Comments Add Comment

धवलशम्शेरको दाबी : गाईगोरु कमजोर थिए, ट्रकभित्रै मरे

१५ भदौ, काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले दैलेख पठाएका गाईगोरु ट्रकभित्रै मरेको दाबी गरेका छन् । लामो समय काञ्जीहाउसमा राखिएका गाईगोरु कमजोर भएकाले ट्रकभित्रै मरेको उनको दाबी छ ।

‘काञ्जीहाउसमा धेरै दिन थुनिएका गाईगोरु उसै पनि कमजोर हुन्छन् । ट्रकभित्रै किचकाच भए, कर्मचारीहरु आत्तिएर छोडेर आएका हुन्’ उनले अनलाइनखबरसँग भने ।

दैलेखको शिरस्थान धार्मिक क्षेत्रका लागि भन्दै पठाइएका २ सय ९० गाईगोरु तथा बाच्छाबाच्छीमध्ये २४ वटा सुर्खेतको कटकुवा जंगलमा मृत अवस्थामा भेटिएका थिए । अरु १४४ वटा गाईगोरु पनि त्यहीँ अलपत्र छाडिएको थियो ।

यसलाई लिएर मेयर राणाको आलोचना भएको छ । कतिपयले गौहत्या गरिएको आशंका गरेका छन् । गृह मन्त्रालयले यो घटना छानबिन गर्नसमिति नै बनाएको छ ।
तर नेपालगञ्ज उपमहानगरका मेयर राणाले भने गौहत्या नभएको दाबी गरेका छन् ।

कान्जी हाउसका गाईगोरु अन्यत्र पठाउन खोज्दा दुर्घटना भएको उनको भनाइ छ । ‘सही ठाउँमा लग्ने क्रममा यो दुर्घटना भएको हो । कसैले गौहत्या गरेको छैन’ उनले भने, ‘ट्रकमा मरे । मरेका गाई गोरुलाई रोडमा तल फालिदिएका हुन् ।’

साथै गाईगोरु व्यवस्थापन गर्दा उपमहानगरका कर्मचारीले ध्यान पुर्याउन नसकेको बताए ।

राप्रपाको बैठकमा छलफल

यसैबीच गाईगोरु मृत भेटिएको विषयमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठकमा छलफल भएको छ । राप्रपा महामन्त्रीसमेत रहेका नेपालगञ्जका मेयर राणाले घटनाबारे पार्टी पदाधिकारीलाई जानकारी गराएका हुन् ।

पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गृह मन्त्रालय र नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको छुट्टाछुट्टै छानविन समितिको प्रतिवेदन आएपछि यस घटनाको विषयमा पार्टीले आवश्यक निर्णय लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment