अन्नपूर्णमा सुवास गोतामेले लेखेका छन्– प्रहरी संगठनबाट तलब खाने तल्लो दर्जाका सुरक्षाकर्मीलाई निवृत्त अधिकृतले निजी काममा प्रयोग गरिरहेको तथ्य फेला परेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको तर गोप्य राखिएको आन्तरिक निर्देशिकालाई टेकेर पूर्वप्रहरी अधिकृतले सुरक्षाकर्मीलाई धमाधम व्यक्तिगत कामममा प्रयोग गरेका हुन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment