Comments Add Comment

डेंगुबाट देशभर १५३७ बिरामी, कर्णालीमा संक्रमित भेटिएनन्

१२ भदौ, काठमाडौं । डेंगुबाट देशभरका १५३७ जना संक्रमित भएका छन् । ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नं. १ सबैभन्दा बढी संक्रमित छ । भदौ ११ गतेसम्मको तथ्यांकअनुसार यो प्रदेशको १८ जिल्लामध्ये ९ जिल्ला डेंगुबाट प्रभावित छन् र ५६३ जना संक्रमित छन् ।

प्रदेश १ को सुनसरीमा सबैभन्दा धेरै ३३१ जना संक्रमित भएका छन् । सुनसरीको पनि धरानमा सबैभन्दा धेरै डेंगु रोगी भेटिएका महाशाखाको तथ्यांकमा उल्लेख छ । धरान यस वर्ष पहिलोपटक डेंगु भेटिएको स्थान हो । ३ महिनाअघि यहाँ डेंगु देखापरे पनि नियन्त्रणमा आउन सकेको छैन । संक्रमण घट्नुको साटो बढ्दै गएपछि नियन्त्रण प्रयास फितलो भएको भन्दै आलोचना भइरहेको छ ।

प्रदेश १ कै झापामा पनि डेंगु टाउको दुखाइको विषय बन्दै गएको छ । महाशाखाका अनुसार, भदौ ११ गतेसम्मा यहाँका १२४ जना बिरामी उपचारका लागि अस्पतालको सम्पर्कमा पुगेका छन् ।

प्रदेश १ को तुलनामा प्रदेश २ मा डेंगुका कम बिरामी छन् । प्रदेश २ का ९ जिल्लामध्ये ७ मा संक्रमण फैलिएको छ र बिरामीको संख्या १४ पुगेको छ ।

डेंगु संक्रमितको तथ्यांक केलाउँदा प्रदेश ३ पनि प्रदेश १ कै हाराहारीमा देखिन्छ । महाशाखाले सार्वजनिक गरेको डेंगु संक्रमितको तथ्यांकअनुसार, भदौ ११ गतेसम्म अस्पतालको सम्पर्कमा पुगेका यहाँका ५ सय ५९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

प्रदेश ३ को मकवानपुर र चितवनमा सबैभन्दा धेरै संक्रमित छन् । मकवानपुरका २९६ र चितवनका २२४ जना डेंगुबाट संक्रमित भएका हुन् । प्रदेश ३ को काभ्रे, भक्तपुर, ललितपुर र सिन्धुलीमा भने १/१ जना डेंगुका बिरामी भेटिएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट गण्डकी प्रदेशका ३३९ जना बिरामी परेका छन् । बिरामीमध्ये अधिकांश कास्की जिल्लाका छन् । महाशाखाका अनुसार, अस्पतालको सम्पर्कमा पुगेकामध्ये कास्कीका ३५९ जनामा डेंगु पुष्टि भेटिएको छ । उनीहरूले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रदेश ५ र सुदूरपश्चिममा भने डेंगुको संक्रमण अन्यको तुलनामा कम देखिएको छ । प्रदेश ५ मा ५६ र सुदूरपश्चिममा ६ जना डेंगुका बिरामी पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

३ महिनाअघि धरानमा देखापरेको डेंगुको संक्रमणबाट हालसम्म कम्तिमा ३ जनाको ज्यान गइसकेको छ । डेंगु संक्रमित दरमा आएको वृद्धि र मृत्युका घटनापछि सरोकारवालाहरूले थप नोक्सानी हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment