Comments Add Comment

प्रचण्डलाई कार्यवाहक अध्यक्ष सुम्पेर प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

१ भदौ, काठमाडौं । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदाै ४ या ५ गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।

अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक नेताले अनलाइनबरलाई बताए ।

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किए । स्वदेश फर्किँदा विमानस्थलमा उनी सञ्चारकर्मीहरुसँग बोलेनन् । केहीबेरपछि प्रधानमन्त्रीले ट्विट गरेर स्वास्थ्य ठीक रहेको बताए ।

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका निर्णयहरु फटाफट गराएका छन् । यससँगै पार्टीका अढाइ दर्जनभन्दा बढी विभागहरुले पूर्णता पाएका छन् ।

थप उपचारका लागि सिंगापुर जानुपूर्व आजै प्रधानमन्त्रीले संसदलाई सम्वोधन गरे । तर, संसदलाई गरेको सम्वोधनमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदलाई केही पनि जानकारी गराएनन् ।

के छ त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर जन मानसमा अनेक खालका चिन्ता प्रकट भइरहेका छन् । मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य स्थितिबारे आम नागरिकमा यस्तो चिन्ता प्रकट हुनु स्वाभाविकै हो । तर, प्रधानमन्त्रीको सचिवालयले यसबारेमा औपचारिक जानकारी दिनभन्दा पनि सूचनालाई गोप्य राख्न खोज्दा जनमानसमा आशंका उब्जिने गरेको छ ।

आजभन्दा १२ वर्ष पहिले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाइबुहारी अञ्जना घिमिरेले मृगौला दिएकी हुन् ।

चिकित्सकहरुका अनुसार मृगौला प्रत्यारोपण गरिएको मानिसले लगभग जीवनभर औषधि खाइरहनुपर्छ । र, सामान्यतः १० वर्षमा पुरानो औषधि बन्द गरेर नयाँ औषधि चलाउने प्रचलन छ ।

उच्च सरकारी स्रोतका अनुसार अघिल्लो साता सिंगापुर गएका बेला प्रधानमन्त्री ओलीलाई नयाँ औषधि चलाइएको छ । साथै चिकित्सकहरुले हालै बुहारी अञ्जनाको पनि स्वास्थ्य जाँच गरेका छन् ।

पुरानो औषधिका ठाउँमा नयाँ औषधि प्रयोग गर्दा यसले काम गर्छ कि गर्दैन भनेर चिकित्सकले अवलोकन गर्छन् । नयाँ औषधिले राम्रोसँग काम गरेन वा शरीरमा ज्वरो आउनेलगायतका जटिल लक्षणहरु देखिए भने साइट इफेक्ट भएको मानिन्छ । त्यस्तो बेलामा पुरानो औषधितिरै फर्किनुपर्ने वा अन्य उपचारका तरिकाहरु अवलम्वन गर्नुपर्ने हुन सक्छ ।

प्रधानमन्त्री ओलीलाई सिंगापुरमा साउन १९ गतेदेखि अस्पतालमै राखेर चिकित्सकहरुले नयाँ औषधिको ‘इफेक्ट’ जाँचेका थिए । एक सातासम्म हेर्दा सकारात्मक स्थिति देखिएपछि तीन साताभित्र ‘फलोअप’ मा आउने गरी प्रधानमन्त्रीलाई डिस्चार्ज दिइयो र उनी साउन २७ मा स्वदेश फर्किए .

बालुवाटार स्रोतका अनुसार चिकित्सकहरुले फलोअपमा एकचोटि आउनैपर्ने भनेका कारण प्रधानमन्त्री फेरि सिंगापुर जाने तयारीमा छन् । सबै चाँजोपाँचो मिलेमा भदौ ४ वा ५ गते प्रधानमन्त्री ओली सिंगापुर जाने तयारी छ ।

प्रधानमन्त्री ओली दोस्रोपटक सिंगापुर जान लागेको खबर बाहिरिएसँगै कतिपयले स्वास्थ्यमा निकै जटिल समस्या पो आएको हो कि भनेर चिन्ता गरे पनि सामान्य फलोअपका लागि मात्रै प्रधानमन्त्रीले जानैपर्ने भएको उनी निकट स्रोतले बतायो ।

प्रधानमन्त्री ओली नजिकका एक नेताले अनलाइनखबरसँग भने, ‘पुरानोको टाउँमा नयाँ औषधि चलाएकाले दुई/तीन हप्तामा एकचोटि फलोअप गर्नैपर्ने डाक्टरले सल्लाह दिएकाले मात्र उहाँ फेरि जान लाग्नुभएको हो, स्वास्थ्यमा जटिलता देखिएको होइन ।’

२०/२५ वर्ष केही हुँदैन भनेका छन् : प्रधानमन्त्री

गत सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई बिहीबार सामान्य ज्वरो आयो । ९९ डिग्री ज्वरो आएपछि उनी नेकपाको सचिवालय बैठकमा सहभागी भएनन् र बैठक सर्‍यो ।

नेकपाको बैठकमा प्रधानमन्त्री सहभागी नभएपछि उनको स्वास्थ्य अवस्थाबारे पार्टीभित्र चासो र चिन्ता व्यक्त भयो । तर, भोलिपल्टै अर्थात शुक्रबार प्रधानमन्त्रीले गृहजिल्ला झापाका नेता-कार्यकर्तासँग भएको भेटमा आफ्नो अवस्था सामान्य रहेको र १२ वर्ष पहिले मात्र बिरामी रहेको बताए ।

अघिल्लो दिन ९९/१०० डिग्री ज्वरो आएको र एउटा सिटामोल खाएपछि ठीक भएको प्रधानमन्त्रीले जिल्लाबासीहरुलाई बताए । साथै, डाक्टरले अब २०/२५ वर्ष केही हुँदैन भनेको सन्देश पनि प्रधानमन्त्रीले सुनाए ।

प्रधानमन्त्री ओली बलियो ईच्छाशक्ति भएका व्यक्ति हुन् । पञ्चायतकालमा जेलभित्र रहँदा अल्सर लगायतका विभिन्न रोगले ग्रस्त भएका बेलामा पनि उनले हरेस नखाई बलियो ईच्छाशक्ति देखाएको उनका समकालीन नेताहरु स्मरण गर्छन् ।

पछिल्ला केही वर्ष प्रधानमन्त्री ओलीमा बेलाबखत स्वास्थ्य समस्या आउने गरेको छ । तर, उनी अहिलेसम्म हरेक कार्यक्रम र गतिविधिमा सक्रियतापूर्वक खटिरहेकै छन् । बिहानैदेखि राति अबेरसम्म प्रधानमन्त्रीको सक्रियता रहने गरेको छ ।

प्रचण्डले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने

नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओली विदेश जाँदा अर्का अध्यक्ष प्रचण्ड स्वतः कार्यवाहक अध्यक्ष बन्ने गरेका छन् । यो साता पनि ओली सिंगापुर गएका बेला प्रचण्ड नै कार्यवाहक अध्यक्ष बन्नेछन् ।

तर, पछिल्लोपटक नेकपाभित्र जुन उथल-पुथल र फेरबदल आएको छ, प्रधानमन्त्रीले सरकार र पार्टी एक/एक जनाअध्यक्षले हेर्ने गरी जिम्मेवारी बाँडफाँड गर्न लागेको पूर्वमाओवादी खेमाका नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बेलामा प्रचण्डलाई ‘तपाई पार्टी चलाउनोस्, म सरकार चलाउँछु’ भन्ने आश्वास दिएको नेकपाको उच्च स्रोतले बतायो ।

प्रचण्डको चाहना पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्तिले चलाउनु उपयुक्त हुँदैन भन्ने छ । उता असन्तुष्ट रहेका माधव नेपालले पनि प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा रोज्न ओलीलाई दबाव दिने रणनीति बनाएका छन् ।

यसबारे आज अपरान्ह ४ बजे बस्ने नेकपा सचिवालयको बैठकमा छलफल हुने नेकपाको सचिवालय स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment