+
+
Shares

प्रदेश २ सरकारमाथि प्रचण्डले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १९:५०

१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकारमाथि प्रश्न उठाएका छन् ।

तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार बढेको, जनताले झन् दुःख पाएको आफूले सुनेको बताए । उनले भने, ‘यो दुई नम्बर प्रदेशको सरकारले तपाईहरुका निम्ति के कति राम्रो काम ग¥यो ? यहाँ सुशासन सुरु भयो त ? विकासले गति लिन, भ्रष्टचार रोकिन थाल्यो त ? जनतालाई दुःख पर्दा सरकार तुरुन्तै आएर सहयोग गर्न थाल्यो त ? मैले बुझेसम्म त्यस्तो भएको छैन ।’

उनले अघि भने, ‘बरु यहाँ भ्रष्टाचार अझ बढ्यो भन्ने सुनिएको छ । तलैसम्म सुशासन छैन, जनतालाई झन दुःख भएको छ भन्ने सुनिएको छ । के हामी यसका निम्ति लडेको हो त ? होइन ।’

प्रदेश २ का मुख्यमन्त्रीसहित दलहरुको टोलीले प्रधानमन्त्रीलाई भेट्दा आफू पनि उपस्थित रहेको भन्दै प्रचण्डले त्यस बैठकमा मधेसको समस्या समाधानका आफूले राखेको ‘कार्ययोजना’ सुनाए ।

बाढी, आगलागी र सीमा समस्याको दिर्घकालीन समाधान खोज्नुपर्ने भन्दै उनले भने, ‘जबसम्म मास्टर प्लानसहित चुरे संरक्षण हुँदैन, तबसम्म तराईको मरुभूमिकरणको स्थायी समाधान छैन ।’ पानीको समस्या समाधान गर्न जलाशय निर्माण गरेर जलाधार बनाउनुपर्ने, बाढी रोक्न सबै खोलानालामा जनता तटबन्ध योजना ल्याउनुपर्ने उनले सुनाए ।

उनले जनता आवास कार्यक्रम ल्याएर झुपडीहरु हटाएर साना भएपनि पक्की घरमा रुपान्तरण गर्नुपर्ने बताए । हुलाकी, रेलमार्ग, द्रुतमार्ग, सुनकोसी कमला डाइभर्सन जस्ता ठुला परियोजनामार्फत तराईलाई सुरक्षित र समृद्ध बनाउनुपर्ने उनको धारणा थियो ।

यो सबै गर्न कम्युनिस्ट पार्टीको सरकारले मात्र सक्ने उनको दाबी छ । मधेससँग आफ्नो लभ अझै नटुटेको भन्दै उनले भने, ‘हामीले सकेनौं भने अरु कोही आएर सम्भव छैन ।’
नेकपा अध्यक्ष प्रचण्डले सरकार र पार्टीको नेतृत्व छिट्टै आउने र मधेस विकासको योजना अगाडि सार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?