
२७ साउन, जनकपुरधाम । श्रीमानसँग छुट्टिएर माइतीमा बस्दै आएकी महिलाको हत्या गर्ने दुई व्यक्ति दुई महिनापछि पक्राउ परेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका १० माइतीमा बस्दै आएकी ३० बर्षीय अन्जु श्रेष्ठको हत्या गर्ने दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका ८ का ३६ बर्षीय राजकिशोर गिरी र २ का ४१ बर्षीय दशै ठाकुर छन् ।
दुबैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान शुरु गरिएको महोत्तरी प्रहरीले जनाएको छ । ३० बर्षीया श्रेष्ठको ५ असारको राति हत्या भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
सिन्धुली निवासी श्रीमान् ईश्वर श्रेष्ठले अर्को बिहे गरेपछि उनी दुई सन्तानसहित केही बर्षदेखि माइतीमा बस्दै आएकी थिइन् ।
मृतककै मोवाइल प्रयोग गर्दा पक्राउ
अन्जुको हत्या भएपछि अभियुक्तले अन्जुको मोवाइल समेत लुटेर लगेका थिए । सोही मोबाइलको आईएमईआई नम्बरको आधारमा दुबैलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आईएमईआई नम्बरको आधारमा उनलाई प्रहरीले घरबाटै आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका मोबाइल तथा एक थान चक्कु बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया 4