Comments Add Comment

दर खाने साँझ बानेश्वरकाे बसमा चेलीको रोदन

चाडबाडको मौका पारेर पकेटमारको बिगबिगी

१६ भदौ, काठमाडौं । तीजको दरखाने दिन काठमाडौंका सडकमा बिहानदेखि साँझसम्म भीडभाड बढेको थियो । नयाँबानेश्वर, पशुपति, मित्रपार्क, गौशाला क्षेत्रमा मानिसहरुको चाप अत्यधिक थियो । गाडीहरु बाक्लै गुडिरहेका बेला नयाँ बानेश्वरमा एक किशोरीले बाटो क्रस गर्न खोजेको देखेपछि बीच सडकमा उभिएका ट्राफिक प्रहरीले ठट्टाको शैलीमा भने, ‘भोलि तीज छ, गाडी चलिरहेको बेला जथाभाबी बाटो नकाटौं है चेलीबेटी हो ।’

तर, किशोरी ट्राफिकको भनाइलाई बेवास्ता गर्दै बाटो क्रस गरेर उनकै छेउमा आइपुगिन् र सुँक्सुकाउन थालिन् । ट्राफिक प्रहरीले सोधे, ‘के भयो ? किन रोएकी ?’

कलेज पढ्ने उमेरकी, पिठ्युँमा सानो झोला भिरेकी उनले नयाँ बानेश्वर चोकमा विस्तारै गुड्दै गरेको बसतर्फ देखाएर रुँदै भनिन्, ‘ऊ त्यो बसभित्र मेरो पर्स र मोबाइल चोरी भयो, गुहार माग्दा कसैले रेस्पोन्स गरेन ।’ किशोरीका अनुसार उनको पर्समा १० हजार रुपैयाँ थियो ।

किशोरीको कुरा सुन्नासाथ ट्राफिक प्रहरी बसतर्फ दौडिए । बस बबरमहल, बानेश्वर हुँदै कोटेश्वरतर्फ गइरहेको बा ४ ख ४१४६ नम्बरको बस संसद भवन नजिकै रोकियो । ‘रोयल जक्सन कलंकी धादिङ’ लेखिएको सो बसको पछाडि साहित्यको शैलीमा लेखिएको थियो, ‘जल्नेको मन जलिरहन्छ, ४१४६ चलिरहन्छ ।’

बसभित्र यात्रुहरु नअटेर ढोकामा समेत खचाखच थिए । प्रहरीले बसका यात्रुहरुमाथि जाँच गरे । तर, ती किशोरीले हराएको भनेको पैसा र मोबाइल प्रहरीले फेला परेन ।

बसभित्र जाँच चल्दै गर्दा अर्का एक प्रहरीले पीडित किशोरीलाई सम्झाउँदै थिए, ‘हामीले धेरैचोटि सचेत गराइसकेका छौं, बसमा चढेको बेला आफ्नो सामानको सुरक्षामा ध्यान दिने, भिडभाडको बेला सकभर मोबाइल फोन नचलाउने, पर्सलगायतका सामाग्रीहरु ब्यागको बाहिरी गोजीमा नराख्ने ।’

तीजको मौकामा चोरी र लुटपाटका घटना हुन सक्ने भन्दै प्रहरीले सजग रहन र गरगहना नलगाउन आग्रह गर्दै आएको छ । तीजलाई सुरक्षित बनाउने उद्देश्यले पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रलाई केन्द्रित गरी ६० भन्दा बढी सादा पोशाकमा प्रहरी खटाइएका छन् ।

‘पशुपति एरियालाई फोकस गरेर टोली मोबिलाइज गरेका छौं,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने । ‘बसहरुमा, पशुपतिको लाइनमा र भिडभाड हुने ठाउँमा महिला र पुरुष प्रहरीलाई सादा पोशाकमा खटिएका छन् ।’ युनिफर्ममा भने लगभग एक हजार जना खटाइएको डिएसपी बोगटीले बताए । भिडभाड भएको मौकामा महिलाले महिलाकै सिक्री, तिलहरी, पर्स लुटपाट गर्ने घटना हुने गरेकाले निगरानी बढाइएको प्रहरीको भनाइ छ ।

त्यसैले पशुपतिनाथलगायतका मन्दिरहरुमा जाँदा गहना नलगाउन प्रहरीले आग्रह गरेको छ । खास गरी ठूला गहना, सिक्री, देखिने गरी नलगाउन अनुरोध गरका छौं । कहिलेकाहीँमा भिडमा खस्छ, चोरी हुन्छ, गहना प्रदर्शन गर्ने सोखले आफैंलाई क्षति हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment