Comments Add Comment

शाहिद कपुरकी धर्मपत्नी पनि फिल्ममा आउने

अभिनेता शाहिद कपुर फिल्मका साथ-साथै आफ्नो व्यक्तिगत जीवनका कारण पनि बेला-बेलामा चर्चामा आइरहन्छन् । खासगरी श्रीमती मीरा राजपुतको प्रसंगका कारण उनी चर्चामा आउँछन् ।

शाहिद र मीरा बलिउडमा सबैभन्दा मन पराइएका जोडीको रुपमा चिनिन्छन् । यतिबेला मीराले बलिउडमा डेब्यू गर्ने खबरका कारण उनीहरु चर्चामा छन् । यही प्रसंगमा हालै मात्र शाहिदले पनि आफ्नो मुख खोलेका छन् । एउटा अन्तर्वार्ताका क्रममा शाहिदलाई उनकी श्रीमती मीरा राजपूत फिल्ममा कहिलेदेखि आउने छिन् ? भन्ने जिज्ञासा राखिएको थियो । यो जिज्ञासामा शाहिदले रमाइलो शैलीको जवाफ दिए । उनको भनाइ थियो, ‘म जे गरिरहेको हुन्छु, त्यसमा मीराको पूर्ण साथ र समर्थन हुन्छ । त्यसैगरी मीराले आफ्नो जीवनमा जे गर्न चाहान्छिन्, त्यसमा मेरो पनि उत्तिकै साथ र समर्थन रहने छ ।’

शाहिदले मीराको प्रतिभाको प्रसंशा गर्दै भनेका छन्, ‘मीरा निकै सिर्जनशील छिन्, उनलाई कपडाको बारेमा राम्रो ज्ञान छ । साथै उनी खाने प्रसंगमा पनि निकै कुशल छिन् । मेकअपमा पनि उनलाई प्रशस्त ज्ञान छ । म उनका यी सबै प्रतिभाको सराहना गर्छु । जब हाम्रो घरमा इन्टेरियरको प्रसंग आउँछ, उनीसँग डिजाइनको राम्रो ज्ञान हुन्छ । यतिमात्र होइन, मीरा क्यामराको अघिल्तिर पनि निकै सहज छिन् ।’

मीरा र शाहिदका रोमान्टिक तस्वीरहरु प्रायः सामाजिक सञ्जालमा सार्वजनिक भैरहन्छन् । बलिउड अभिनेत्री नभए पनि सामाजिक सञ्जालमा मीरा राजपूतको फ्यान फलोइङ लोभलाग्दो छ । मीरा र शाहिदको विवाह ७ जुलाई २०१६ मा भएको थियो ।

पछिल्लो समय शाहिद कपुर आफ्नो पछिल्लो फिल्म ‘कबीर सिंह’ को सफलतामा नै इन्जोय गरिरहेका छन् । २१ जूनमा प्रदर्शन भएको कबीर सिंह यो वर्षकै अहिलेसम्मको सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बन्न सफल भएको छ । यो फिल्मपछि शाहिदलाई एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्ने  प्रस्ताव आएका छन् । यद्यपि, हालसम्म उनले आफ्नो नयाँ प्रोजेक्टको बारेमा खुलासा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment