Comments Add Comment

भदौ १७बाट सुन्दर यातायातको चार्जिङ स्टेसन खुल्दै

१३ भदौ, काठमाडौं । भदौभित्रै काठमाडौंमा सार्वजनिक विद्युतीय बस चलाउने तयारी गरिरहेको सुन्दर यातायातले भदौ १७ गते आफ्नो चार्जिङ स्टेसन उद्घाटन गर्ने भएको  छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले चाबहिलस्थित कम्पनीको ग्यारेज र चार्जिङ स्टेसन उद्घाटन गर्ने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

यो सार्वजनिक सवारीका लागि स्थापना गरिएको चार्जिङ स्टेशन हुनेछ । सार्वजनिक विद्युतीय सवारी सञ्चालन गर्न चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानुनी व्यवस्था हालसम्म गरिएको छैन ।

तर, उर्जा मन्त्रालयले यसबारे सुझाव दिन बनाएको समितिले चार्जिङ स्टेसन स्थापनाका लागि विभिन्न नीतिगत व्यवस्था गर्न सिफारिस गरेको छ । मन्त्रालयका सहसचिव प्रविणराज अर्याल संयोजकत्वमा बनेको कार्यदलले चार्जिङ स्टेसन निर्माणका लागि विभिन्न व्यवस्थाहरु गर्न सिफारिस गरेको हो ।

विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा पनि चार्जिङ स्टेशन निर्माण गर्ने बताएको छ । कम्पनीले हाल ३०, ६० र १२० केभीए क्षमताका चार्जिङ मेसिन राखेर स्टेसनमा बनाएको छ । ३० केभीए क्षमताको दुई वटा, ६० र १२० केभीएका तीन/तीन वटा चार्जिङ मेसिन छन् ।

३० केभीएको मेसिनले एकैपटकमा ४ वटा गाडी चार्ज गर्न मिल्छ भने ६० र १२० केभीएका मेसिन चाररचार वटा गाडी चार्ज गर्ने क्षमताका छन् ।

यी सबै चार्जिङ मेसिनबाट एसी र डिसी आउटपुटको सुविधा छ । चार्जिङ मेसिनबाट ब्याट्री बिगि्रने चिन्ता लिनु नपर्ने कम्पनीका अध्यक्ष थापाको दाबी छ । ‘नेपालमा चलिरहेका १६ वटा कम्पनीका गाडीका ब्याट्रीलाई उपयुक्त छ हाम्रो चार्जिङ मेसिन’, उनी भन्छन् ।

डिजिटल प्रविधिका चार्जिङ मेसिन भएकाले जति चार्ज गर्नु छ त्यति नै युनिट तोकेर चार्ज गर्न मिल्ने सुविधा पनि छ । ‘पेट्रोल पम्पमा गएर २०० को तेल हाल्छ भन्छौं नि यहाँ पनि त्यसरी नै बटम दबाएर निश्चित युनिट चार्ज गर्न मिल्छ’, उनले भने ।

चार्ज फूल भएपछि मेसिन ‘अटोअफ’ हुने भएकाले ब्याट्रीमा कुनै समस्या नआउने उनको दाबी छ । चीनबाट भित्र्याएको यी चार्जिङ मेसिन एउटाको १३ लाख रुपैयाँ परेको थापा बताउँछन् ।

सुन्दर यातायातले उर्जा मन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार्जिङ मेसिनको स्थलगत रुपमै अवलोकन गराएर अप्ठेरो फुकाइदिन अनुुरोध गरेको थियो । ऊर्जामन्त्री पुनले छिट्टै अन्योलत हटाउने आश्वासन दिएका थिए ।

हाल शहर र राजमार्गहरुमा पेट्रोल पम्प जस्तै विद्युतीय चार्जिङ स्टेसन खोल्ने बाटो कानूनतः खुलिसकेको छैन । निजी क्षेत्रले खोल्ने चार्जिङ स्टेसनको मापदण्ड र चार्जिङ शूल्क तथा त्यसमा दिइने अनुदानबारे सरकारले स्पष्ट निर्णय लिनुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment