Comments Add Comment

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृसंस्थाबारे छलफल हुने

११ भदौ, काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।

कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन् ।

सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । सभापति देउवा केन्द्रीय समितिको बैठकलगत्तै नेविसंघको नेतृत्व तोक्ने तयारीमा रहेको उनी निकट एक नेताले बताए ।

कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ । १४ औं महाधिवेशन र अन्तरिम संरचना गठनसहितका मुख्य एजेण्डामा छलफल सकेको कांग्रेसले बुधबारको बैठकबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment