+
+
Shares

नाकाबन्दीबाट नेपालले पाठ सिक्न सकेन: गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १५:२१

८ भदौ, बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले भारतीय नाकाबन्दीबाट नेपालले अझै पाठ सिक्न नसिकेको बताएका छन् ।

नेपाल भन्दा पछि छिमेकी मुलुकहरुबाट नाकाबन्दीको शिकार बनेको कतारले दुई वर्षमै आफूलाई आत्मनिर्भर बनाइसकेको उल्लेख गर्दै उनले नेपालले भने नाकाबन्दीबाट अझै पाठ नसिकेको बताए ।

‘कतारले दुई वर्षमै नाकाबन्दीबाट पाठ सिकेर आफूलाई आत्मनिर्भर बनाइसक्यो,’ तिनाउ मिसन डेभलपमेन्ट बैंकको मर्जर शुभारम्भ गर्दै गभर्नर नेपालले भने, ‘नाकाबन्दीपछि कतारले अष्ट्रेलियाबाट ४८ हजार गाई ल्याएर दुध पाउडर विदेश निर्यात गर्ने भइसक्यो, हामीलाई त्यत्रो लामो नाकाबन्दीले अझै किन छुन सक्दैन, जसले गर्दा हामी जहाँको त्यही छौं ।’ नेपालीहरुले नाकाबन्दीबाट पाठ सिकेर देशमै काम गरेर उत्पादन बढाउनुको साटो विदेश नै ताक्ने परिपाटी कायमै रहेको भन्दै गभर्नरले त्यसो नगर्न आग्रह गरे ।

‘अधिकांश स्थानीय तहमा बैंक पुगिसकेका छन्, बैंकबाट ऋण लिएर उद्यम व्यवसाय गर्नुको साटो फेरि पनि देश र नेतालाई गाली गर्दै विदेश जाने परिपाटी घटेन’ गभर्नरले गुनासो गर्दै भने, ‘नेपालीहरु विदेश मात्रै जाने अनि विदेशबाट अरु आएर नेपाल बनाइदिने हो र ? होइन नि, आफ्नो देश हामी आफै बनाउने हो ।’

गभर्नर नेपालले बैंक सञ्चालकहरुलाई जनताको निक्षेपमा मनपरी नगर्न आग्रह गर्दै जनताको पैसालाई आफ्नो सम्पत्ति नठान्न सचेत गराए । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको ९२ प्रतिशत रकम जनताको सम्पत्ति भएकाले आफूलाई साहु र मालिक नसम्झन संचालकहरुलाई आग्रह गरे ।

तिनाउ र मिसन डेभलपमेन्ट बैंकको मर्जर तीन महिनामै सम्पन्न हुनु नमूना उदाहरण भएको भन्दै गभर्नर नेपालले कृषि, उद्योग, पर्यटन जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

बैंकका अध्यक्ष टिकाराम घिमिरेले एक अर्ब १४ करोड चुक्ता पुंजीसहित प्रदेश ३, ४ र ५ का जिल्लामा ४० वटा शाखा रहेको बैंकलाई अर्को वर्षको अन्त्यसम्म राष्ट्रियस्तरको विकास बैंक बनाउने लक्ष्य रहेको बताए ।

बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई तिनाउ मिसनमा गाभ्ने प्रकृया शुरु भएको अध्यक्ष घिमिरले जानकारी गराए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आउंदो असोजमा तिलोत्तमा नगरपालिकामा हुन लागेको लगानी सम्मेलनमा नगरपालिकाले प्रस्ताव गरेका दुई दर्जन परियोजनामा लगानी गर्न उद्योगी व्यवसायीलाई अवसर रहेको जानकारी गराए ।

आइतबार नै गभर्नर नेपालले बैंकको पाल्पारोडस्थित प्रधान कार्यालय भवनको उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?