Comments Add Comment

दाम्पत्य सम्बन्ध : विवाहपछि प्रेम ?

भनिन्छ, प्रेम विवाहमा श्रीमान्-श्रीमतीले एकअर्कालाई राम्रोसँग बुझेका हुन्छन् । त्यसैले कतिपयले भन्ने गर्छन् प्रेम विवाह भएका दम्पतिहरुको त्यति झगडा हुँदैन, जीवन सधैं माया-प्रेमले भरिएको हुन्छ । तर कहिलेकाहीँ प्रेम विवाह भएको केही समयपछि नै प्रेम विवाहबाट ‘प्रेम’ हराउन थाल्छ र बाँकी रहन्छ विवाहमात्र ।

विवाह अगाडि एक अर्काप्रति जति प्रेम हुने गर्थ्यो, विवाहपछि विभिन्न कारणले त्यस्तै प्रेम रहन सक्दैन । जति उत्साह र रमाइलो प्रेममा हुने गर्थ्यो, ती सब कुराहरु विस्तारै हराउँदै जान्छन् र जीवन सामान्य हुन थाल्छ । प्रारम्भमा एक-अर्काको कुरा जति ध्यान दिने र उत्साहका साथ सुन्ने गरिन्थ्यो, केही समयपछि एक-अर्काको कुरामा त्यति ध्यान रहँदैन ।

विवाह अगाडि र विवाह पछाडिको व्यवहारमा धेरै परिवर्तन हुन्छ । यस प्रकारका अनुभवहरु प्रेम विवाह गर्ने धेरैको जीवनमा हुन सक्छ । प्रेम विवाह गरे पनि विवाहपछि श्रीमान्-श्रीमतीबीचमा प्रेम हराउन कि थाल्छ त, अब यसबारे चर्चा गरौं ।

आकर्षण र प्रेमबीचको फरकलाई बुझ्नु पर्छ

प्रायः व्यक्तिहरु आकर्षणलाई प्रेम सोच्ने गर्छन् र विवाहको निर्णयमा पुग्छन् । यही कारण विवाहपछि एक-अर्कालाई दोषि ठहराउँछन् । कसैको बोल्ने तरिका, उसको लुक्स, उसको हाउभाउ केही समयको रमाइलो गर्नको लागि हुन्छ तर प्रेम यी सबैभन्दा फरक हुन्छ ।

प्रेमको अर्थ एक-अर्कालाई हरेक परिस्थितिमा साथ दिनु, बुझ्नु, सही बाटो देखाउनु र उसको लागि खुशीसाथ त्याग गर्नु पनि हो । जुन कुरा पूरा गर्न अति नै गाह्रो हुन्छ । केवल आकर्षणलाई प्रेम भनेर सम्झनु हुँदैन ।

पहिले र पछिको अन्तर

प्रायः व्यक्तिलाई विवाह अगाडि र विवाह पश्चातको व्यवहार फरक भएको गुनासो रहन्छ । प्रेम विवाह गरेका दम्पतिहरुको केही समयपछि स-साना कुरामा मनमुटाव हुन्छ र झगडा पर्न थाल्छ  । माया-प्रेमको स्थान रिस र झगडाले लिन थाल्छ । प्रारम्भमा झगडा हुँदा एक-अर्कालाई फकाउने, नबोली बस्न नसक्ने हुन्छन् तर समय बित्दै जाँदा धेरै दिनसम्म बोलचाल बन्द हुँदा पनि कुनै फरक पर्दैन । दुवै आफूमा नै व्यस्त रहन थाल्छन् ।

शुरुमा त यी सबै कुराहरु सामान्य र सानो लाग्छ तर बिस्तारै यी कुराहरुले सम्बन्धमा समस्या ल्याउँछ । श्रीमान्-श्रीमतीबीच धेरै रिसाउनु, एक-अर्कासँग घुलमिल नहुनु र गैरजिम्मेवारपूर्ण व्यवहारहरु जस्ता समस्याहरु उत्पन्न हुन्छ ।

महत्वपूर्ण निर्णय गर्दा परामर्श

प्रेमको अर्थ आफूलाई बिर्सनु होइन । यदि तपाईंले प्रेममा आफूलाई बिर्सने गल्ति गर्नु भयो भने तपाईं आफ्नो जिन्दगीमा सन्तुष्ट रहन सक्नु हुन्न । जसको प्रेममा आफूलाई बिर्सनु भएको छ, उनलाई पनि खुशी राख्न सक्नु हुन्न । त्यसैले आफ्नो भावी लक्ष्य, इच्छा, चाहनाहरु आफ्नो साथीलाई बताउनुहोस् र उनलाई पनि आफ्ना हरेक कुराहरु बताउने वातावरण बनाउनुहोस् ।

उनको कुरा ध्यान दिएर सुन्नुहोस् । ती कुराहरुमा विचार गर्नुहोस् । धेरै मानिसहरु प्रेम विवाहमा प्रेमलाई सर्वस्थानमा त राख्छन् तर जिन्दगीमा यथार्थको सामना गर्नुपर्दा धेरै कठिनाइ हुन्छ । विशेष महिलाहरुले आफ्ना हरेक कुरामा स्पष्ट हुनुपर्छ । चाहे त्यो विवाहपछि आफ्नो जागिरलाई निरन्तरता दिने कुरा होस् वा पढाइ होस् विवाह अगाडि नै स्पष्ट हुँदा राम्रो हुन्छ ।

त्यस्तै पुरुषले पनि आफू विदेशिने सोचाइ छ अथवा आफ्नो संयुक्त परिवार छ भने पहिलेबाट नै विवाहपछि के गर्ने भन्ने बारेमा तयार हुनु आवश्यक हुन्छ ।

आर्थिक आत्मनिर्भर

प्रेममा सधैं तपाईंको प्रेमी कतिको क्षमतावान छ भन्ने कुरा थाहा पाउनु पर्छ । प्रेम गर्नु अगाडि जसरी प्रेमीलाई क्षमतावान बनाउनु आवश्यक हुन्छ, त्यस्तै विवाह पछि पनि आफ्नो प्रेमीलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन अति नै आवश्यक हुन्छ ।

प्रेमविवाह तपाईं दुईले गरेको निर्णय भएकाले परिवारको पूरा सहयोग प्राप्त नहुन सक्छ । त्यसैले यदि तपाईं आर्थिक रुपले आत्मनिर्भर हुनुहुन्छ भने परिवारले पनि तपाईंलाई गलत सम्झन सक्दैन र तपाईंको भविष्यको लागि पनि तपाईंको आर्थिक पक्ष बलियो हुनु आवश्यक छ । आर्थिक स्थिति कमजोर हुँदा तपाईंको सम्बन्ध पनि कमजोर हुन सक्छ ।

एक-अर्काको प्रशंसा आवश्यक

श्रीमान् अथवा श्रीमतीले केही राम्रो काम गर्‍यो भने यो त उसको कर्तव्य नै हो उसले नगरे कसले गर्छ भनेर प्रशंसा नगर्ने बानी छ भने त्यस्तो बानी त्याग्नु पर्छ । एकअर्काको प्रशंसा नगर्ने बानीले सम्बन्ध फिक्का हुनसक्छ । यदि तपाईंलाई आफ्नो साथीको काम मन पर्‍यो भने त्यसको खुल्ला मनले प्रशंसा गर्नुहोस्, जसले तपाइर्ंको सम्बन्ध अझ बलियो बनाउन सहयोग गर्छ ।

उपहार प्राप्त हुँदाको खुशी

जब तपाईं प्रेममा हुनुहुन्थ्यो, एक-अर्कालाई कति उपहारहरु दिनु हुन्थ्यो, त्यो स्मरण गर्दै उपहार दिने क्रमलाई विवाहपछि पनि कायम राख्नुपर्छ । उपहार दिने भनेर महँगो उपहार दिनु पर्दैन, स-साना उपहारले पनि तपाईंको साथीलाई खुशी प्राप्त हुन्छ । सरप्राइजहरुले नसोचेको खुशी प्राप्त हुन्छ । साथै जीवनमा जोश पनि ल्याउँछ । त्यसैले विवाहपछि पनि सरप्राइज गिफ्टहरु आदान-प्रदान हुनु आवश्यक छ, जसले तपाईंको दाम्पत्य जीवनलाई खुशी र सुखी बनाइराख्न मद्दत गर्छ ।

एक-अर्कालाई स्थान दिनुपर्छ

विवाह अगाडि आफ्नो प्रेमीको ध्यान राख्ने, उसको हरेक कुरालाई हेरचाह गर्ने जस्ता कार्य राम्रो लागेता पनि विवाहपछि आवश्यकताभन्दा बढी ध्यान दिने कुराहरु मन नपर्न सक्छ । त्यसैले आफूबीचको सम्बन्धमा केही स्थान फरक हुनु आवश्यक छ ।

हरेक कुरा सोध्ने, हरेक कुराको चासो लिने र त्यसमा रोकटोक गर्ने, एक-अर्काको निर्णयमा भरोसा नगर्ने कुराले तपाईंको सम्बन्ध कमजोर हुन सक्छ । सबैको आफ्नो निजी जिन्दगी हुन्छ भन्ने कुरा राम्रोसँग बुझ्नु पर्छ । यस्ता कुराले वैवाहिक सम्बन्धलाई कैद जस्तो अनुभव हुन दिनु हुँदैन ।

आफ्नो पहिचान

प्रायः व्यक्तिहरुको विचारमा उसको हरेक सुख र दुःख आफ्नो साथीको साथमा हुन्छ । विशेष गरेर प्रेम विवाहमा, जहाँ प्रेमीहरु शुरुबाट नै एक-अर्कामा हराएका हुन्छन्, विवाहपछि उनीहरुको अपेक्षा झन् बढ्न थाल्छ । तर सबैको आफ्नो व्यक्तित्व, निजी जीवन र पहिचान हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । विवाह अगाडिको नाता-सम्बन्ध, साथी-भाइलाई पनि निरन्तरता दिनु पर्छ । जसले तपाईंलाई जीवनमा रमाइलो गर्दै बिताउन सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment