Comments Add Comment

दूधको मूल्य बढ्ने, सरकारले बनायो कार्यदल

२९ साउन, काठमाडौं । सरकारले दूधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको हो ।

बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई दूधको नयाँ मूल्य सिफारिस गर्ने विषयमा विभिन्न नौ कार्यदेश दिइएको छ ।

गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गर्नुपर्ने कृषि मन्त्रालयले जनाएको छ ।

यसका अलवा दूधको गुणस्तर, आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत २ वर्षको बजार मूल्यबृद्धि, विगतका ५ वर्षमा दूधको मूल्यको ट्रेन्ड र दूधको मूल्य समायोजनमा उपभोक्तामा असर विश्लेषणबारे पनि कार्यदलले अध्ययन विश्लेषण गर्नुपर्ने कार्यदेश छ ।

कार्यदलमा नेपाल डेरी एसोसिएसन, डेरी उद्योग एसोसिएसन, मन्त्रालयका प्रतिनिधि, दुग्ध विकास सहकारीका प्रतिनिधि, दुग्ध विकास कम्पनीका प्रतिनिधि सहभागी छन् । कार्यदलको समय सीमा नतोकिए पनि भदौ एक गतेदेखि नै लागू हुने गरी प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म दूधको मूल्य बढ्न सक्ने मन्त्रालय स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment