Comments Add Comment

यसरी सजाउनुहोस् घरलाई

जीवनमा एउटा घर बनाउने सपना हरेक व्यक्तिको हुन्छ । त्यही सपनालाई पूरा गर्नका लागि मानिसहरु दिन-रात नभनी मेहनत गरिरहेका हुन्छन् । दुःख गरेर घर बनाएपछि अथवा किनेपछि त्यसलाई सुन्दर तरिकाले सजाउन जान्नु पनि एउटा कला हो । आफू बस्ने घर सधैं सुन्दर बनाइराख्नु पनि एउटा चुनौती नै हो ।

घरलाई कसरी आकर्षक बनाउने त ? केही काइदा यस्ता छन् ।

फर्निचर व्यवस्थापन

– यदि फर्निचर किन्ने बेलामा कुनै एउटा निश्चित फर्निचर मन परेमा त्यसैमा मात्र आफ्नो ध्यान केन्दि्रत गरिरहनु उचित हुँदैन । त्यसको विकल्पमा अन्य फर्निचरमा पनि ध्यान दिनु पर्छ ।

– बैठक कोठाका लागि फर्निचर किन्नुभन्दा पहिला उक्त फर्निचर बैठक कोठामा फिट हुन्छ कि हुँदैन, कति ठाउँ लिन्छ, खुल्ला ठाउँ कति बच्छ भन्ने कुरा पहिला नै विचार गर्नु पर्छ ।

– यदि बैठक कोठामा फर्निचर राखेपछि फर्निचरकै कारण आउने-जाने बाटो भएन भने पटक-पटक फर्निचर सार्नुपर्ने बाध्यता हुन्छ अथवा फर्निचरकै कारण कोठामा स्थान अभावले आउँदा जाँदा आफैँलाई चोट लाग्न सक्दछ ।

– यदि तपाईं बैठक कोठाको कुनै निश्चित स्थानमा फर्निचरलाई सधैंभरी राख्न चाहानु हुन्छ भने फर्निचर बनाउनुअघि नै कोठाको लम्बाइ, चौडाइ नापेर मात्र फर्निचर बनाउनु पर्छ । त्यस क्रममा कोठामा खुला भाग पनि रहनु पर्छ भन्ने कुरालाई विचार गर्नु पर्छ ।

– कहिलेकाहीँ हेरेर पनि धेरै कुरा सिकिन्छ । तपाईं साथीभाइ तथा आफन्तकहाँ गएको बेला बैठक कोठालाई सुक्ष्म रुपले नियाल्न सक्नु हुन्छ । त्यसबाट उनीहरुको घरको कोठाको सजावटलाई ध्यान दिएर आफ्नो घरको कोठालाई पनि त्यसैअनुसार सजाउन सक्नुहुन्छ ।

-इन्टेरियरसम्बन्धी पत्रिकाहरु नियमित रुपले पढ्नु पर्छ । इन्टरनेटमा समेत इन्टेरियरसम्बन्धी पछिल्ला अपडेटहरु राखिएका हुन्छन् । तीनको अध्ययनले इन्टेरियरको पछिल्लो टे्रण्डको बारेमा जानकारी पाउन सकिन्छ ।

– आफ्नो बैठक कोठाको आकार, लम्बाइ, चौडाइ, भित्ताको रंग, पर्दाको रंग, भुइँको कार्पेटअनुसार उक्त कोठाका लागि कस्तो फर्निचर सुहाउँछ भन्ने कुराको निर्णय लिन सकिन्छ ।

कसरी गर्ने कार्पेटको रंगको छनोट ?

– कार्पेटको रंगको छनोट निकै नै सोचेर तथा बुझेर गर्नु पर्छ । कार्पेट किन्नु भनेको हामीले लगाउने लुगा किनेको जस्तो होइन, एक पटक किनेपछि वर्षौंसम्म किन्नु नपर्ने हिसाबले कार्पेटको रंगको छनोट गर्नु पर्छ ।

– कार्पेटको रंगको छनोट गर्नुअघि कोठाको कुन भागमा त्यसलाई राख्ने भन्ने बारेमा पनि विचार गर्नुपर्छ । प्राय क्रिम तथा खैरो रंगका कार्पेट पुरानो देखिँदैन ।

– यदि कोठा भरीको कार्पेट लगाउँदै हुनुहुन्छ भने पनि कार्पेटको रंग हल्का नै राम्रो हुन्छ । रंगीचंगी कार्पेट ठूलो कोठालाई सुहाउँदैन ।

कस्तो पर्दा छान्ने ?

– बजारमा थरी-थरीका पर्दाहरु उपलब्ध हुन्छन् । यसबाहेक बजारमा पर्दाका डिजाइनहरु पनि परिवर्तन भैरहेका हुन्छन् । त्यसैले पर्दा किन्दा ट्रेण्डलाई पछ्याउने भन्दा पनि टिकाउ खालको किन्नु पर्छ । झ्यालमा एकपटक पर्दा लगाइसकेपछि पटक-पटक परिवर्तन गरिरहने कुरा हुँदैन ।

– यदि घरमा भएको पर्दा पुरानो भएको छ अथवा खुइलिएको छ भने त्यो भागलाई काटेर हटाउने र त्यसमा अर्को नयाँ कपडा जोडेर सिलाउन सकिन्छ । यसले पर्दालाई नयाँ स्वरुप प्रदान गर्छ । त्यसका लागि पर्दालाई लम्बाइबाट काटेर त्यो काटिएको ठाउँमा रंग मिल्ने अर्को कपडा काटेर सिलाउनु पर्छ ।

– अलग-अलग रंगका पर्दाको संयोजनले कोठा आकर्षक देखिन सक्छ ।

– पर्दा सिलाउन गाह्रो लाग्यो भने उक्त पर्दा जहाँबाट किनिएको हो, त्यहीं लगेर सिलाउनु पर्छ ।

कसरी गर्ने आफ्नोपनको अनुभूति

यदि तपाईंको बैठक कोठा ठूलो छ भने उक्त कोठामा राखिएका हरेक बस्तु तपाईंबाट टाढा-टाढा भएको अनुभव हुनेछ । उक्त कोठामा आफ्नोपनको अनुभव गर्नका लागि विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाउनु पर्छ ।

-बस्नका लागि कोठाको ठाउँठाउँमा गलैंचा तथा चकटी बिछ्याउन सकिन्छ । त्यसका लागि एउटै रंगको गलैंचा तथा चकटी छनोट गर्न बिर्सनु हुँदैन ।

– बैठक कोठाको आकार ठूलो छ भने कोठाको भित्तामा ठूलो आकारको चित्र सजाउन सकिन्छ । ठूलो कोठामा ठूलै आकारका फर्निचरले पनि राम्रो देखिन्छ ।

कस्तो हुनुपर्छ डाइनिङ टेबल

– घरको आकार, कोठाका आकार तथा परिवारको संख्या हेरेर डाइनिङ टेबल किन्नु पर्छ ।

– परिवारमा चार अथवा छ जना सदस्य छन् भने चार वटा कुर्सी भएका अथवा छ वटा कुर्सी भएका डाइनिङ टेबल किन्नु पर्छ ।

-डाइनिङ रुमको आकार सानो छ भने सिसाको डाइनिङ टेबल लिँदा राम्रो हुन्छ । सिसाको टेबलले कोठा ठूलो झैं देखिन्छ ।

– डाइनिङ रुमको आकार ठूलो छ भने काठको डाइनिङ टेबल राम्रो मानिन्छ ।

-यदि तपाईंको घरमा पार्टी तथा जमघट भैरहन्छ भने फोल्डिङ डाइनिङ टेबल उपयुक्त हुन्छ । फोल्डिङ डाइनिङ टेबललाई घरको छत अथवा बरण्डा जहाँ राखेर पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment