Comments Add Comment

प्राधिकरणको तीन वर्षः अन्धकार हट्यो, उज्यालो फैलियो (भिडियोसहित)

१ भदौ, काठमाडौ । नेपाल विद्युत प्राधिरकणले आईतबार आफ्नो ३४औं वार्षिकउत्सव मनायो । ३ वर्षदेखि लगातार नाफामा गइरहेको प्राधिरकणका लागि यो वार्षिकउत्सव अरुभन्दा विशेष भयो । किनभने यो वर्ष प्राधरिकरणले विद्युत चुहवाट र नाफमा नयाँ रेकर्ड कायम गरेको छ ।

यसका लागि वार्षिकउत्सव समारोहमा ऊर्जामन्त्री वर्षमान पुनले कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिरकणको समग्र टिमलाईलाई धन्यवाद दिए ।

कार्यक्रममा घिसिङले पनि तीन वर्षको विगतले पुरानो कालोयुगमा फर्किने छुट भविष्यलाई नदिएको बताए । उनले प्राधिरकणले आफैंले आफैंलाई चुनौती दिएको भन्दै एक चुनौती पार गर्दा अर्को चुनौती लिइरहेको टिप्पणी गरे ।

घिसिङले त्यस्तो चुनौतीलाई पन्छाउँदै नतिजा दिने गरी अघि बढ्न प्राधिकरण तयार रहेको पनि बताए ।

३ वर्षअघिसम्म मुलुक अन्धकारको चपेटामा थियो, वर्षमा पनि १० घण्टासम्म लोडसेडिङ हुँदा पनि त्यसलाई सहज रुपमा स्वीकारिएको थियो । हिउँदमा १८ घण्टासम्म लोडसेडिङ हुँदैथियो ।

त्यो अवस्थामा प्राधिकरणमा प्रवेश गरेका कार्यकारी निर्देशक कुलमान घिसिङले २ महिनाभित्रै काठमाडौंबाट लोडसेडिङ बटाए भने एक वर्षभित्र देशभरको लोडसेडिङ समाप्त पारे । ऊर्जामन्त्री पुनको भनाइमा यो कुलमान र उनको टिमको व्यवस्थापकीय क्षमता हो ।

यसरी लोडसेडिङ हटेपछि प्राधिकरण त्यसैवर्षबाट नाफमा गयो । वार्षिक करिब ९ अर्बको घाटाबाट एकैपटक प्राधिरकण १ अर्ब ५० करोडको नाफमामा पुग्यो ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७/७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्‍याएको हो ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण गत आवमा पनि खुद नाफा कमाउन सफल भएको घिसिङ बताउँछन् । आव ०७२/७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । आगामी वर्ष प्राधिकरणले साढे ८ अर्ब नाफा आर्जन गर्ने लक्ष्य लिएको  छ ।

कार्यकारी निर्देशक नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई १ अर्ब ५० करोड, दोस्रो वर्ष २ अर्ब ९० र तेस्रो वर्ष ७ अर्ब २० करोड रुपैयाँ खुद नाफामा लगेका हुन् । उनी २०७३को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

हाल राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत पुगेको छ । आव ०७४/७५को तुलनामा करिब १० प्रतिशतले बृद्धि हो । हाल करिब ४५ लाख घरधुरीले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गर्छन् ।

गत आवमा ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । त्यसमध्ये ६०६ सर्किट किलोमिटर संचालनमा (चार्ज) आएको छ । ३३ केभी र सोभन्दा मुनिका करिब ९ हजार ७२२ सर्किट किमी वितरण लाइन निर्माण सम्पन्न भई चार्ज भएका छन् ।

प्रसारण तथा वितरण गरी ४० सबस्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरिएको छ । करिब ९२० एमभीए क्षमता थप भएको छ । ६ हजार ५८१ वितरण ट्रान्सर्फमर थप गरिएको छ ।

लामो समयदेखि निर्माण सम्पन्न नभएर रुग्ण बनेका ३८ वटा आयोजना गत एक वर्षमै सकिएका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र काबेली करिडोर प्रसारण लाइन सहित ३ आयोजना, वितरणतर्फ ३४ गरी ३८ आयोजना सम्पन्न भएका छन् । १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरि पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ ।

देशभरी रहेका थ्री फेज मिटर तथा टिओडी मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्यको थालनी भएको भएको छ । काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्न प्रारम्भिक कार्य सुरु भैसकेको छ । काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियानअन्तर्गत भूमिगत तार विछ्याउन ठेकेदार छनौट भै प्रारम्भिक तयारी पूरा भइसकेको छ ।

गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आब ०७४/७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो । ०७२/७३मा कुल चुहावट २५.७८ प्रतिशत रहेकोमा ३ वर्षभित्रमा १०.४६ प्रतिशतले कामी आएको हो ।

प्राधिकरणले आफ्नो आफ्नो ३ वर्षको  सफलतालाई एक भिडिो डकुमेन्ट्रीमा यसरी समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment