Comments Add Comment

तीजमा कमाइ नहुँदा पार्टी प्यालेस सञ्चालक आक्रोशित

१३ भदौ, काठमाडौं । राजधानीमा सञ्चालन भइरहेका पार्टी प्यालेसका लागि पैसा कमाउने सिजन हो तीज । तर, यसपालिको तीजमा भने उनीहरुको व्यवसायमा मन्दी आएको छ । अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगाडिबाटै विभिन्न संघ–संस्थाका नाममा दर खान पार्टी प्यालेस र क्याटरिङहरु बुक हुन थाल्थे । यसपालि भने धेरै पार्टी प्यालेसहरु लगभग सुनसान छन् ।

तीजमा हुने भड्किला कार्यक्रम रोक्न भन्दै कास्की, तनहुँ, काठमाडौं लगायतका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका थिए । साउन पहिलो सातादेखि नै जारी गरिएका सूचनामा तीजका कार्यक्रम आयोजना गर्ने संस्था र कार्यक्रम हुने पार्टी प्यालेस तथा क्याटरिङ र रेन्टल तथा मिष्ठान्न एवं होटलहरुलाई कारवाही गर्ने चेतावनी दिइएको थियो । यही चेतावनीको प्रभाव पर्दा पार्टी प्यालेसको व्यवसायलाई धक्का लागेको व्यवसायीहरुको गुनासो छ ।

काठमाडौंमा तीनवटा पार्टी प्यालेस सञ्चालन गर्दै आएको सासा ब्याङ्क्वेटले यस वर्ष एउटा पनि तीजको दर खाने कार्यक्रम आयोजना गर्न नपाएको सञ्चालक बताउँछन् । अघिल्लो वर्ष एउटा ब्याङ्क्वेटमार्फत कम्तिमा ७/८ वटा दर खाने कार्यक्रम गर्ने उक्त पार्टी प्यालेसका तीनैवटा शाखामा यस वर्ष एउटा पनि कार्यक्रम नभएको पार्टी प्यालेसका म्यानेजर राजेश केसीले बताए ।

‘तीज कार्यक्रमबाट हाम्रो सञ्चालन खर्च उठ्थ्यो, तर सरकार लागेर यसपालि त्यो मासियो,’ म्यानेजर केसीले भने ।

काठमाडौं, भक्तपुर र इटहरीमा पार्टी प्यालेस ब्यवसाय गर्दै आएको ईम्पेरियल पार्टी प्यालेसको पनि यस वर्ष तीज विशेष व्यवसाय नभएको प्रमुख कार्यकारी अधिकृत अनुप शर्माले बताए । सरकारी उर्दीसँग जनता डराएको उनले बताए ।
यो पनि पढ्नुहोस तीज बहस : संस्कृति मास्ने कि विकृति ?

‘तीजका कार्यक्रम भरमार हुने ठानेर तयारी गरेका थियौं, तर यस वर्ष तीज आएजस्तो नै भएको छैन,’ उनले थपे, ‘मुस्किलले एक–दुईवटा मात्रै कार्यक्रम हुने गरेको छ ।’

पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघका सदस्य तथा पोखरामा पार्टी प्यालेस व्यवसाय भित्र्याउने मध्येका एक चन्द्रबिक्रम अधिकारी स्थानीय प्रशासनको डरले पार्टी प्यालेस र क्याटरिङको तीज सिजनको व्यवसाय चौपट भएको बताउँछन् ।

‘तीजका कार्यक्रम गर्ने चाहने संघ–सस्था पनि प्रशासनसँग डराए, पार्टी प्यालेस तथा क्याटरिङहरु पनि कारबाहीमा पो परिन्छ कि भन्ने चिन्तामा परेर बुकिङ लिन हच्किए,’ अधिकारीले भने ।

आफ्नै मौलिक पर्व मनाउन धन खर्च गर्छु भन्दा पनि रोक लगाइनु आपत्तिजनक भएको उनले बताए ।

नेपाल पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार देशभर यस्ता व्यवसाय ७ हजार हाराहारी छन् । तर महासंघसँग आबद्धता भएका ७ सय पार्टी प्यालेस, २१ सय क्याटरिङ र ३ सय रेन्टल तथा मिष्ठान्नहरु छन् । पार्टी प्यालेस, क्याटरिङ एवं रेन्टल तथा मिष्ठान्नहरु समेत गरेर हरेक दिन औसत ५ सय मानिसले यो सेवा लिई रहेको संघले जनाएको छ ।

दैनिक पाँच सयलाई खानपिनको प्रवन्ध गर्दा कम्तीमा चार लाखको व्यापार हुने गरेको छ ।

‘पार्टी प्यालेस तथा क्याटरिङले सरकारलाई १३ प्रतिशत राजश्व र आयकर बुझाउँदा राज्यले पनि राम्रो आम्दानी गर्दथ्यो, तर हामीलाई मार्‍यो, आफू पनि खुम्चियो,’ पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिला बहादुर जिसिले भने ।

व्यापार ६० प्रतिशतले घट्यो

सरकारी चेतावनीका कारण व्यवसायमा पुगेको आर्थिक नोक्सानीबारे अध्ययन भई रहेको अध्यक्ष जिसी बताउँछन् । देशैभरका पार्टी प्यालेस, क्याटरिङ एवं रेन्टल तथा मिष्ठान्नहरुमा सरकारकै डरले गर्दा तीजको दर खाने कार्यक्रम अत्यन्तै न्यून भएको उनको भनाइ छ ।

जिसिले देशभरको प्रारम्भिक अनुमानमा साबिकको भन्दा ६० प्रतिशतले व्यापार घटेको बताए ।
यो पनि पढ्नुहोस तीज सभ्य होस् भन्दा किन आपत्ति ?

‘सामाजिक सञ्जाल तथा सञ्चार सुबिधाका कारण सरकारले सृजना गरेको त्रास घर–घरमा पुग्यो र यसले मानिसलाई चाडपर्व मान्न नै डराउनु पर्ने वातावरण सिर्जना गरिदियो,’ जीसीले भने ।

राज्यले तडकभडक भनेर मौलिक पर्वको महत्वमाथि प्रहार गरेको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका महासचिव उत्तम शर्माको आरोप छ । बिभिन्न जिल्लाका सिडियोको सूचनाले बुकिङ भएका तीजका कार्यक्रमसमेत रद्ध भएको उनले बताए ।

‘दुई चार सय रुपैयाँ उठाएर जेरी पुरी खाने महिलाहरुको कार्यक्रमलाई भड्किलो भनेर राज्यले अपमान गरेको छ,’ शर्माले भने । एउटा पार्टी प्यालेस खोल्न कम्तिमा एक करोडदेखि १० करोडसम्म खर्च हुने भन्दै शर्माले राज्यले सहयोग गर्नुको साटो उल्टै दपेट्ने नीति लिँदा आफूहरु अन्यायमा परेको गुनासो गरे ।

व्यवसायीको प्रश्न : राजनीतिक कार्यक्रममा तडक–भडक हुन्न ?

आफ्नो व्यवसायलाई डुबाउने नीति लिने राजनीतिक दलका कार्यक्रमलाई निषेध गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले घोषणा गरेको छ ।

‘हजारौं मान्छे पार्टी प्यालेसमा जम्मा गरेर दिनभरि चर्को स्वरमा भाषण गर्ने, मान्छेको भिडले बाटै बन्द गर्ने राजनीतिक कार्यक्रम चाहिँ तडक–भडक नहुने तर महिला, चेलीबेटी वर्षमा एकपटक नाच्दा चाहिँ तडक–भडक हुने ?’ महासंघका अध्यक्ष जीसीले भने ।

उनी अगाडि थप्छन्, ‘तीज मान्दा तडक–भडक देख्ने राज्यले भोलि दशैं, तिहार, फागू पूर्णिमा सबैलाई प्रतिबन्ध लगाउँछ । जनताले चुनेर पठाएको सरकारले जनतालाई नै हैरानी दिन्छ भने हामी पनि राजनीतिक दलको कार्यक्रमलाई सहयोग गर्न समर्थ छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment