Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी प्रकरण: उपकुलपति ११ दिनदेखि कार्यकक्ष बाहिरै

१९ भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उपकुलपति बिजुकुमार थपलिया कार्यकक्षमा बस्न पाएका छैनन् ।

विश्वविद्यालय सेवा आयोगले प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि लिएको अन्तर्वार्ताको विषयमा दुई विद्यार्थी संगठनले छुट्टा छुट्टै ताला लगाएका कारण गत भदौ ८ गते नियुक्ति पाएका थपलियाले कार्यकक्षमा बस्न नपाएका हुन् ।

तालाबन्दीका कारण उनी विश्वविद्यालय केन्द्रिय कार्यालयसँगै रहेको जनता क्याम्पसबाट काम गरिरहेका छन् ।

विश्वविद्यालय सेवा आयोगकाका अध्यक्ष बद्रीनाथ श्रेष्ठले कार्यकाल सकिन तीन दिन बाँकी रहेको अवस्थामा भदौ ३ गते काठमाडौंको होटल एम्बेस्टरमा व्यवस्थापन तर्फको प्राध्यापकमा जीवन ढकाल र सहप्राध्यापकमा शैलेन्द्र शिवाकोटीको अन्तर्वार्ता लिएका थिए ।

२०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न पदका लागि विज्ञापन भएपनि प्राध्यापक र सहप्राध्याप नियुक्तिको प्रक्रिया मात्र अघि बढेपछि अनेरास्ववियुले विश्वविद्यालय सेवा आयोग र केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको थियो ।

तीन महिने जिम्मेवारी पाएका उपकुलपति थपलियाले आफ्नो कार्यकालमा दैनिक कार्य सम्पादन बाहेक ठूला निर्णय नगर्ने बताएपछि अनेरास्ववियु तालाबन्दी खोल्न राजी भएको थियो । तर, अनेरास्ववियुसँग छलफल चलिरहेको अवस्थामा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको हो ।

उपकुलपति भए लगतै अनेरास्ववियुसँग छलफल गरेका उपकुलपतिले तालाबन्दी खोल्ने वातावरण बनाएपनि नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि कार्यकक्ष प्रवेश गर्न नपाएको थपलियाले बताए । ‘यहाँ हाजिर हुनुअघि केन्द्रिय कार्यालयमा अनेरास्ववियुको तालाबन्दी थियो,’ उनले भने, ‘म आएपछि तालाबन्दी खोल्ने वातावरण बन्यो, तर बैठक बसिरहेको अवस्थामा नेबिसंघले तालाबन्दी गर्याे ।’

क्याम्पस प्रमुखको कार्यकक्षबाट उपकुलपतिका काम

गत भदौ ८ गते विश्वविद्यालयमा हाजिर भएका उपकुलपति थपलिया कार्यकक्षमा बस्न नपाउँदा काम गर्न गाह्रो भएको बताउँछन् । निरन्तर दुईसाता सम्म तालाबन्दी भएका कारण विश्वविद्यालयको काम कारवाहीमा समस्या आएको उनले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय भएकै भवनमा रहेको जनता क्याम्पसको प्रमुखको कार्यकक्षमा बसेर काम गरिरहेको उपकुलपति थपलियाले बताए ।

आफू हाजिर हुँदा विश्वविद्यालयको सेवा आयोग, डिन कार्यायल र केन्द्रिय कार्यालयमा तालाबन्दी रहेको बताउँदै उनले डिन कार्यालयको तालाबन्दी खुलाएको बताए ।

सेवा आयोगको विज्ञापनबाट आएका प्राध्यापक र सहप्राध्यापकका लागि नेबिसंघले दबाव दिन तालाबन्दी गरेको अनेरास्ववियुका नेताहरु बताउँछन् । कांग्रेस निकट प्राध्यापक र सहप्राध्यापकलाई हाजिर गराउन नेविसंघले तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जिसस न्यौपाने बताउँछन् । अनेरास्ववियु प्राध्यापक र सहप्राध्यापकको नियुक्ति गर्न नहुने अडानमा छ ।

नेवि संघका पूर्वाञ्चल विश्वविद्यालय उपसमितिका उपसभापति पंकज घिमिरे विज्ञापन अनुसार प्रकृया पूरा गरेर आएकाहरुलाई हाजिर गर्नुपर्ने बताए । तालाबन्दीको मुख्य एजेण्डा विश्वविद्यालयमा भएको राजनीतिक हस्तक्षेप विरुद्ध भएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment