Comments Add Comment

डिभोर्सपछि झन् नजिकिए ऋतिक र सुजैन

बलिउड अभिनेता ऋतिक रोशन तथा सुजैन खानको डिभोर्स भएको धेरै भैसक्यो, तर रमाइलो कुरा के छ भने आजका मितिसम्म उनीहरु असल साथीको रुपमा रहेका छन् ।

वैवाहिक जीवन टुंग्याए पनि उनीहरुलाई प्रायः सँग-सँगै देखिन्छ । कतिपटक त उनीहरु विदा मनाउनका लागि पनि सँगै गएका छन् । डिनरमा पनि धेरै पटक उनीहरुलाई सँग-सँगै देखिएको छ ।

डिभोर्सपछि नै दुवैले मजाले एक-अर्काको प्रशंसा गरिरहेको पनि सुन्न पाइएको छ । हालै मात्र ऋतिक रोशनले सुजैनका बारेमा एउटा प्रतिक्रिया दिएका छन् । ऋतिकको भनाइ छ, ‘आज पनि सुजैन मेरो लागि विशेष छिन् । मैले सुजैनसँग निकै नै विशेष समय बिताएको छु ।’

ऋतिकको भनाइ छ, ‘सुजैन पहिला पनि मेरो जिन्दगीको निकै महत्वपूर्ण अंग थिइन् र आज पनि उनले मेरो जिन्दगीमा निकै ठूलो महत्व राख्छिन् । मलाई धेरै जना मानिसहरुले आएर हाम्रो सम्बन्धले आफूलाई प्रेरणा दिएको बताउँछन् । यो कुरा सुन्दा मलाई निकै खुशी लाग्छ । प्रायः जोडीहरु कस्ता हुन्छन् भने डिभोर्स भएपछि एक-अर्काबीचको मित्रताको सम्बन्ध समेत राख्दैनन्, एक-अर्काको अनुहार समेत हेर्न रुचाउँदैनन् । वास्तवमा त्यस्तो हुनुचाहिँ राम्रो होइन ।’

त्यसो त ऋतिकले सुजैनसँग पुनः डिभोर्सअघि कै सम्बन्धमा पुग्न सक्ने सम्भावनालाई भने नकारेका छन् । सुजैनले पनि ऋतिकलाई असल साथीमै सीमित राख्न खोजेको अनुमान गरिन्छ ।

पछिल्लो समय ऋतिक नयाँ फिल्म ‘वार’ को प्रतिक्षामा छन् । उक्त फिल्ममा ऋतिकले अभिनेता टाइगर श्राफसँग मुख्य भूमिका निर्वाह गरेका छन् । उक्त फिल्मको टे्रलरले दर्शकको मन जितिसकेको छ । उक्त फिल्मको टे्रलर सार्वजनिक भएपछि सुजैनले समेत ऋतिकको प्रशंसा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment