Comments Add Comment

एक वर्षभित्रै ललितपुरमा स्मार्ट सडक बत्ती !

२ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान गर्न कम्पनी छनोट भएर सम्झौता गरिएको छ । भारतको क्रम्प्टन इन्टरनेशनल र नेपाली महावीर इन्टरनेशनल जेभीले एक वर्षभित्र सक्ने गरी यो कामको जिम्मा पाएको हो ।

५ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले भने ६ महिनाभित्रै काम सक्‍ने दावी गरेको छ । रातको समयमा सर्वसाधारणको आवतजावत सहज र सुरक्षित बनाउन स्मार्ट लाइट जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु मर्हजनले बताए । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक तवरले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको उनको भनाइ छ ।

ललितपुरको स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत प्राधिकरणमै रहने छ । कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रुपमा बल्ने र निभ्ने हुन्छ । यो प्रणालीबाट विद्युत खपत पनि कम हुन्छ ।

विद्युत प्राधिकरणका ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीका अनुसार सडकमा सोलर वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिन्छ । ध्यरातमा सडकमा मान्छे र सवारीको आवतजावत कम हुँदा लाइनमा रहेका ४ मध्ये एउटा मात्रै लाइट बल्छ ।

यो लाइट साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् । यो बत्ती बेलुकी पुरै क्षमता (६० वाट) मा बल्नेछ । तर, राति १० बजेदेखि विहान ४ बजेसम्म यो लाइटले ४० प्रतिशत कम भोल्टेज खपत गर्नेगरी ३० वाटमा बल्नेछ ।

यो बत्तीको बिल  पनि कम्प्युटरले नै बनाउनेछ । पुल्चोकदेखि ग्वार्कोको रुट, कुपण्डोलको इञ्जिनियरिङ कलेजदेखि पाटनढोका हुँदै मंगलबजार, लगनखेलदेखि धापाखेल, सानेपाका मुख्य मुख्य सडक, जावलाखेलदेखि बुङ्मतीसम्म, बाग्मतीदेखि लगनखेलसम्म स्मार्ट बत्ती जडान गर्ने महानगरपालिकाले जनाएको छ ।

पाटनलगायतका महत्वपूर्ण सम्पदा रहेका स्थलका सबै क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने महानगरको योजना छ । यसका लागि ललितपुर महानगरले ८ करोड बजेट छुट्टाएको थियो ।

शुरुमा महानगरपालिकाले बाग्मतीदेखि लगनखेलसम्मको क्षेत्र ओगट्ने गरी टेन्डर गरेको थियो । त्यसमा ठूला कम्पनीले आवेदन नदिए पनि क्षेत्र विस्तार गरेर अर्को टेन्डर गरिएको थियो ।

ललितपुर महानगरपालिकाभित्र स्मार्ट बत्ती जडानका लागि नेपाल विद्युत प्राधिकरणमार्फत टेन्डर आह्वान भएको थियो । बत्ती जडानको सम्पूर्ण खर्च भने महानगरपालिकाले व्यहोर्ने छ । अनुभव नभएको भन्दै स्मार्ट बत्तीमा प्राधिकरणले अनुसन्धान पनि गरिरहेकाले महानगरपालिकाले प्राधिकरणसँग सहकार्य गरेको हो ।

यस्तो बत्ती प्रणाली जडान गर्न भरतपुर र काठमाडौं महानगरपालिकाले पनि चासो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment