Comments Add Comment

रवि लामिछानेलाई तीन नम्वर इजलासमा लगियो

३ भदौ, चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई मंगलबार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । मंगलबार बिहान १० बजे नै सरकारी वकिल कार्यालयबाट प्रवेश गराई अदालत लगिएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि म्याद थप माग गर्ने चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए । एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताए ।

लामिछानेसहितका तीन जनालाई तीन नम्वर इजलासमा उपस्थित गराइएको छ । जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस हुँदैछ ।

पाँच दिनको अनुसन्धान र वयानपछि छैठाैं दिनमा अदालतमा उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी मल्लले जानकारी दिए । सरकारी वकिल कार्यालयले पक्राउ परेका लामिछाने र अन्य दुई जनासँग सोमबार वयान लिएको थियो ।

अदालत पेस गरिएकोमा लामिछानेसहित न्यू २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की छन् । उनीहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रूद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसारमा अदालतको प्रकृया अघि बढ्ने बताए ।

अदालत परिसर बाहिर लामिछानेका समर्थकहरु भेला भएका छन् । अदालतको गेट बाहिर भेला भएको भीडका कारण सो सडक भएर यात्रा गर्नेहरुलाई समस्या भएको छ ।

मालपोत चोकदेखि चौबीसकोठीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment