Comments Add Comment

निखिलले सात तलाबाट हाम फालेको त्यो क्षण…

सानो उमेरदेखि नै निखिल उप्रेतीलाई चलचित्रको पर्दामा देखिने रहर थियो । चलचित्रलाई विशेष चासो दिने निखिल हलसम्म पुगिरहेका हुन्थे । चलचित्र हेरेदेखि नै ज्याकी चेन र बुरुस्लीका फ्यान थिए, निखिल । उनीहरुको स्टन्ट अनि एक्सन एकदमै रुचाउथे ।

गोजीभरी दुई सेलिब्रिटीका पोस्टरहरु बोकेर हिड्थे । निखिलसँग भएका दुई तस्वीरमा ज्याकीले लौरो घुमाएका थिए । निखिललाई त्यो काम गर्न मन लाग्यो । सोही तस्वीर हेरेर नै उनले लौरो घुमाउन सिके । निखिल सम्झिन्छन्–‘मैले लौरो घुमाउनका लागि एउटा काठ तयार पारेँ । त्यसलाई तासेर सानो बनाएँ । र घुमाउन सिके ।’

निखिललाई धेरै सिक्नु थियो, अनि ज्याकी बुरुस्ली जस्तै बन्नु थियो । उनी मार्शल आर्ट सिक्न थाले । मार्शल आर्ट सिक्दै गर्दा धेरै मिहिनेत गर्थे उनी । उनलाई मार्शल आर्ट मात्र सिकेर चित्त वुझाएनन् । उनले उसु खेल्न सुरु गरे । उसु पनि उनी निकै मिहिनेत गरेर सिक्थे । जिम्न्याष्टिक पनि एकदमै राम्रो गर्थे, निखिल ।

निखिलको यो क्रियाकलाप देखेपछि धेरैले उनलाई हिरो बन्न सुझाउथे । आखिर निखिलको चाहना पनि यही नै थियो । घरमा कुरा गरे, अनि पढ्नका लागि मुम्बई हानिए । मुम्बई पुगेर निखिलले चलचित्र निर्देशन पढ्न थाले । त्यहाँ पुगेर केही चलचित्रमा सहायक निर्देशकको काम गर्ने अवसर पाएको निखिल बताउँछन् । निखिल भन्छन्–‘मैले धेरै चलचित्रमा सहायक निर्देशक बनेर काम गरेको छु ।’

हिन्दी चलचित्रमा नायकको डुप्लिकेट बनेर पनि काम गर्न भ्याएका छन्, निखिलले । ‘नायकको डुप्लिकेट बनेर पनि धेरै चलचित्रमा फाइटका स्टन्टहरु गरियो’, निखिलको भनाई छ । मुम्बईमा रहँदा निखिलको कामलाई निर्माता तथा कलाकार पवन मैनालीले देखेका थिए । निखिलको काम अनि उनको शारीरिक बनावटबाट प्रभावित भए, पवन । त्यसैबेला पवन नयाँ चलचित्र निर्माणको तयारीमा थिए । हिरोको खोजी भइरहेको थियो । पवनले आफूले एक्सन चलचित्र बनाउन लागेको भन्दै निखिललाई अफर गरे ।

निखिलको चाहना पनि सोही नै थियो । यसैले पनि उनले आँखा चिम्लिएर प्रस्ताव स्विकार गरे । निखिलमा नयाँ जोश थियो । चलचित्र पाएको खुसी थियो । निखिल भन्छन्, ‘चलचित्र पाएको खुसीमा म जे नि गर्न तयार थिएँ ।’
नभन्दै चलचित्रको स्कृप्टमा नै निखिलले सात तलाबाट हामफाल्नु पर्ने थियो । उक्त कुरालाई निखिलले सामान्य रुपमा लिए । उनी सम्झिन्छन्, ‘सात तलाबाट हामफाल्ने कुरामा मलाई अलिकति पनि डर थिएन । यस कुराले त मलाई उत्साहित बनाइरहेको थियो ।’

अन्ततः निखिलले सात तलाबाट हामफाले नै । कान्तिपूर पब्लिकेशनको भवनबाट निखिलले हाम फालेका थिए । यो कुराको चर्चा चलचित्र नगरीमा राम्रै भयो । दिन दुई गुना रात चौगुना भनेजस्तो निखिलको हाइप बढ्दै गयो । पत्रपत्रिकामा पनि निखिलको समचारहरु धेरै आए ।

सात तलाबाट हाम फालेको कुराले आफूलाई धेरै चिनाएको निखिलको बुझाई छ । ‘मैले सात तलाबाट हाम के फालेको थिए, मेरो चर्चा त यति धेरै भयो कि त्यसपछि त चलचित्र क्षेत्रमा फर्केर हेर्नुपर्ने अवस्था नै आएन’, निखिल भन्छन्, ‘त्यही चर्चाले अहिलेसम्म चलचित्र गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment