Comments Add Comment

एक वर्षमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रियो

गत वर्षभन्दा १६ प्रतिशत वृद्धि

१५ भदौं, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली संख्याको घटे पनि रेमिट्यान्स आप्रवाह भने बढेको छ ।

विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिट्यान्स गत आर्थिक वर्षमा भन्दा १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा रेमिट्यान्स १६.५ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा रेमिट्यान्स रकम ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७५/७६ मा खुद ट्रान्सफर प्राप्ति १५ प्रतिशतले बढेको राष्ट्र बेंकले बताएको छ ।
राष्ट्र बैंकका अनुसार खुद ट्रान्सफर वृद्धि भई ९ खर्ब ९४ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो प्राप्ति १.५ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्यामा भने भारी गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४/७५ को तुलनामा ३२.६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ९.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment