Comments Add Comment

फिल्म निर्देशनको समेत स्वाद चाख्ने अभिनेत्रीहरु

भारतीय फिल्म उद्योगमा त्यस्ता केही अभिनेत्रीहरु पनि छन्, जसले अभिनयबाट आफ्नो करियर प्रारम्भ गरेर कालान्तरमा निर्मात्री मात्र होइन, निर्देशनको रुपमा समेत काम गर्न भ्याए । तर, यो प्रसंगमा उनीहरुले सफलता भने पाउन सकेनन् ।

हिन्दी फिल्मको ईतिहासमा अभिनेत्री-निर्मात्री देविका रानीलाई पहिलो महिला निर्मात्रीको रुपमा चिन्न सकिन्छ । उनलाई समेत निर्देशनको रुपमा अघि बढ्न थुप्रै वर्ष प्रतिक्षा गर्नु परेको थियो ।

बलिउडमा त्यस्ता निकै थोरै अभिनेत्रीहरु छन्, जसले अभिनयका साथ-साथै अथवा अभिनयपछि निर्देशनमा आउने निर्णय गरेका छन् ।

अपर्णा सेन

भारतका महान् कलाकार सत्यजी रेको फिल्म ‘तीन कन्या’ मार्फत केवल १५ वर्षको उमेरमै फिल्ममा डेब्यू गर्ने अपर्णा सेनले जति लोकप्रियता अभिनेत्रीको रुपमा पाएकी थिइन्, त्यो भन्दा धेरै ख्याति निर्देशकको रुपमा मिल्यो । निर्देशकको रुपमा उनले पहिलो फिल्म ‘३६ चौरंगी लेन’ बाटै गम्भिर प्रकृतिका फिल्मप्रति आफ्नो रुची व्यक्त गरिन् । उनले परोमा, सती, परोमितार एक दिन, मिस्टर एण्ड मिसस ऐय्यर, द जापानीज वाइफ जस्ता थुप्रै चर्चित तथा सफल फिल्महरु निर्देशन गरेकी छिन् ।

हेमा मालिनी

दक्षिण भारतबाट बलिउडमा आएकी हेमा मालिनीले अभिनेत्रीको रुपमा दर्जनौं सफल फिल्महरु दिएकी छिन् । बलिउडमा आफ्नो अभिनयकै कारण बेग्लै स्थान बनाउन सफल हेमा मालिनीले पनि अभिनय साथसाथै निर्देशनमा समेत आफ्नो करियर अघि बढाइन् । त्यसक्रममा उनले निर्देशकको रुपमा केही चर्चित फिल्महरु बनाएकी थिइन् । हेमा मालिनीले ‘दिल आशना है’, ‘मोहिनी’, ‘टेल मी ओ खुदा’ जस्ता फिल्महरु निर्देशन गरेकी छिन् । दिल आशना हेमार्फत अभिनेता शाहरुख खानलाई हेमा मालिनीले नै मुख्य अभिनेताको रुपमा बलिउडमा स्थापित गराउनलाई सहयोग पुर्‍याएकी थिइन् ।

रेवती

दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री रेवतीले केही हिन्दी फिल्महरुमा समेत काम गरेकी छिन् । उनी ती सिमित अभिनेत्रीहरु मध्येकी एक हुन्, जसले निर्देशनमा करियर बनाइन् । उनले निर्देशन गरेका केही महत्वपूर्ण हिन्दी फिल्महरु हुन्- ‘फिर मिलेंगे’, ‘मुम्बई कटिङ’ तथा ‘केरला क्याफे’ ।

कोंकणा सेन शर्मा

अभिनेत्री कोंकणा सेन शर्मा कति शसक्त कलाकार हुन् भन्ने कुरा केबाट प्रमाणित हुन्छ भने उनले हालसम्म अभिनयकै लागि दुई वटा नेशनल अवार्ड तथा चार वटा फिल्मफेयर अवार्डहरु जितिसकेकी छिन् । आफ्ना आमा अर्पणा सेन झैं उनले पनि अभिनयपछि निर्देशनमा आफूलाई परिक्षण गरिन् । नामकोरन नामक बंगाली शर्ट फिल्म बनाएपछि उनले ‘डेथ इन गंज’ शीर्षकको फिचर फिल्म निर्देशन  गरेकी थिइन् । उक्त फिल्मबाट उनले बेस्ट डेब्यू डाइरेक्टरको फिल्मफेयर अवार्ड पनि जितेकी थिइन् ।

नन्दिता दास

कला फिल्महरुकी स्थापित अभिनेत्री हुन् नन्दिता दास । उनको अभिनय कौशलको जति नै प्रशंसा गरेपनि कम हुन्छ । सन् २००८ मा उनले फिल्म ‘फिराक’ निर्देशकको रुपमा आफ्नो छाप छोड्न सफल भएकी थिइन् । सन् २०१८ मा प्रदर्शन भएको उनको फिल्म ‘मन्टो’ लाई दर्शकहरुले खुलेर प्रशंसा गरेका थिए ।

पूजा भट्ट

निर्देशक बुवा महेश भट्टकी छोरी पूजा भट्टले अभिनयमार्फत नै आफूलाई स्थापित गराएकी थिइन् । उनले पनि अभिनयपछि आफ्नो बुवाको पेशा अर्थात निर्देशनमा आफ्नो भाग्य परिक्षण गर्न चाहिन् । सन् २००३ मा प्रदर्शन भएको फिल्म ‘पाप’ पूजाको पहिलो निर्देशनको फिल्म हो । त्यसपछि पूजाले ‘होलिडे’, ‘धोका’, ‘कजरारे’ तथा ‘जिस्म २’ जस्ता थुप्रै फिल्महरु निर्देशन गरेकी छिन् ।

कंंगना रनौट

वर्तमान पुस्ताकी प्रमुख अभिनेत्रीहरुमा कंगना रनौट एक त्यस्ति कलाकार हुन्, जसले आफ्नो फिल्मको निर्देशन आफैंले गरेकी थिइन् । सन् २०१९ मा प्रदर्शन भएको आफ्नै फिल्म ‘मणिकणिर्काः द क्विन अफ झाँसी’ मार्फत कंगनाले पहिलो पटक निर्देशकको कुर्सी सम्हालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment