
९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको उनीहरुको भनाइ छ ।
सोमबार संसदको विशेष समयमा बोल्दै नेकपा सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त रहेको बताए । प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने आपराधिक मनोवृत्तिसमेत देखिएको भन्दै उनले खेद जनाए ।
यस्तै नेकपा सचेतक शान्ता चौधरीले पनि सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरु बढेको बताइन् ।
लोकतन्त्रभित्र छाडातन्त्र अटाउन नसक्ने भन्दै उनले भनिन्, ‘फेसबुक, ट्वीटर र कतिपय अनलाइन मिडियामा चरित्र हत्या गरेर लेखिन्छ, निराधार आरोप लगाइन्छ र फोटोसपबाट अनेकौं फोटो जोडेर भिडियो बनाएर युट्युब च्यानलमा मिथ्या कुराको ब्यापार गरिन्छ ।’
सत्य समाचार सम्प्रेषण गर्नेहरुको सम्मान गर्ने तर आजभोलि फेक समाचारको ब्यापार मौलाएको उनले बताइन् ।
सामाजिक सञ्जालको दुरुपयोग कारण धेरै मानिस भ्रममा परेको समेत चौधरीले बताइन् ।
प्रतिक्रिया 4