Comments Add Comment

बद्री पंगेनीको ‘ससुरालीमा’मा झुमे सिड्नीका दर्शक

Photo Credit : दिपेन्द्र भट्ट

सिड्नी । सिड्नीका सबअर्बहरुमध्ये सबैभन्दा धेरै नेपालीहरुको बसोबास भएको क्षेत्र अबर्नमा गत शनिबार विहानैदेखि चहल पहल बाक्लो देखिन्थ्यो । नेपालबाट आएका कलाकारहरुको साथसाथै स्थानीय कलाकारहरुको प्रस्तुतिको साथमा तीजको झल्को मेटाउन पाइने कुराले सिड्नीका दर्शकहरु उत्साहित थिए ।

अझ आफ्ना परिवारका सदस्यले बोलाएर भर्खरै नेपालबाट सिड्नी आएका अभिभावकहरुलाई यो वर्षको तीज खल्लो होला भन्ने पीर थियो । तर, त्यो पीर र चिन्तालाई अबर्न नेप्लिज कम्युनिटीले रमाइलोमा परिणत गरिदियो ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने अथवा आफ्नो मौलिक सँस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले अबर्न नेप्लिज कम्युनिटीले गत शनिबार लिड्कमको वायट पार्कमा तीज मेला २०१९ को आयोजना गरेको थियो ।

नेपालबाट आएका कलाकारहरु बद्री पंगेनी, गलबन्दी गीतका गायक प्रकाश सपूत, प्रीति आले, कविता नेपालीलगायत स्थानीय नेपाली कलाकारहरुको विशेष प्रस्तुतिले सबै उमेर समूहका दर्शकहरुलाई खुला चौरमा नाच्न बाध्य बनाएको थियो ।

बद्री पंगेनीको ससुरालीमा, प्रकाश सपूतको गलबन्दीलगायत प्रीति आले र प्रकाश सपुतको दोहोरी ब्याटल, बुगी वुगी विजेता कविता नेपालीको नृत्यलगायत अन्य कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिले लिडकम क्षेत्र गुञ्जायमन भएको थियो ।

‘नेपाली खाना, नेपाली गीत संगीत, रातो सारीमा सजिएका नेपाली महिलाहरु जताततै देख्दा त म नेपाल मै छु कि जस्तो पनि लाग्यो,’ रकडेलदेखि तीजको कार्यक्रम हेर्न लिडकम आएका ६७ वर्षीय रुपेश श्रेष्ठले भने ।

‘विदेशमा पनि यस्तो रमाइलो तीज हुँदो रहेछ,’ आफ्नो छोरी ज्वाइले बोलाएर गत महिना सिड्नी घुम्न आएकी ५० वर्षीया लेख कुमारी न्यौपानेले हाँस्दै भनिन्, ‘मेरो त यो वर्षको तीज खल्लो होला भनेको थिएँ, खुब रमाइलो पो भयो ।’

अबर्न क्षेत्रमा पहिलोपल्ट आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा करिब ५ हजार दर्शकको उपस्थिती भएको आयोजकले जनाएको छ । बाक्लो चहलपहलका साथ दिउँसोदेखि राती अबेरसम्म चलेको कार्यक्रममा नेपाली खानाको पनि विशेष व्यवस्था रहेको थियो ।

अबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अशोक उप्रेतिले नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तीज मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको बताए ।

तस्वीरहरू : दिपेन्द्र भट्ट 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment