Comments Add Comment

कस्तो हुनुपर्छ हाइजेनिक भान्सा ?

घरको सबैभन्दा महत्वपूर्ण स्थान भनेकै भान्सा हो । हामी बिहानको चियादेखि रातिको खानासम्म भान्सामै खान्छौं । त्यसैले हाम्रो भान्सा सफा हुनु अनिवार्य छ । भान्सा सफा मात्र भएर हुँदैन, हाइजेनिकसमेत हुनुपर्छ । भान्सालाई कसरी सफा र हाइजेनिक राख्ने भन्ने बारेमा केही चर्चा गरौं ।

सफा हुनुपर्छ सिन्क

खाना खाएपछि हात चुठ्ने, खाना सफा गर्ने ठाउँ हो सिन्क । त्यसैले भान्साको यो महत्वपूर्ण क्षेत्र सधैं सफा हुनु पर्छ । सिन्कबाट भातका सिता, तरकारीका बोक्राहरु जाने भएकाले कहिलेकाहिं सिन्कको पाइप जामसमेत हुन सक्छ । त्यसैले सिन्कको पाइप सफा गर्नका लागि आधा कप कास्टिक (बेकिङ) सोडा र आधा कप फिटकिरी मिसाएर राति भान्साको काम सकिएपछि पाइपमा हाल्नु पर्छ । रातभरि त्यसै छाडेपछि भोलिपल्ट बिहान उक्त पाइपमा तातोपानी हाल्नु पर्छ । यसो गर्नाले सिन्क र त्यसको पाइप सफा हुनुका साथै किटाणुमुक्तसमेत बन्दछ । यसबाहेक हरेक दिन भाँडा सफा गरेपछि सिन्कलाई साबुन पानीले सफा गर्नुपर्छ ।

डस्टबिन

भान्सामा नभई नहुने अर्को बस्तु भनेको डस्टबिन हो । डस्टबिनलाई प्रायः सिन्कभन्दा ठ्याक्कै मुन्तिर राख्ने गरिन्छ । त्यसैले उक्त डस्टबिन सधैं सफा गर्नुपर्छ । डस्टबिनमा फोहोर भरिनुअघि नै सफा गर्नुपर्छ । भान्सामा ढक्कनसहित डस्टबिन प्रयोग गर्नु पर्छ । डस्टबिनमा फोहोरलाई सोझै फ्याँक्नुको साटो कागज अथवा प्लाष्टिकको ब्यागमा फोहोर राखेर डस्टबिनमा राख्नुपर्छ । हरेक साँझ प्लाष्टिकको ब्यागसहित डस्टबिनको फोहोर फ्याँक्नु पर्छ । डस्टबिनलाई सकेसम्म भिजाउनु हुँदैन, सुख्खा नै राख्ने प्रयास गर्नुपर्छ । भिजेको फोहोरलाई डस्टबिनमा हाल्नु हुँदैन । त्यस्तो फोहोरलाई अलग्गै राख्नुपर्छ । हप्तामा एक पटक डस्टबिनलाई पनि राम्ररी सफा गर्नुपर्छ ।

भान्साको झ्याल

भान्साको झ्यालमा प्रायः फोहोर जमेको हुन्छ । त्यसैले उक्त झ्यालको सीसालाई हप्तामा दुई-तीन पटक सफा गर्नुपर्छ । उक्त सीसालाई कोलिन लगाएर अथवा अखबारको पानाले सफा गर्दा राम्रो हुन्छ । यदि भान्साको झ्यालमा जाली लगाइएको छ भने त्यसलाई सुख्खा ब्रसले सफा गर्नुपर्छ । यसबाहेक स्पन्जलाई भिजाएर पनि जाली सफा गर्न सकिन्छ । ब्रसले रगडेरसमेत उक्त जालीलाई सफा गर्न सकिन्छ ।

चिम्नीको नियमित सरसफाइ

चिम्नी पनि आधुनिक भान्सामा नभइ नहुने विद्युतीय उपकरण हो । चिम्नीमा प्रायः हालैले अन-अफ गर्न मिल्ने स्वीचहरु हुन्छन् । चिम्नीमा दुईदेखि चार वटा फ्यान हुन्छन् । उक्त फ्यानले भान्सामा फैलिएको धुँवालाई बाहिर फाल्छ । त्यसैले चिम्नीलाई पनि बेला-बेलामा सफा गरिरहनुपर्छ । चिम्नीलाई जहिले पनि खाना पकाउने ग्यास स्टोभको माथिपटि्ट फिट गर्नुपर्छ । चिम्नीलाई प्रायः ग्यास चुल्हो भन्दा दुई फिट माथि राखिन्छ । यो दुरी कायम गरियो भने मात्र चिम्नीले राम्ररी काम गर्छ । चिम्नी सफा गर्नका लागि मनतातो पानी तथा साबुन प्रयोग गर्न सकिन्छ । चिम्नी सफा गर्दा जालीमा जमेको फोहोरलाई हटाउन बिर्सनु हुँदैन ।

भान्साका भुइँ

यदि तपाईंको भान्सा कोठाको भुइँमा टायल बिच्छाउनु भएको छ भने त्यसलाई हरेक दिन पुछ्नु पर्छ । यदि काठको प्रयोग गर्नु भएको छ भने कुच्चोले बढारेमात्र पनि हुन्छ । यदि काठमा पानी लगाएर पुच्छ थाल्नु भयो भने काठको चमकमाथि नै प्रभाव पर्न सक्छ ।

ग्यास चुल्होको प्रयोग

भान्साको अर्को महत्वपूर्ण वस्तु हो ग्यास चुल्हो । जसको नियमित सरसफाइ अनिवार्य मानिन्छ । ग्यास चुल्होलाई सफा गर्नका लागि पुरानो नाइलनको मोजाको प्रयोग उपयुक्त मानिन्छ । खाना पकाइ सकेपछि ग्यास चुल्होलाई साबुन अथवा सर्फ प्रयोग गरेर सफा गर्नुपर्छ । त्यसपछि सुख्खा कपडाले पुछ्नु पर्छ । चुल्होमा खानेकुराको दाग लागेको छ भने मन तातो पानीले सफा गर्नुपर्छ । चुल्होको बर्नरलाई पनि बेला-बेला टुथब्रसको सहायताले सफा गर्नु पर्छ ।

स्ल्याब

भान्सा अत्यधिक प्रयोग हुने अर्को स्थान हो स्ल्याब, जहाँ हामी ग्यास चुलोदेखि अधिकांश सामाग्रीहरु राख्छौं । त्यसैले स्ल्याबको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । खाना पकाउने क्रममा कतिपय खानाहरु उम्लिएर पोखिन्छ, त्यो स्ल्याबमै आएर बस्छ । त्यसैले त्यसरी पोखिएका खानेकुराहरुलाई तुरुन्त सफा गर्नु पर्छ । हप्तामा एक पटक स्ल्याबलाई तातोपानीमा सर्फ हालेरै सफा गर्नुपर्छ र अन्त्यमा सुख्खा कपडाले पुछ्नु पर्छ ।

चपिङ बोर्ड

तरकारी काट्ने चपिङ बोर्डलाई पनि नियमित रुपमा सफा गरिरहनु पर्छ । कहिलेकाहीँ उक्त बोर्डलाई साबुन पानीले पनि सफा गर्नुपर्छ, जसबाट ब्याक्टेरियाहरु नष्ट हुन्छन् । हरिया तरकारी तथा माछा-मासु काट्नका लागि अलग-अलग चपिङ बोर्डको व्यवस्था गर्नुपर्छ ।

विद्युतीय उपकरणहरु

आधुनिक भान्सा कोठामा फ्रिज , माइक्रोवेभ, ओभन, मिक्स्चर, ग्राइण्डर आदि विद्युतीय सामग्रीहरु हुन्छन् । ती सबै सामग्रीहरुलाई नियमित रुपमा सफा गरिरहनुपर्छ । हप्तामा एक पटक पानी छान्ने फिल्टरलाई पनि सफा गर्नुपर्छ । फिल्टरको नोजललाई राम्ररी सफा गर्नु पर्छ । ओभनलाई भिजेको कपडाले सफा गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment