Comments Add Comment

तीनै मोर्चामा प्रचण्ड सक्रिय : कार्यवाहक कि कार्यकारी अध्यक्षको अभ्यास ?

११ भदौ,काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट बैठक बोलाउने अधिकारसहित ‘कार्यकारी’ भूमिका पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डले सरकार, संसद र पार्टी सबैतिर आफ्नो पहल बढाएका छन् ।

प्रधानमन्त्री तथा पहिलो वरियताका अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएको एक साता पुग्न नपाउँदै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे । कार्यवाहक प्रधानमन्त्री, पार्टीका वरिष्ठ नेताहरु र संसदीय दलका उपनेतादेखि मन्त्रीहरुलाई बोलाएर सरकार र पार्टी सञ्चालन प्रक्रियाबारे पनि चासो राखेका छन् । यद्यपि सबै घटनाक्रम संयोग मात्र हुन सक्छन् ।

सोमबार सचिवालय बैठक बोलाएर कार्य विभाजन टुंग्याएका प्रचण्डले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक रुपमा आलोचना गर्न नपाइने निर्णय गराइसकेका छन् ।

संसदीय मोर्चा परिचालन

नेकपा अध्यक्ष प्रचण्डले बुधबार नेताहरुलाई खुमलटार बोलाएर संसदीय कामकारबाहीबारे जानकारी लिएका छन् । उनले प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलसँग संसदका गतिबिधिबारे छलफल गरेका छन् ।

संसदीय दलका कार्यवाहक नेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङसँग भने विवादमा परेका विधेयकबारे छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

संसदमा विचाराधीन रहेका नागरिकता, भूमि व्यवस्थालगायतका विधेयक अहिले विवादमा छन् । मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयकबारे पनि पार्टी अध्यक्षसहितका नेताहरुसँग दलको तर्फबाट छलफल भएको नेम्वाङले बताए ।

कतिपय विधेयक संशोधन गर्नुपर्ने देखिएकाले नेकपाकै तर्फबाट संशोधन हालेर सुधारसहित पारित गरिने नेताहरु बताउँछन् । यसका लागि अध्यक्ष प्रचण्डसँग छलफलपछि संसदीय दलका कार्यवाहक नेता नेम्वाङले प्रतिनिधिसभाका सभामुखसँग गर्नेछन् । नेम्वाङले बुधबारै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित बिधेयकसँग सम्बन्धित मन्त्रीहरुसँग पनि छलफल गरेका थिए ।

सबैतिर एकसाथ पहल

प्रचण्डले हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि लामो छलफल गरेका थिए । प्रधानमन्त्री सिंगापुर गएपछि शीतल निवास पुगेका उनले देशको पछिल्लो अवस्थाबारे राष्ट्रपतिसँग छलफल गरेको उनी निकट नेताहरुले बताए ।

मात्रिका पौडेल

पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी, सरकार र संसदीय मोर्चामा पहल लिनु स्वभाविक भएको नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । बिभिन्न असन्तुष्टिहरुमा खेलेर सरकार र पार्टी विरोधी शक्तिहरु मोर्चाबन्दी गर्न थालेकाले प्रचण्डलाई पहल लिन आफूहरुले पनि आग्रह गरेको उनले बताए ।

कतिपयले भने अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच व्यक्तिगत तहमा विवाद भइरहेका बेला प्रचण्डले आफ्नो भूमिका देखाउन खोजेको बताएका छन् ।

ओली उपचारका लागि जाने ५ भदौमा सचिवालय बैठकमा नेता नेपालसँग भनाभन भएको थियो । त्यसक्रममा उनले आफूलाई नेपालको शुभकामना नचाहिएको समेत बताएका थिए । यद्यपि ओली निकट नेताहरुले माधव नेपालले स्वास्थ्यलाभको शुभकामना दिने प्रस्तावको विरोध गरेको बताएका छन् ।

प्रचण्डले ओली विदेश गएलगत्तै अर्थात भनाभन भएको भोलिपल्टै माधव नेपालसँग छलफल गरेका थिए । यसबीचमा प्रचण्ड र नेपालबीच दुईपटक भेट भइसकेको छ । त्यस्तै प्रचण्डले कार्यवाहक प्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलसँग पनि अलग्गै छलफल गरेपछि सचिवालय बैठक बोलाएका थिए ।

गोप्य समझदारीको खुला अभ्यास ?

पछिल्लो पटक अध्यक्षद्वय ओली र प्रचण्डबीच दोस्रो गोप्य समझदारी भएको नेकपा नेताहरुको आशंका छ ।

पहिलो गोप्य समझदारी थियो–सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने । त्यो लिखित समझदारी सार्वजनिक भएपछि केही समय नेकपामा ठूलै बहस भयो । यही विषयलाई दिएर ओली र प्रचण्डबीच बेलाबेला टकराव पनि देखियो ।

पछिल्लो पटक पार्टीभित्रको गतिरोध तोड्ने क्रममा बामदेवलाई उपाध्यक्ष बनाउनदेखि माधवकुमार नेपालको बरियता खोस्नेसम्मका निर्णयमा ओलीले प्रचण्डको साथ लिएका थिए । पार्टी सञ्चालन गर्ने ‘कार्यकारी अधिकार’ दिने समझदारीपछि प्रचण्डले ओलीले साथ दिएको उनी निकटवर्ती नेताहरु बताउँछन् । प्रचण्डको पछिल्लो पहलकदमीले पनि त्यसको संकेत गरेको उनीहरु बताउँछन् ।

प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठक ।

नेताहरुकाअनुसार माधव नेपाल नभड्किउन् भन्नेमा पनि उनी सचेत छ र पटक पटक नेपालसँग भेटघाट गरिरहेका छन् । ओली पक्षका नेताहरुसँग पनि सघन संवाद चलाएर पार्टीमा सबैको नेता बन्नसक्छु भन्ने सन्देश दिन खोजेका छन् ।

यद्यपि एक अर्कालाई खेलाएर आफू केन्द्रमा रहने उनको विगत रहेको भन्दै नेताहरुले शंकाको नजरले हेरेका छन् । साथै प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किएपछि पछिल्लो समझदारीको नखुलेको पाटो भने खुल्नु अनुमान गरेका छन् ।

प्रचण्ड निकट नेताहरुले ओली सिंगापुरबाट फर्किएपछि पार्टी सञ्चालनमा कार्यकारी भूमिका पाउने दाबी गरिरहेका छन् । ओली निकट नेताहरु भने प्रचण्ड अहिले पनि कार्यकारी भूमिकामै रहेको टिप्पणी गर्छन् । स्थायी कमिटी सदस्य शंकर पोखरेल भन्छन्, ‘ओली र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष हुन् । स्वभाविक रुपमा एकजना अध्यक्ष प्रधानमन्त्री भएकाले उहाँको भूमिका सरकार सञ्चालनमा बढी हुन्छ भने अर्को अध्यक्षको भूमिका पार्टी सञ्चालनमा बढी हुन्छ । तर नेकपामा अर्को महाधिवेशनसम्म दुवै अध्यक्ष रहन्छन् ।’

नेकपाको शक्ति देखाउने

गुठी विधेयकको विरोधमा काठमाडौंका सडकमा ओर्लिएका नेवार समुदाय सरकारका लागि धक्का थियो । पछिल्लो पटक टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ गरेपछि उनको समर्थनमा आएका मानिसहरुलाई पनि प्रचण्डसँग जोड्ने प्रयास भयो । घटना भएको जिल्ला चितवन हुनु लगायत कारणले प्रचण्डको दबाव तथा प्रभावमा लामिछानेलाई फसाउन खोजेको समेत भनियो ।

सत्तारुढ नेकपाका नेताहरुले भने विपक्षी पार्टीदेखि राजावादीहरु नेकपा र सरकार विरोधी मोर्चा बनाउन जनताका असन्तुष्टिहरुमा झुम्मिन थालेको बताउँछन् । एक नेता भन्छन्, ‘राजनीतिक मुद्दामा जनताले साथ नदिने भएपछि यस्तै भावनात्मक घटनामा हाबी हुन खोजेकाले प्रचण्डलाई अलिकति मुभ गर्नुस् भनेका हौं ।’

गुठी विधेयकविरुद्ध काठमाडौंका नेवार समुदायको आन्दोलनमा नेकपाकै सांसदहरुले अगुवाई गरेका थिए । जबकी नेकपाकै थारु सांसदहरु गुठी विधेयकको पक्षमा थिए । तर आन्दोलन बढ्दै जाँदा सरकार र पार्टीविरुद्ध जनता भड्काउन खोजेको भन्दै सरकारले विधेयक संसदबाट फिर्ता लिएको थियो ।

अहिले पनि चितवनमा रवि लामेछानेमाथि अदालती प्रक्रिया चलिरहेका बेला उनका समर्थकहरुको बीचमा पसेर नेकपाविरुद्ध नाराबाजी गर्ने, प्रचण्ड र ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने दृष्य देखिएपछि नेताहरु गम्भीर  भएका थिए ।

नेकपाका नेताहरुले प्रचण्डलाई भेटेर पहल बढाउन र पार्टीका सबै कमिटी तथा जनसंगठनहरुलाई परिचालन गरेर जनतामाझ जान आग्रह गरेका छन् । ८ लाखभन्दा बढी संगठित सदस्य भएको पार्टीले आफ्ना संयन्त्र निष्क्रिय राख्दा जनतालाई भ्रममा पार्ने शक्तिहरु सक्रिय भएको नेकपा नेताहरुको निष्कर्ष छ ।

एक सचिवालय सदस्यले भने, ‘हामी सबै घटनाक्रम हेरिरहेका छौं । कांग्रेस र राजावादीहरु आफ्ना एजेण्डामा जनता नआउने भएकाले सामाजिक मुद्दामा जनताका असन्तुष्टि भड्काउन खोजिरहेका छन् । प्रधानमन्त्री स्वदेश फर्किएपछि पार्टीले योजना बनाएरै देशब्यापी ठूलासभा र अभियान सञ्चालन गर्नेछौं ।’

यसअघि पुसकै स्थायी कमिटी बैठकले देशब्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने भने पनि पार्टी एकीकरणका काममा ढिलाइ भएकाले नेकपाले सभाहरु गर्न सकेको छैन । अब पार्टी एकताका काम लगभग सकिएकाले कम्तीमा प्रदेशस्तरमा ठूला सभा गर्ने र गाउँगाउँमा अभियान लैजाने तयारी भइरहेको उनले बताए ।

स्थायी कमिटी देवेन्द्र पौडेलले पनि पार्टीको शक्ति र मास परिचालन नहुँदा विभिन्न शक्तिहरुले खेल्न खोजिरहेको बताए । पार्टी एकीकरणका आन्तरिक काममा एक वर्षभन्दा बढी समय अलमल भएका कारण नेकपाको शक्ति देखाउन नसकिएको भन्दै अब पार्टीले जनताबीच जाने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment