+
+
Shares

योग, आयुर्वेद तथा जडिबुटी विषयको पाठ्यक्रम तयार

छलफलपछि कार्यान्वयन गर्ने मन्त्रीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १८:३८

२ भदौ, काठमाडौं । योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ ।

योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सोमबार बुझाएको छ ।

योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औंचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका अध्यक्ष डा। हरिप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

प्रतिवेदन बुझ्दै शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आवश्यक तयारी र छलफल पछी समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो बिषय आफ्नो प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैंजान आवश्यक कदम चाल्ने पनि बताए ।

समितिले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा बिद्यार्थीहरुको आकर्षण बढाउनको लागि कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक बिषयहरु तत्कालै अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझावसमेत दिएको छ ।

नयाँ पाठ्यक्रममा नेपालको जडिबुडी सम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा। पोखरेलको भनाइ छ ।

बिभिन्न उपसमितिहरु निर्माण गरी करिब ४ महिनामा प्रतिवेदन तयार पारिएको पोखरेलले बताए । नयाँ पाठ्यक्रममा नेपालको संस्कृति, सभ्यता, योगदेखि नेपालका वनजंगल जडिबुडीको अध्ययन गर्न सकिने पोखरेलले बताए ।

योगमाया विश्व विद्यालय बन्दैं गरेको स्मरण गर्दै संयोजक पोखरेलले यसबाट उच्च शिक्षा पढ्न समेत सुनिश्चतता हुने बताए ।

समितिको सदस्यहरुमा प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा. नन्दबहादुर सिंह, डा. शेषराज आर्चाय, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौंडेल, सञ्जिवकुमार राई रहनुभएको थियो भने सदस्य सचिव प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पाठ्यक्रम विकास महाशाखाका निर्देशक दीपकप्रसाद पौंडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?