Comments Add Comment

पोखराका मेयरको विदेश मोह : पीएल सिंहको बाटोमा जिसी

नवौं वैदेशिक भ्रमणमा कोरियातिर

१८ भदौ, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रतिवद्धता थियो, स्मार्ट सिटी । अहिले पोखराका सडकमा एम्बुस थापेजस्ता खाल्डैखाल्डा छन् । बसपार्क अव्यवस्थित छ । फोहोरमैला व्यवस्थापन भद्रगोल छ ।

तार ब्यवस्थापन गर्ने भनेर धुमधुम साथ सुरु गरिएको अभियान दस दिनमै फेल खायो । फेवाताल फराकिलो बनाउने भन्दै डोजर चलाए, त्यो पनि त्यत्तिकै सलायो ।

स्मार्ट सिटी बनाउने बाचामा सफलताभन्दा असफलता धेरै हात लागेका बेला मेयर जिसी भने विभिन्न देशका स्मार्ट सिटीहरु घुम्नमा व्यस्त देखिएका छन् ।

एउटा देशबाट आउन नपाउँदै अर्को देश उडेका छन् । चीन भ्रमणबाट फर्किएलगत्तै मंगलबार फेरि दक्षिण कोरिया उडेका छन् । यो मेयर जिसीको नवौं विदेश भ्रमण हो । महानगरको नेतृत्वमा आएपछि दुई पटक चीन गइसकेका उनले श्रीलंका, ताइवान, जापान, स्विजरल्याण्ड र बेलायतको भ्रमण गरेका छन् ।

अब जिसीलाई पोखराबासीले काठमाडौंका तत्कालीन मेयर पीएल सिंहसँग तुलना गर्न थालेका छन् । त्यसबेला मेयर सिंह यति धेरै वैदेशिक भ्रमणमा गए कि विदेशको ज्ञान काठमाडौं बनाउन लगाउँछु भन्दाभन्दै कार्यकाल सकिएको थियो ।

पोखराका पूर्वमेयर भोला थापा पनि मेयर जिसी पीएल सिंहकै बाटोमा हिँड्न खोजेको बताउँछन् । ‘विदेश घुमिरहने हो भने पोखरा बनाउँछु भन्दाभन्दै कार्यकाल सकिन्छ,’ थापा भन्छन्, ‘विदेश मोहले तानेपछि अरुमा ध्यान नजानसक्छ ।’

मेयर जिसीको विदेश मोहप्रति उनीआवद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरुले समेत असन्तुष्टि जनाएका छन् । प्रदेशस्तरका एक नेता भन्छन्, ‘पोखराका मेयर सांसदभन्दा शक्तिशाली छन् । बजेट र नीति निर्माणको तहमा पनि अवसरै अवसर छ, तर केही गर्नै नसक्ने हुन् कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

महानगरमा डेंगुको प्रकोप, मेयरसा’ब देशावर !

नेकपाकै नेताहरुले मेयर जिसीको निर्णय गर्ने र कार्यान्वयन गर्ने क्षमतामाथि शंका गर्न थालेका छन् । महानगरका जनप्रतिनिधि पनि उनको कार्यशैलीप्रति खुसी छैनन् । पोखरा महानगरमा कांग्रेसको नेतृत्वसमेत गरिरहेका पोखरा वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने भन्छन्, ‘महानगरमा डेंगुको प्रकोप बढिरहेको छ । मेयरसा’ब बिदेश घुमिरहनु भएको छ ।’

लामिछानेले भनेजस्तै पोखरामा डेंगुको प्रकोप छ । त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले पनि आफ्नो तर्फबाट पहल गर्नुपर्ने हो । तर चीनबाट फर्किएपछि बैठक राखेर क गर्ने भनेर छलफलसम्म नगरेको जनप्रतिनिधि तथा कर्मचारी बनाउँछन् ।

मेयर भन्छन् : भ्रमण उपलब्धीमूलक

पोखराको मेयर निर्वाचित भएको केही महिनामै जिसी दक्षिण कोरियाको भ्रमणमा निस्कँदै थिए । एसिया प्यासिफिक मेयर फोरममा कोरिया जाँदै गर्दा उनले भनेका थिए, ‘विदेश जानै पर्‍यो । त्यहाँको विकास हेरेर यहाँ पनि सिको गर्नुपर्‍यो ।’

मेयर जिसीसहित ५ जना ७ दिन दक्षिण कोरिया घुमे । अहिले नवौं पटक वैदेशिक भ्रमणमा निस्किए । पहिलो भ्रमणको ठीक २ वर्षपछि मेयर जिसीले कोरियाकै भ्रमणमा जानुअघि भने, ‘यो भ्रमण धेरै उपलब्धीमूलक हुँदैछ ।’

८ दिनको भ्रमणका क्रममा मेयर जिसी हरित गृहसम्बन्धी सेमिनारमा सहभागी हुनेछन् । विश्व कार्बन फोरममा मेयर जिसीको प्रस्तुती रहनुका साथै नगर यातायात सुधारसम्बन्धी सम्झौता हुने उनको सचिवालयले जनाएको छ ।

यस्ता भ्रमणका क्रममा देखेको विकास र सुशासनको सिको गरेर पोखरा बनाउने उनको दाबी छ । तर, मेयर जिसीले भ्रमण गर्दा सिकेका कुरा पोखरामा लागू गर्नु त परको कुरा, आफ्नै योजना कार्यान्वयन गर्नसमेत चुकेको महानगरका जनप्रतिनिधिले बताए । निरन्तर वैदेशिक भ्रमणमा गए पनि सुधार गर्नुपर्ने कुरामा कुनै नयाँ काम गर्न नसकेको उनकै वरिपरीका कर्मचारी बताउँछन् ।

मेयर विदेश घुमुन्, तर उडन्ते नहोउन्

भोला थापा, पूर्वमेयर

पहिलेदेखि नै पदमा पुग्नेबित्तिकै विदेश भ्रमणमा गइहाल्ने देखिन्छ । तर, विदेशमा यस्तो रैछ, अब हामीले यहाँ यस्तो गरौं भनेर सुरुवात गरेको देखिएन । बरु मैले त के देखेको छु भने, ‘विदेश जाने, घुमघाम गर्ने, अलिअलि पैसा र उपहारहरु आउँछन्, पोको पार्ने फर्कने ।

पोखरा महानगरपालिकाका मेयरले ८ औं पटक वैदेशिक भ्रमण गरेर फर्किसकेका छन् भने केचाहिँ उनले प्रयत्न गरे त ? भनेर खोज्ने हो भने केही पाइँदैन । पोखराका मेयरका विषयमा २/३ वटा कुरा सुन्छु । सुरुमा उनी असल छन् भन्ने थियो । अहिले हाम्रा मेयर काम न काजका परेछन् भनेर टोल, टोल र चिया पसमा चर्चा हुन्छ । वैदेशिक भ्रमणमा मात्रै जाने अनि काम गर्ने इच्छाशक्ति र प्रयत्न नै भएन भने कसरी असल भन्ने ?

दलीय राजनीतिबाट आउने व्यक्ति भएकाले सबै कुरामा विज्ञता हुँदैन । तर, विज्ञहरुलाई साथमा लिएर काम गर्न सक्छन् । निर्णय गर्ने र कार्यान्वयनमा जाने क्षमता नै भएन भने उनको भविष्यमाथि त धक्का लाग्छ नै महानगरकै अवस्था पछाडि धकेलिन्छ । हाम्रा असल भनिएका मेयरले पोखरालाई नै पछि पार्ने हुन् कि भन्ने संशय सुन्छु बजारमा ।

म एउटा किस्सा सुनाउँछु । एक जना कांग्रेसका नेताको घरमा बाटो लैजानु परेछ । जहाँ बाटो लैजाने घर नै मापदण्डबिपरीत जग्गा मिचेर बनेको छ । ती नेताले मेयरलाई बोलाएछन् र मेयर पुगेछन् । त्यसबेला स्थानीयले उनलाई भनेछन्, ‘तपाईं नेताको घर भनेर चोख्याउन भनेर आउनुभएको होला । जनताले बोलाएको भए आउनुहुन्थ्यो ?’

मेयर अध्यारो मुख लाएर फर्किएछन् । के हो बास्तविकता ? किन बल गरिरहेका छन् भनेर मेयरजत्तिको मान्छेले सोच्नुपर्छ कि पर्दैन ? यो सामान्य लाग्ने तर जटिल विषय हो । बुझ्दै नबुझी जसले जहाँ बोलाएर पनि पुग्ने तर सत्य पहिल्याएर काम गर्न नसक्ने हो भने हाम्रो महानगर त पछि पर्‍यो, पर्‍यो ।

मेयर जिसीले पोखराप्रतिको चिन्तन र चिन्ता कसरी गर्छन् भन्ने कामबाट देखिने हो, अनुहारबाट होइन । हिङ नभएका मेयरका रुपमा यिनको चर्चा हुन थाल्यो । रमाउने, हिँड्नेमात्रै देखिन थाल्यो । काठमाडौंका मेयर पिएल सिंहकै बाटोमा देखिन थाले जिसी पनि । लिस्ट बनाएर प्राथमिकताका आधारमा यो-यो काम गर्छु भनेर एक्सनमा जालान् भनेर कामना गर्दागर्दै कार्यकालै सकिने भयो ।

विदेशबाट सिकेर २/३ वटा नयाँ काम गरे पुग्छ

ध्रुव वाग्ले, पूर्व मेयर, व्यास नगरपालिका

वैदेशिक भ्रमण ज्ञान, अनुभव र विकासको मोडल सिक्ने एउटा माध्यम हो । विदेशमा प्राप्त ज्ञानलाई आफ्नो नगरअनुसार जनताका आवश्यकतालाई जोडेर काममा परिणत गर्न सक्यौं भने त राम्रो हुने भइहाल्यो । तर, यहाँ सरकारी कर्मचारी नेतादेखि विभिन्न व्यक्तिहरु रमाइलोका लागि विदेश भ्रमण गर्ने चलन छ । अरुको देशको विकास देख्यो, दंग पर्‍यो, फर्कियो ।

फोहोरमैला व्यवस्थापनको कुरा होस्, कार्बन उत्सर्जन घटाउने कुरा होस्, पर्यावरण, यातायात व्यवस्थापन धेरै कुरामा विदेशबाट सिक्न सकिन्छ ।  वैदेशिक भ्रमणमा हुने कार्यक्रमहरुमा भाग लिएर फर्केपछि त्यहाँको ज्ञानलाई आफ्ना जनताका आवश्यकता र व्यवस्थित सहर बनाउनका निम्ति बजेट र नीति तथा कार्यक्रमभित्र पार्ने कुरा महत्वपूर्ण हो ।

म मेयर हुँदा युएनडिपीको सहयोगमा थुप्रै देश घुमें । २०२८ सालमा सिटी प्लानिङसहित दमौली तनहुँको सदरमुकाम त बन्यो, तर व्यवस्थित हुन सकेको थिएन । २०५४ सालमा व्यास नगरपालिकाको मेयर भएपछि सहरलाई व्यवस्थित गराउने काम गरेँ । जुन युएनडिपीको सहयोगमा विभिन्न देश घुमेर पाएको ज्ञानलाई प्रयोग गरेको थिएँ ।

फराकिला बाटा, प्रत्येक चोकमा एउटा चौतारो र प्रत्येक चौतारोमा आमसभा नै गर्न मिल्ने खालको फराकिलो बनाउने, नाला व्यवस्थित गर्ने काम म मेयर हुँदा गरें । ड्रेन र पिच गर्ने अनि चोक र सडक व्यवस्थापन गरेपछि अहिलेसम्म सहज छ । त्यसको व्याज अहिलेसम्म पनि खाइरहेको छु ।

अहिले पनि दमौली बजार घुम्नुभयो भने सडकका दायाँबायाँ हरिया रुखहरु देख्नुहुन्छ । त्यो विदेशबाटै सिकेर गरेका थियौं ।

म युरोपियन देश, ल्याटिन अमेरिका र अफ्रिकन मुलुकहरु पनि घुमें । विदेशबाटै सिकेको कुरा सहरी गरिबको विषयमा थियो । उनीहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउनका निम्ति बिना धितो, बिना धरौटी ऋण दियौं । त्यसले धेरै जना गरिबीको रेखाभन्दा माथि उठे । डेढ करोड रुपैयाँको एउटा कोष खडा गर्‍यौं ।

कोषका माध्यमबाट पेशागत हिसाबले लगानी गर्‍यौं । त्यसको रिजल्ट धेरै राम्रो आयो । जनताको आम्दानी बढ्यो । गोजीमा पैसा पर्‍यो । खानेपानी व्यवस्थापनको काम व्यास नगरले नयाँ ढंगबाट गर्‍यो । नगरभित्रका गाउँका लागि एउटा नीति र सहरका निम्ति अर्को नीति बनाएर काम गरेका थियौं ।

त्यसैले विदेश कुन प्रयोजनका लागि जाने र के कुरा ग्रहण गरेर आफ्नो नगरमा कार्यान्वयन गर्ने भन्नेचाहिँ हुनुपर्छ । त्यो मेयरको क्षमता र ज्ञान भर्ने भाँडोअनुसार फरक पर्ने कुरा हो । विदेश जानै हुँदैन भन्ने होइन । फर्केपछि केचाहिँ नयाँ भयो भन्ने कुराले ठूलो अर्थ राख्छ । पोखराका मेयरलाई सुझाव छ, ‘विदेश यसरी जानुस् कि जनताले पनि भनुन्, मेयरले फर्केपछि केही न केही नयाँ कुरा सिकेर आउँछन् र कार्यान्वयन गर्छन् । विदेशबाट सिक्ने कुरा थुप्रै छन् । ज्ञान र अनुभवलाई आफ्नो नगरको नीति र बजेटमा ढाल्नुस् । धेरै पर्दैन, २/३ वटा नयाँ काम गर्नुस्, जसले दीर्घकालीन फाइदा पुर्‍याओस् । तपाईंको वाहवाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment