Comments Add Comment

बहिनीको बियोगले मेरो खेल पहिलेजस्तो रहेन

५ भदौ, काठमाडौं । मेरो फुटबल करिअरले भर्खर सफलताको सिढीहरु चढ्न थालेको थियो । उपाधि जित्न थालेको थिएँ । मेरो त्यो सफलतामा मेरो परिवारको हात थियो, साथ थियो । त्यसैले त हरेक पटक जितेर आउँदा गाउँमा उत्सव हुन्थ्यो । त्यो उत्सवमा मेरी बहिनी हुन्थिन्, उनी खुब रमाउँथिन् ।

मेरो फुटबलका कारण आमा र बहिनीको अनुहारको छाएको खुसीले म पनि गदगद् थिएँ ।

१३ जेठ, २०७३ मा अचानक एउटा ‘आँधी’ आयो, जसले हाम्रो परिवारको खुुसी लुट्यो । मैले बहिनी गुमाएँ । सानैमा बाबा गुमाएको मैले आफ्नो संसार अँध्यारो भएको महसुस गरेँ । करिब म चार महिना त मैदानमा आउन सकिनँ । अहिले विस्तारै खेलमा फर्किएको छु, तर पहिलेको जस्तो छैन मेरो खेल ।

****

सुरुमा मेरो फुटबलको सुखद दिनहरुको अनुभव सुनाउँछु ।

सन् २०१३ को साफ च्याम्पियनसिप नेपालमा हुँदै थियो । त्यसका लागि म राष्ट्रिय टिममा परेँ । १५ वर्षको उमेरमा नै राष्ट्रिय फुटबल टिमको सदस्य हुन पाउनु म र मेरो परिवारका लागि गौरवको विषय थियो । दबाव पनि त्यत्तिकै थियो । किनकी टिममा परे पनि मौका पाउने वा नपाउने अनिश्चितता थियो भने अर्कातिर मौका पाएको अवस्थामा आफूलाई प्रमाणित गर्ने दबाव ।

हुन त यो प्रतियोगिताअघि बंगलोदशविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेको थिएँ । पहिलो खेल भएकाले केही नर्भस थिएँ, केही दबावमा थिए र राम्रो प्रदर्शन गर्न सकिनँ ।

३१ अगष्टमा भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा हामीले बंगलादेशलाई २–० ले पराजित गर्‍यौं । दशरथ रंगशालामा भएको यो खेल मैले बेञ्चमै बसेर हेरेँ ।

दोस्रो खेल पाकिस्तानसँग थियो । यो खेलमा मैले मौका पाउँछु जस्तो लागेको थिएन । प्लेइङ ११ मा परिनँ पनि । खेलको १३ औं मिनेटमै नेपालले गोल खान पुग्यो । दोस्रो हाफको अन्त्यतिर प्रशिक्षकले मलाई वैकल्पिक खेलाडीका रुपमा मैदान पठाउनुभयो । त्यतिबेला म निकै नर्भस थिएँ । निर्धारित ९० मिनेटसम्म हामीले गोल फर्काउन सकेनौं । दर्शकहरु पनि स्तब्ध थिए ।

गोलपछि खुसी मनाउँदै विमल

तर अतिरिक्त समयको दोस्रो मिनेटतिर पाकिस्तानी डिफेन्डरहरु डिबक्सभित्र थिए । त्यहीबेला मेरो खुट्टामा बल आयो । अगाडि निकै गज्याङ गुज्युङ थियो । मैले त्यस्तैमा बल प्रहार गरेँ, बलले जाली चुम्न पुग्यो । मेरो खुशीको सीमा रहेन । म मात्र होइन, सिंगो टिम र रंगशालामा रहेका सबै दर्शकको मुहारमा खुसी छायो । आफ्नो पहिलो खेलमा नै देशलाई हारबाट जगाएपछि म त एकाएक ‘हिरो’ भइहालेँ । हो, त्यही गोलले मलाई ‘विमल’ भनेर चिनायो ।

त्यसबेला ज्याक स्टेफोनोस्की मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । बालगोपाल (महर्जन) सर प्रशिक्षक हुनुहुन्थ्यो । उहाँहरुले एउटा फुच्चेलाई विश्वास गरेर मैदानमा छिराउनु भएको थियो । मलाई खेल्ने मौका दिनुभयो र यही खेल नै मेरो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण बन्यो, करिअरको टर्निङ प्वाइन्ट पनि ।

समूह चरणको अन्तिम खेलमा भारतलाई २–१ ले हरायो । सेमिफाइनलमा भने हामी अफगानिस्तानसँग हार्न पुग्यौं र, हामीले उपाधि घरमै राख्ने सपना पुरा हुन पाएन ।

****

राष्ट्रिय टिमबाट डेब्यू गरेपछि यो छ वर्षमा केही विर्सनलायक क्षणहरु पनि आए, सम्झनलायक क्षणहरु आए । जीवनका पानाहरु पल्टाउँदा हरेक पटक बाबालाई सम्झन्छु । किनकी म आज जहाँ छु, यसम्म आउनमा उहाँको ठूलो देन छ ।

उहाँ आफैं नेपाली लेजेन्ड बसन्त थापाको फ्यान हुनुहुन्थ्यो । त्यसैले मलाई पनि भन्नुहुन्थ्यो, ‘तँ पनि बसन्त थापा जस्तो बन्नुपर्छ ।’ खेल सामाग्रीहरु ल्याइदिनुहुन्थ्यो । उहाँकै प्रेरणामा बुटवलमा यू–१२ को छनोटमा भाग लिए तर सफल भइनँ ।

फेरि ट्रायल दिएँ । त्यसमा सफल भएपछि करिब दुई वर्ष एन्फा एकेडेमी, बुटवलमा बसेर अभ्यास गरेँ । त्यसपछि यू–१४ टिममा परेर काठमाडौं आए । बालगोपाल महर्जन प्रशिक्षक हुनुहुन्थ्यो । उहाँले हामीलाई निकै मेहनत गरेर सिकाउनुभयो । त्यसैले अहिले राष्ट्रिय टिममा हाम्रो ब्याचका धेरै खेलाडी छौं ।

म यहाँसम्म आइपुग्न बालगोपाल सरको भूमिका निकै ठूलो छ । त्यो बेला उमेर समूहमा निकै राम्रो अभ्यास गर्ने अवसर पाएका थियौं । बेल्जियमदेखि कोरियासम्म गएर अभ्यास गरेका थियौं । तर अहिले त्यो लेभलको अभ्यास भएको छैन जस्तो लाग्छ । यसरी न नयाँ खेलाडी उत्पादन हुन्छ न नेपाली फुटबलको विकास ।

उमेर समूहको कुरा गरिरहँदा २०१५, अगष्टमा नेपालमै भएको साफ यू–१९ च्याम्पियनसिप फुटबल सम्झना आउँछ । हामीले चिरप्रतिद्वन्द्वी भारतले हराउँदै उपाधि जितेका थियौं । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो तर टाइब्रेकरमा हामीले बाजी मार्‍यो । मैले करियरको पहिलो उपाधि उचाले ।

आफ्नै घरेलु मैदानमा, त्यो पनि आफ्नै कप्तानीमा उपाधि दिलाउँदा बेग्लै खुशी मिल्दोरहेछ ।

****

मेरो फुटबल करिअरमा अर्को अविस्मरणीय क्षण हो, २०१६ मा भएको बंगबन्धु कप ।

नेपाली फुटबल फिक्सिङ प्रकरणले नराम्रोसँग थलिएको थियो । अक्टोबर २०१५ मा तत्कालीन कप्तानसहितका खेलाडीहरु फिक्सिङमा मुछिएपछि राष्ट्रिय टिम छिन्नभिन्न जस्तै थियो । त्यसैले अखिल यू–१९ बाट आएका बहुसंख्यक खेलाडीहरुलाई मिलाएर बालगोपाल महर्जनको प्रशिक्षणमा टोली बंगलादेश गयो ।

त्यो प्रतियोगिता खेल्न जाँदै गर्दा हाम्रो लक्ष्य उपाधि जित्ने थिएन । सकभर राम्रो खेल्ने भन्ने मानसिकता थियो ।

किनकी बंगलादेश जानुअघि हामीले भारतमा साफ च्याम्पियनसिप खेल्यौं तर लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएका थियौं । पहिलो खेलमा श्रीलंकासँग १–० ले हार्‍यौं । दोस्रो खेलमा मैले भारतविरुद्ध तेस्रो मिनेटमा नै गोल हानेको पनि थिएँ तर दोस्रो हाफमा हामी चुक्यौं र ४–१ ले हार्न पुग्यौं ।

बंगबन्धु कपले भने हामीलाई ठूलो राहत दियो । हुन त त्यहाँ पनि हाम्रो सुरुवात राम्रो रहेन । पहिलो खेलमा फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्न पुग्यो । तर त्यसपछि हाम्रो खेल सुधार भयो । तालमेल मिल्दै गयो । सेमिफाइनलसम्म पुग्ने लक्ष्य बनाएको हामी फाइनलमै पुग्यौ । अब भने उपाधि जितेर मात्रै घर फर्किनुपर्छ भन्ने सल्लाह भयो । सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले हराउँदा नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए, विशाल राईले एक गोल गरे । यो खेलले हाम्रो आत्मविश्वास बढायो र फाइनलमा बहराइनलाई पनि हरायौं ।

बंगबन्धु कपको उपाधिका साथमा नेपाली टोली । साथमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

३–० को जितसँगै उपाधि जित्यौं । मैले पाँचौं मिनेटमा गोल गर्दै नेपालको खाता खोलेको थिएँ । विशाल राईले अन्त्यतिर गोल गर्दै जित लगभग सुनिश्चित गरे । इन्जुरी टाइममा नवयुगले गोल गरेपछि त हामीको उपाधि पक्का भयो । साच्चै त्यो क्षण अभूतपूर्व थियो, अहिले सम्झिँदा पनि छाती ढक्क फुलेर आउँछ । त्यसअनुसार हामीले माया पनि पायौं । स्वदेश फर्किँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समर्थकको भीड थियो । नेपाली फुटबलमा खेलाडीले यस्तो स्वागत सायदै पाएका होलान्, जुन हामीले पाएका थियौं ।

२०१६ को पहिलो महिनामा बंगबन्धु कप जितेको हाम्रो टोलीले अर्को महिना दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्यो । यहाँ पनि चिरप्रतिद्वन्द्वी भारतलाई उसकै भूमिमा २–१ हराएर स्वर्ण पदक जित्न सफल भयौं । त्यतिबेला नाकाबन्दीको पीडा ताजा थियो । त्यसैले हाम्रो जीत विशेष रह्यो ।

तर मलाई सोध्नुहुन्छ भने माल्दिभ्समाथि सेमिफाइनलमा हात पारेको ४–३ को जित कम थिएन । पहिलो हाफमा दुई गोल गरेको हामी दोस्रो हाफको सुरुमा गोल खान पुग्यौं । ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि हामी १० खेलाडीमा झर्‍यो । त्यसको फाइदा माल्दिभ्सले उठायो र निर्धारित ९० मिनेटका खेल २–२ को बराबरीमा टुंग्याउन सफल भयो । ३० मिनेट थपियो । करिव ५/७ मिनेट समय बाँकी रहँदा माल्दिभ्स नोलविरुद्ध गोल गर्न पनि सफल भयो । तर अन्तिममा दुई गोल थप्दै नवयुग श्रेष्ठले ह्याट्रिक मात्र पूरा गरेनन्, नेपाललाई सागको फाइनलमा पुर्‍याएका थिए ।

****

२०१६ मै नेपाली फुटबलले अर्को ऐतिहासिक उपलब्धी हालिस गर्‍यो, जुन टिममा पनि थिए । टिमको मुख्य खेलाडीमध्ये एक थिएँ, यसो भन्न पाउँदा गर्व लाछ ।

नोभेम्बर २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कपको च्याम्पियन भयौं । यो प्रतियोगितामा पनि पहिलो खेलमा टिमोर लिस्टेसँग हामीले राम्रो खेल्न सकेनौं । तालमेलको अभाव देखियो । त्यसपछि हामीले नयाँ योजना बनायौं ।

दोस्रो खेलमा ब्रुनाईलाई ३–० ले हरायौं । मैले पनि गोल गरेँ । त्यसपछि सेमिफाइनलमा हाम्रो भेट लाओससँग भयो । त्यो खेलमा पनि मैले गोल गरेँ तर खेल पेनाल्टीमा गएको थियो । टाइब्रेकरमा हामी ३–० ले विजयी भयौं । फाइनलमा मकाउविरुद्ध खेल्दा हाम्रो मनोबल उच्च थियो । सुजल श्रेष्ठको गोलसँगै हामीले उपाधि जित्यौं । यो जितमा भने म त्यति रमाउन सकिनँ ।

व्यक्तिगत जीवनमा घटेको एउटा घटनाले विक्षिप्त थिएँ । बहिनीको बियोगबाट उठ्न सकिरहेको थिइनँ । त्यो जीतले पनि मेरो त्यो पीडा मेटाउन सकेन, सक्ने कुरा पनि थिएन । त्यो घटना मेरो जीवनमा सँधै आलो घाउसरह रहनेछ ।

बहिनीको निधनको शोकमा बिमल । बीचमा बिमलकी बहिनी मनिषा । मनिषाको निधनको शाकमा भावविहृवल आमालाई सम्हाल्दै बिमल ।

बहिनीलाई सम्झनासाथ म म अर्कै दुनियाँमा पुग्छु । सानैमा बाबा गुमाएको मेरा लागि बहिनीको आत्महत्या (१३ जेठ २०७३) संसार नै अँध्यारो भएको दिन थियो ।

(विमल भावुक बन्छन्)

यो घटनाले करिब चार महिनासम्म मैदान बाहिर रहेँ । खेलमा फर्किए पनि पहिला जस्तो उर्जा थिएन । जोस थिएन । मनमा अनेक कुरा खेलिरहेको थियो । त्यस्तै अवस्थामा सोलिडारिटी कप खेलेँ । हामीले उपाधि पनि जित्यौं ।

तर प्रतियोगिता जितेर आउँदा गाउँमा कुनै उत्सव मनाइनँ । मैले नै सबैलाई भनेको थिएँ, केही नगर्नु भनेर । जबकी पहिले जितेर आउँदा गाउँमा उत्सव मनाउँथ्यौं त्यहाँ बहिनी हुन्थिन् । उनको त्यो खुसीमा मेरो खुसी लुकेको थियो ।

म विस्तारै खेलमा फर्किँदैछु, फर्किएको छु तर, अझै पहिलेको जस्तो छैैन मेरो खेल । यो मलाई पनि महशुस भएको छ । त्यसैले त सुधार्ने प्रयास गरिरहेको छु ।

आमाले हरेक कुरामा साथ दिइररहनु भएको छ तर, बहिनीको याद निकै आउँछ ।

आखिर एउटा दाजुको मन त हो ।

****

अहिले हामी विश्वकप छनोटको तयारीमा छौं । २०२२ मा हुने कतार विश्वकपको छनोटअन्तर्गत दोस्रो चरणमा हामीले पहिलो खेल १९ भदौमा कुवेतसँग खेल्नुछ ।

तयारी पनि राम्रै भइरहेको छ । मलेसियाको लिग च्याम्पियन जोहर दारुल ताजिम टिमसँग मैत्रीपूर्ण खेल पनि खेल्दैछौं । यो क्लबबाट मलेसियाको राष्ट्रिय टिमका ५–६ जना खेलाडी खेल्ने भएकाले हाम्रा लागि यो खेल उपयोगी नै छ ।

कुबेत हाम्रा लागि अपरिचित टोली पनि होइन । हामीले दुई वटा मैत्रिपूर्ण खेल खेलेका छौं । आफ्नो कमीकमजोरी सुधार गर्ने र उसको कमजोरीलाई हतियार बनाउने रणनीतिका साथ मुख्य प्रशिक्षक योहान कालिनले अभ्यास गराइरहनु भएको छ ।

तर बलियो टिम कुबेतलाई उसकै घरेलु मैदानमा पराजित गर्नु हाम्रा लागि सोचेजस्तो सजिलो भने छैन । त्यसैले हामीले प्रत्याक्रमणमा गोल गर्ने रणनीतिमा हुन्छौं ।

****

म नेपाल फर्किएको धेरै भएको छैन । किनकी पहिलो पटक व्यवसायिक लिग खेलिरहेको छु । माल्दिभ्सको पहिलो डिभिजन लिगमा टिसी स्पोर्ट्स क्लबबाट खेलिरहेको छु । गोल पनि गरिरहेको छु । टिसी स्पोर्टसलाई जिताउन मेरो पनि भूमिका छ । धिवि प्रिमियर लिगमा हाम्रो टिम चौथो स्थानमा छ ।

तर कुवेतविरुद्ध हुने खेल नजिक आइसकेकाले लिग छोडेर राष्ट्रिय टोलीको अभ्यासमा सहभागी हुन आएको हुँ । माल्दिभ्स र नेपालको स्तर उस्तै हो । तर त्यहाँको अभ्यास नेपालको भन्दा केही फरक पाएको छु । माल्दिभ्सको शीर्ष ६ सम्मको टिम राम्रो छ । लिग अवधि पनि नेपालको भन्दा लामो हुने रहेछ ।

क्लबको मैदान, सेवा–सुविधा पनि निकै राम्रो छ । नियमित अभ्यास भइरहन्छ र नेपालमा यस्ता कुराको कमी छ । माल्दिभ्समा कमी भनेको दर्शकको मात्र हो ।

विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्ध खेलपछि म फेरि माल्दिभ्स जान्छु ।

मैले गत वर्ष बेल्जियममा पनि खेल्ने अवसर पाएँ । बेल्जियममा ट्रायल दिन गएको थिएँ, केही खेल खेलेँ पनि । मेरो प्रदर्शन राम्रै भयो । तर दक्षिण एसियाका खेलाडीले युरोपमा अवसर पाउने त्यहाँका खेलाडी भन्दा पनि राम्रो हुनुपर्दोरहेछ ।

यो बीचमा मलाई भारतमा केही क्लबबाट पनि खेल्ने अफर आएको थियो । तर टीसी स्पोर्ट्स क्लबले अघिल्लो सिजनदेखि नै भनिरहेकाले यो पटक मैले माल्दिभ्स रोजेँ ।

****

म एउटा स्ट्राइकर हुँ । एट्रयाकिङ नै खेल्न रुचाउछु । तर टिमलाई आवश्यक परेको बेला विङमा पनि खेल्छु ।

अहिलेसम्म मैले राष्ट्रिय टिमबाट ८ गोल गरेको छु । मेरो व्यक्तिगत लक्ष्य भनेको नेपालको सर्वाधिक गोलकर्ता बन्ने हो । यो रेकर्ड निराजन रायमाझी र हरि खड्काको नाममा छ । उहाँहरुले समान १३–१३ गोल गर्नु भएको छ, म यो रेकर्ड म तोड्छु ।

मेरो अर्को लक्ष्य छ, नेपाललाई साफ च्याम्पियनसिप फुटबलको उपाधि दिलाउने । साफ च्याम्पियनसिपको उपाधि नेपालले जित्दा नेपाली दर्शक र फुटबल प्रेमीको साथ र माहोल कस्तो होला ? त्यो हेर्ने मन छ । यो सपना मेरो मात्र पनि होइन, पुरै टिमको हो । बंगबन्धु जित्यौ, सोलिडारिटी कप जित्यौं, सागमा स्वर्ण पनि जित्यौं । अब साफ च्याम्पियन बन्न कसो नसकिएला ?

प्रस्तुति : सरोज तामाङ

फोटो र भिडियोः शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’ को ५० औं अंकमा यो हप्ता फुटबल खेलाडी विमल घर्तीमगरको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment