Comments Add Comment

जान्नुहोस् तपाईंको सम्बन्धको गहिराइ

आफ्ना लागि सच्चा जीवनसाथी कसरी छनोट गर्ने, जोसँग सधै प्रेमिल जीवन बिताउन सकियोस् । हाँसीखुसी रमाउन सकियोस् । दुःखसृुख साट्न सकियोस् । आफ्नो भावनालाई बुझ्ने, समझदार, बौद्धिक, पारिवारिक, सक्रिय, तन्दुरुस्त जीवनसाथी कसरी छनोट गर्ने ?

हजारौं, लाखौंको भीडमा आफूले खोजेजस्तै साथी भेट्न सजिलो पक्कै छैन । हुनसक्छ त्यसमध्ये कसैलाई तपाईंले आफ्नो जीवनसाथी बनाउनुभयो । तर, उनीसँगको जीवन तपाईंका निम्ति कति सहज होला ? उनीसँगको सहयात्रा कति सरल होला ?

सही जीवनसाथी छनोट नगर्दा जीवन तनावग्रस्त हुन्छ । समस्या नै समस्याको चंगुलमा फस्न पुग्छ । यस्तो सम्बन्धमा न तपाईं अगाडि बढ्न सक्नुहुन्छ, न त्यसलाई बीचमै टुङ्ग्याउन तपाईंलाई सहज हुनेछ । त्यसैले यस्तो जीवनसाथी छनौट गर्नुपर्छ, जो तपाईंका लागि लायक होस् । तपाईंको भावनालाई सम्मान गर्ने, व्यवहारिक रुपमा परिपक्व र सन्तुलित सोंच राख्ने जीवनसाथी नै तपाईंका लागि उपयोगी हुन्छ ।

आपसमा समझदारी होस्

यदि तपाईं श्रीमान वा श्रीमतीसँग पूरा जिन्दगी बिताउन चाहनुहुन्छ भने आपसी समझदारी पहिलो सर्त हो । तपाईंलाई आफ्ना श्रीमान वा श्रीमतीको खराब वा राम्रो दुबै कुरा थाहा हुनुपर्छ । यस्तो नहोस् कि तपाईं जे चाहनुहुन्छ, साथीले त्यो चाहँदैन । यदि तपाईं आफ्नो सम्बन्धमा अगाडि बढ्न चाहनुहुन्छ भने तपाईंहरुले एकअर्काको गल्ती र कमजोरीलाई स्वीकार्नुपर्छ वा सच्याउनुपर्छ । यदि त्यस्तो भएन भने तपाईंले आफ्नो सम्बन्धबारे पुनर्विचार गर्न आवश्यक छ ।

भावनात्मक सहयोग

सम्बन्धलाई यदि राम्ररी अगाडि बढाउने हो भने तपाईंलाई जीवनसाथीको भावनात्मक साथ चाहिन्छ । कुनै दुःखमा, समस्यामा, एक्लोपनमा, उदासीमा तपाईंको पार्टनरले तपाईंलाई भावनात्मक सहयोग गर्नुपर्छ । यसबाट के पनि थाहा हुन्छ भने तपाईंलाई उनले आफ्नो जीवनमा कति महत्व दिइरहेको छ ।

उमंगमय सम्बन्ध

व्यवहारिक जीवन चलाउने क्रममा समस्या आउँछ । कतिपय अप्ठ्यारा छिचोल्नुपर्छ । एउटा समस्या हल गरेपछि अर्को समस्या अगाडि आइपुग्छ । यद्यपि सधै दुःखी, निराश, आक्रामक, चिन्तित भएर बस्नुपर्छ भन्ने छैन । तपाईंहरुले यी सबै दुःख र कष्ट छिचोलेर कति उमंगमय सम्बन्ध स्थापित गर्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हो ।

एकअर्कासँग तपाईंहरु रमाउनुपर्छ । एकअर्काको सामिप्यमा तपाईंहरुले आनन्दित महसुस गर्नुपर्छ । तब नै दाम्पत्य जीवन उमगंमय हुनेछ ।

जीवनसाथीमाथि भरोसा

कुनैपनि सम्बन्धको मुख्य टेको भनेकै भरोसा हो । यदि भरोसा टुट्यो भने त्यो सम्बन्ध कहिल्यै जोडिदैन । त्यसैले एकअर्कावीच भरोसाको वातावरण बनाइरहनुपर्छ । हुनसक्छ, तपाईंलाई पार्टनरमाथि शंका लाग्यो । पार्टनरका कतिपय कुरामा तपाईं भ्रमित हुनुभयो । त्यसो हो भने आफ्नो कुरा स्पष्टसँग राख्नुपर्छ । दुबै स्पष्ट भएपछि तपाईंहरुमा तनाव र शंकाले ठाउँ पाउँदैन । एकअर्कासँग केही लुकाउने नगरौं । भरोसा राखौं ।

जीवनसाथीमा पूर्णताको अपेक्षा नगरौं

सबै गुणले युक्त भएको मान्छे सायदै भेटिएलान् । तपाईंको जीवनसाथी अपवाद हुन सक्दैनन् । उनमा गुण हुन्छ, दोष पनि । दोष हरेकमा हुन्छ । कसैमा कमी होलान्, कसैमा धेरै । तर, जीवनसाथीलाई तपाईंले सर्वगुणी खोज्नुभयो भने तपाईं कहिल्यै खुसी र सन्तुष्ट रहन सक्नुहुनेछैन । जीवनसाथीको हरेक कदममा तपाईंले गल्ती देख्नुहुनेछ र गल्ती औंल्याउँदै जानुहुनेछ । यसरी जीवनसाथीप्रतिको अनावश्यक अपेक्षाले तपाईंहरुको सम्बन्ध अरु खराब बन्न सक्छ ।

सम्बन्धमा स्पेसको कुरा

आफ्ना साथीलाई उनको निजी जिन्दगीका लागि समय दिनु पनि एक राम्रो संकेत हो । यदि तपाईंले पनि पार्टनरका लागि निश्चित समय दिनुहुन्छ भने तपाईंहरुको सम्बन्ध सुमधुर रहनेछ । यसैगरी आवश्यकता भन्दा बढी अर्काको निजी जीवनमा दख्खल दिनु राम्रो होइन । जीवनसाथीलाई केही स्वतन्त्रता पनि चाहिन्छ । उनलाई हरक्षण आफ्नो निगरानीमा राख्नु राम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment