Comments Add Comment

अर्गानिक कृषिमा गोल्यान समूहको लगानी, माटो ब्रान्ड स्थापना

८ भदौ, काठमाडौं । गोल्यान समूहले अर्गानिक फलफूल तथा तरकारीहरुको बिक्री वितरणका लागि ‘माटो’ ब्राण्ड स्थापना गरेको छ । निर्यातजन्य उद्योगहरु, बैंक तथा वित्तीय संस्था, जलविद्युत लगायतमा लगानी गरिरहेको यस समूहले पहिलोपटक कृषि क्षेत्रमा हात हालेको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर गोल्यान समूहले माटो ब्राण्डको औपचारिक शुभारम्भको घोषणा गर्‍यो । सो कार्यक्रममा बोल्दै समूहका अध्यक्ष पवन गोल्यानले तरकारी उत्पादन गरेर पनि बजार नपाउने कृषकको समस्या सम्वोधन गर्न गोल्यान एग्रो फार्मको स्थापना गरिएको बताए । गोल्यान एग्रोले नै माटो ब्राण्डको स्थापना गरेको हो ।

‘मैले पहिले सीएसआर (सामाजिक उत्तरदायित्व) अन्तर्गत कृषकहरुलाई सहयोग गरेको थिएँ,’ अध्यक्ष गोल्यानले भने, ‘कृषकहरुलाई मैले सहयोग गरेँ, उत्पादन पनि भयो, तर बिक्रीका लागि समस्याले दुखी बनायो ।’

यस्तो भोगेपछि कृषजन्य उत्पादनलाई बजार सिर्जना गर्न प्रेरित भएको उनले बताए । कृषिप्रधान मुलुकमा ठूलो परिमाणमा कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था हटाउनलाई आफ्नो र्फमले योगदान गर्ने उनको भनाइ छ ।

झापामा आफ्नै फार्म, कृषकको पनि किन्ने

पवन गोल्यानले समाजसेवाका लागि छोरा जयन्तको स्मृतिमा छुट्टै संस्था स्थापना गरेका छन् । १४ वर्षको उमेरमा बितेका छोराको नाममा खोलेको जयन्त गोल्यान फाउण्डेशनले महिला र कृषकलाई आत्मनिर्भर बनाउने सीप विकास तालिम तथा सहयोग गर्दै आएको छ ।

सोहि संस्थाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत कृषकहरुलाई सहयोग गरेका गोल्यानले कृषि उपजको बिक्री नभएको देखे । किसाहरुले धेरै मेहनत गरेर उब्जाएको फलफूल तथा तरकारीले बजार नपाएपछि आफूले कृषि क्षेत्रमा हात हालेको उनले बताए ।

यो पनि पढ्नुस्–गोल्यानको उद्यम : चप्पलदेखि धागोसम्म, होटलदेखि हाइड्रोसम्म

समूहले झापामा ५ सयभन्दा बढी विगाहमा कृषि फार्म शुरु गरिसकेको छ । त्यहाँ सबै फलफूल तथा तरकारीहरु लगाइएको छ । एक वर्षअघि समूहले २०० विगाहा जमीन खरिद गरेर कागती, आँप, लिच्ची, मेवा, खरबुजालगायतका फलफूल लगाउन शुरु गरेको थियो ।

कृषकहरुलाई उनले आधुनिक कृषि प्रणालीमा प्रोत्साहन गरिरहेका छन् । त्यसका लागि माछा, बंगुर, कुखुरा र गाईपालनका लागि सहयोग गरिरहेको पवनले बताए ।

‘काम गर्न चाहने तर, स्रोत नभएका किसानहरुलाई नगद होइन, आवश्यक सामग्रीमा लगानी गरिदिन्छु’, उनी भन्छन् ।

आफ्नो फार्मको उत्पादन मात्रै नभएर कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफूलसमेत खरिद गरेर माटो ब्राण्डका नाममा बिक्री गर्ने अध्यक्ष गोल्यानले जानकारी दिए । कृषकहरुबाट उत्पादन भएका फलफूल तथा तरकारीहरु ल्याब टेस्ट गरेर ग्रेडिङपछि प्याकेजिङ गरेर बजार पठाइने छ । कृषकहरुलाई उचित मूल्य दिने र बिक्री गर्दा पनि बढीमा २० प्रतिशतभन्दा बढी मूनाफा नराख्ने समेत समूहले बताएको छ ।

माटो ब्राण्डका फलफूल तथा तरकारीहरु भाटभटेनी, बिगमार्ट जस्ता सुपरमार्केटहरुमा उपलब्ध हुने छन् । समूहका अध्यक्ष गोल्यान विराटनगरका प्रतिष्ठित व्यापारी सोहनलाल गोल्यानका छोरा हुन् । सोहनलाल गोल्यानले बिराटनगरमा चप्पल, छाता, जिपर (प्यान्ट र ज्याकेटको चेन) र अडियो क्यासेट बनाउने उद्योग पनि खोलेका थिए । त्यसबाट उद्यम-कारोबार सिकेका छोरा पवनले कपडा उद्योगमा पारिवारिक नेतृत्व लिए ।

बुवाले सम्हाल्न नभ्याएर बन्द गरेको कपडा उद्योगबाटै पवन गोल्यानले आफ्नो व्यवसायिक यात्रा शुरु गरेका थिए । गोल्यान समूहको अर्को शिवम् प्लाष्टिक इण्डष्ट्रिज उदोग पनि छ । यहाँ उत्पादित ८० प्रतिशत भन्दा बढी पोलि-प्रोप्लिन ब्याग (सिमेण्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरु भारतमा निर्यात हुन्छन् ।

गोल्यान समूहको लगानी बैंक तथा वित्तीय क्षेत्रमा समेत छ । एनएमबी बैंक, एनआईसी एशिया, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतमा गोल्यान समूहको लगानी रहेको छ । समुहका अध्यक्ष पवन एनएमबी बैंकका अध्यक्ष समेत हुन् । उनले नेपाल धागो उत्पादक संघको नेतृत्वसमेत गरिरहेका छन् ।

यस बाहेक गोल्यान समूहले बीमा, जलविद्युत्, रियलस्टेट तथा हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ । उत्पादनमा केन्द्रित गोल्यान समूहले पछिल्लो समय रियलस्टेट र सेवा क्षेत्रमा पनि लगानी बढाएको छ । होटलतर्फ हायातमा लगानी छ भने वेष्टार प्रपर्टिजमार्फत ललितपुरको बालकुमारीमा हाउजिङ छ ।

त्यस्तै, माथिल्लो बलेफी जलविद्युत् आयोजना (४६ मेगावाट), बलेफी हाइड्रोपावर आयोजना (३६ मेगावाट), भोटेकोशी हाइड्रो (३५ मेगावाट) र केएनबीआर इस्वा हाइड्रोपावर (९७ मेगावाट) निर्माणाधीन छन् भने २० मेगावाटको सोलार परियोजनामा लगानी छ । पवन गोल्यानले विद्युतको लागि छुट्टै समूह बनाएका छन् ।

तस्वीर र भिडियोः शंकर गिरी/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment