Comments Add Comment

प्रधानमन्त्रीले भने : म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ज्वरो आएर आराम गर्दा बाहिर हावा हालेर समाचार बनेको टिप्पणी गरेका छन् । गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग शुक्रबार बालुवाटारमा भेटेका ओलीले आफू तन्दुरुस्त रहेको बताएका हुन् ।

ओली अचानक अस्वस्थ भएपछि बिहीबार निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको थियो । सिंगापुरमा स्वास्थ्य जाँच गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि धेरैले चासो व्यक्त गरे । तर उनले शुक्रबार झापाका कार्यकर्तासँग भेटेका छन्, जसको तस्वीर प्रधानमन्त्रीको निजी सचिवालयले सार्वजनिक गरेको हो ।

प्रधानमन्त्रीको ओली उनी तस्वीर ठीक रहेको सन्देश दिन सार्वजनिक गरिएको स्रोतले जनाएको छ । फोटोमा अर्थमन्त्री डा.युवराज खतिवडा, झापा क्षेत्र नम्बर ५ अन्तर्गतका जनप्रतिनिधि र नेकपा कार्यकर्ता तथा उद्योगी,व्यवसायीहरु छन् ।

‘म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन’ ओलीको भनाइ उधृत गर्दै दमक नगरपालिकाका उपमेयर गीता अधिकारीले भनिन्, ‘हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर आए ।’

गत साता सिंगापुरमा आँखा, कान र बुढी औंलादेखि कान्छी औंलाको नङसम्म परीक्षण गरेर आएको भन्दै उनले आफू ठीक रहेको बताए । ओलीलाई उधृत गर्दै प्रेस संयोजक चेतन अकिारीले भने, ‘अब २०–२५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरहरुले । त्यसकारण म विरामी होइन ।’

झापालीहरुसँगको भेटपछि ओली नेकपा केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गरिरहेका छन् । नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

‘म अहिले होइन ,१५ बर्ष अघि विरामी थिँ । १२ बर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै अधिकारीले भने ‘मलाई विरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । विरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकीकरण गरें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment