+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तीज सभ्य होस् भन्दा किन आपत्ति ?

अञ्जु केसी अञ्जु केसी
२०७६ भदौ ४ गते ९:५६

हरितालिका तीज पहिले संस्कार थियो, संस्कृति थियो । यो सीधै हिन्दु धर्मालम्बीहरुको मूल्य–मान्यतासँग जोडिएको थियो । घरघरबाट महिला माइती आउँथे । वर्षभरिको बह एक ठाउँमा जम्मा भएर नाच्दै गाउँदै पोख्थे ।

तर, समय अहिले त्यस्तो रहेन । आज तीज संस्कृति होइन, विकृतितिर उन्मुख हुँदै गयो । त्यसै कारणले पनि अहिले हामी अन्य कुरा छोडेर तीज कस्तो बनाउने, कसरी मान्ने भन्ने सानो कुराको ठूलो बहसमा छौं ।

पछिल्लो समय तीजमा भित्रिएको विकृतिलाई न्यूनीकरण गर्ने अभियानै सुरु गर्‍याैं । त्यही अभियानअन्तर्गत नारी जागरण अभियानले केही समयअघि पोखराले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा तीजमा भित्रिएको विकृतिलाई न्यूनीकरण गर्न सहयोग गरिदिन ज्ञापनपत्र बुझायौं ।

तीज आउनु महिनौं अघिदेखि नचाहिँदो तडक–भडक, महँगा गरगहना, कपडासहित दम्भी र ढोंगी गतिविधि हुन थालेका छन् । दर खाने नाममा महिनौं अघिदेखि पार्टी प्यालेस र रेस्टुरेन्टमा अनावश्यक खर्च र होहल्ला भइरहेको छ

जिल्ला प्रशासन कार्यालय कास्कीले तत्कालै सामाजिक सद्भाव नबिथोलिने र तडक–भडकरहित तीज मनाउन सूचना जारी गर्‍याे । सूचना बाहिर आइसकेपछि अहिले यो विषयले सर्वत्र चर्चा पाइरहेको छ ।

यही विषयलाई लिएर प्रदेशको आन्तरिक मामिला मन्त्रालयले प्रदेशभित्रका ११ वटा जिल्ला प्रशासन कार्यालयलाई तीजका नाममा हुने विकृति रोक्न निर्देशन दिएको छ ।

यो निर्देशन भनेको तीजलाई अस्वाभाविक तडक–भडक नभई साधारण र सभ्य तरिकाले मनाउन नै हो ।

जिल्ला प्रशासन कास्की र गण्डकी प्रदेशले सूचना जारी गरिसकेपछि हाल प्रदेशबाहिरका अरु जिल्लाले पनि धमाधम निर्देशन सूचना जारी गरिरहेका छन् ।

यो विषय अब सामान्य निर्देशनमा सीमित रहेन । सिंगो समाजलाई नै तरंगित पार्ने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा ठूलै चर्चा पाइरहेको पनि छ । कोही विरोधमा उत्रिनु भएको छ भने कोही पक्षमा ।

सभ्य होस् भन्दा किन आपत्ति ?

हो, दशैं, तिहार, नयाँ वर्ष सबै चाडबाडमा विकृति भित्रिएका छन् । ती सबै चाडबाडमा देखिएका विकृति हटाउन सुरु गर्ने दायित्व पनि हाम्रै हो ।

हामीले केही वर्षअघि देखि नै यी विविध विषयमा आवाज उठाइरहेका छौं । दशैंमा हुने फजुल खर्च, तिहारमा हुने जुवातास, जाडरक्सी र भैलोदेउसीका नाममा रातभर सुनिने चर्को हल्ला र नयाँ वर्षका नाममा हुने पटाका, अतीसबाजी सबैका विरुद्ध आवाज उठाइरहेका छौं । अहिले त्यता नजाऔं ।

अञ्जु केसी

जहाँसम्म तीजमा मात्रै किन प्रशासनको रोकतोक भन्ने प्रसंग छ, त्यो प्रश्न केही हदसम्म सही छ । तर, हामी तीज महिलाको हो र यसमा भित्रिएको विकृति महिलाले नै सुधार गर्नुपर्छ भन्ने लागेर यसमा अलि जोडले लागेका हौं ।

तीजलाई मूलतः महिलाको चाड मानिन्छ । त्यही भएर पनि देखिएका विकृतिको अन्त्य गरेर सकारात्मक सन्देश दिन सकियो भने अरु चाडबाडमा देखिने विकृति हटाउन पुरुष अग्रसर हुन्छन् कि भन्ने हाम्रो ध्येय हो ।

केही महिला मित्रहरुले नै ‘यो महिलाको खुसीविरुद्ध महिला लागेको वा हिन्दु धर्मप्रति प्रहार गर्ने अभियान’ जस्ता आरोप लगाइरहनुभएको छ । हामीले चाहेको त्यो होइन । हाम्रा मौलिक पक्षलाई जगेर्ना गर्दै आयातीत पक्षलाई निरुत्साहन गरौं भन्दा महिला विरोधी वा हिन्दु धर्ममाथि प्रहार हुन्छजस्तो लाग्दैन ।

हिन्दु धर्मको संरक्षण र प्रवर्धनमा लागेका केही संघसंस्था पनि प्रशासनको सूचनाको विपक्षमा उभिएको देखियो । बाहिरिया संस्कृतिलाई निरुत्साहन गरौं, हाम्रै मौलिक तरिकाले मनाऔं भन्दा उहाँहरु किन विरोधमा उत्रिनुभयो भन्ने हामीले नबुझेको कुरा हो । उहाँहरुले त झनै सहयोग गर्नुपर्ने थियो ।

तीज आउनु महिनौं अघिदेखि नचाहिँदो तडक–भडक, महंगा गरगहना, कपडासहित दम्भी र ढोंगी गतिविधि हुन थालेका छन् । दर खाने नाममा महिनौं अघिदेखि पार्टी प्यालेस र रेस्टुरेन्टमा अनावश्यक खर्च र होहल्ला भइरहेको छ । हामीले यो विकृतिको विरोध गरेका हौं, तीजको होइन ।

कला, संस्कृति, चाडबाड भनेका पूर्खाले हामीलाई सुम्पेका नासो हुन् । यिनलाई प्रदुषणरहित आगामी पुस्तालाई हस्तान्तरण गरौं भन्ने हाम्रो सपना हो । हाम्रा मौलिकतालाई चीरकालसम्म मर्न नदिने हाम्रै दायित्व हो । हामीले आआफ्नो भागको दायित्व निभाएका हौं ।

हो, समय परिवर्तनशील छ । तर, परिवर्तन हुने नाममा आफ्नै परिचय बिर्सेर हिँड्नु कसरी न्यायसंगत हुन जान्छ ? परिवर्तन भनेको तडकभडक र देखावटीरुपमा मात्रै देखिने भन्ने कुरा पनि होइन ।

चुलो चौकामा मात्र सीमित हिजोका महिला आज घरबाट बाहिर निस्कन सक्ने भएका छन् । त्यो परिवर्तन समयको माग हो । हामीले त्यसलाई विरोध गरेक होइनौं । परिवर्तनका नाममा हाम्रो मौलिक परम्परा, मूल्य मान्यताहरुलाई नबिर्सौ भन्ने हाम्रो अनुरोध हो ।

तीज एक महिनासम्म मनाउन पाइयो भने महिलाको उत्थान हुन्छ भन्नु नितान्त गलत सोच हो । महिला उत्थान फगत नाचगानमा मात्रै सीमित छैन । परिवर्तन हुनुपर्ने धेरै बाँकी कुरा छन् ।

आजको युगमा महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक हिसाबले सक्षम हुन सके मात्रै उनीहरुको चौतर्फी विकास र उत्थान हुन्छ ।

महिलाहरुमा क्षमता विकास, सिप विकास गरी उद्यमशील बनाउने र आर्थिक रुपमा आत्मनिर्भर बनाउन सके उनीहरुको मनोबल बढ्छ ।

अर्काथरी पनि भेटिए । उनीहरुले विचार थियो, ‘पुरुषहरुले वर्षभरि चाड मनाउन हुने महिले एक महिना चाड मनाउन किन नहुने ?’ पुरुषको चाड वर्ष दिनभरि हुन्छ भनेर एकपटक घुमेर आउने हाम्रो महान चाडलाई धुमिल बनाउनुहुँदैन भन्ने हाम्रो उद्देश्य हो । मौलिक संस्कृति बचाउन हामीले नै थालेको कदममा पुरुषलाई दबाव परोस् भनेरै हामीबाट सुरु गरेका हौं ।

यो अभियान कुनै राजनीतिक पार्टी विशेष अभियान होइन । समाजमा आएका गलत परम्पराको शिकार कुनै एक पार्टी, लिंग र वर्ग मात्र हुँदैन र यसको सुधारको दायित्व पनि सबै पक्षको नै हुन्छ । नयाँ बाटो खोल्दा झ्याङ र काँडाले पक्का कोतर्छ । हामी कोतरिरहेका छौं । तर, हामीले बनाएको नयाँ बाटोमा भोलिको पुस्ता आरामले हिँड्न पाउनेछन् ।

आ–आफ्ना धर्म संस्कृतिबमोजिमका चाडबाड मनाउन सबै स्वतन्त्र छन् । स्वतन्त्रताको नाममा स्वच्छन्दतातर्फ समाज नजाओस् भन्ने हाम्रो चाहना हो । आफ्ना हकअधिकारको उपभोग गर्दा अर्काको अधिकार हनन् हुन दिनुभएन । सक्षम वर्गले तडक–भडक गर्दा समाजका विपन्न वर्गको मानसिकतालाई आघात पुर्‍याइनुहुँदैन । यसलाई ठूलो हाउगुजी नबनाउनमा सबैमा हार्दिक अनुरोध गर्दछु । यो विशुद्ध सामाजिक अभियानप्रति कुनै पार्टीविषेश तथा व्यक्तिगत आग्रह पूर्वाग्रह नराखिदिनु हुन अनुरोध छ ।

सबैको सद्भाव, साथ र सहयोगका लागि हार्दिक आग्रह गर्दै यो वर्षको हरितालिका ती सबैको सुखमय बनोस् । हार्दिक शुभकामना !

(पोखरा निवासी केसी नारी जागरण अभियानकी संयोजक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?