News Summary
Generated by OK AI. Editorially reviewed.- साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा युनाइटेड रसियाले करिब ७१ प्रतिशत मतगणनामा ५७ दशमलव ५ प्रतिशत मत पाएको छ।
- ४५० सिटको राज्य डुमाका लागि भएको निर्वाचनमा कम्युनिस्ट पार्टीले १४ प्रतिशत र एलडिपिआरले ८ दशमलव ७ प्रतिशत मत पाएका छन्।
- मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासमा करिब १ हजार ६ सय ड्रोन प्रहार गर्दा कम्तीमा २ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन्।
- केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले निर्वाचन पूर्वाधारमाथि १ हजारभन्दा बढी डिडिओएस साइबर आक्रमण भएको बताइन्।
५ असोज, मस्को (रासस/एएफपी)। साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार करिब ७१ प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ५७ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेको छ ।
राज्य डुमाका ४५० सिटका लागि भएको यो निर्वाचन सन् २०२२ मा युक्रेनमाथि रुसको ठूलो सैन्य कारबाही सुरु भएपछिको पहिलो संसदीय निर्वाचन हो । प्रारम्भिक परिणाममा कम्युनिस्ट पार्टीले १४ प्रतिशत र राष्ट्रवादी एलडिपिआरले आठ दशमलव सात प्रतिशत मत पाएका छन् । सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ दलले दुई तिहाइ बहुमत कायम राख्ने दिशामा रहेको छ ।
युद्धविरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले निर्वाचनको केही साताअघि सङ्घीय सूचीमा उम्मेदवारी दिन रोक लगाएको थियो। यद्यपि उसका केही उम्मेदवार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए । रुसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको थियो ।
मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार करिब एक हजार छ सय ड्रोन प्रहार गरिएकामा चार सय ५० राजधानीतर्फ लक्षित थिए। आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको तथा आवासीय भवन र तेल प्रशोधन केन्द्रमा क्षति पुगेको बताइएको छ ।
यसैबीच, रुसी निर्वाचन पूर्वाधारमाथि एक हजारभन्दा बढी चरणमा डिडिओएस साइबर आक्रमण भएको केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले बताइन्। उनले कृत्रिम बौद्धिकता प्रयोग गर्ने समन्वित समूह आक्रमणमा संलग्न भएको देखिएको बताइन्।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ड्रोन आक्रमण प्रभावकारी भएको बताएका छन् भने रुसी रक्षा मन्त्रालयले त्यसको प्रतिक्रियामा किएभमा सैन्य लक्ष्यविरुद्ध आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ। निर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4