Comments Add Comment

सिंगापुरको हाईहेल्लो ! प्रधानमन्त्रीलाई पत्याउने कि सञ्चारमन्त्रीलाई ?

समाचार टिप्पणी

१२ भदौ, काठमाडौं । मिर्गौलाको उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत सोमबार भएको ‘भिडियो कन्फरेन्सिङ बैठक’ सामान्य हाईहेल्लो मात्र भएको र त्यसलाई आफूहरुले ‘क्याबिनेट बैठक’ नभनेको सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पष्ट पारेका छन् । तर, प्रधानमन्त्री ओलीलाई पत्याउने हो भने त्यो सामान्य हाईहेल्लो मात्र थिएन ।

मन्त्री बास्कोटाले सोमबार पनि सञ्चारकर्मीसँग कुरा गर्दा त्यो भिडियो सम्वादलाई ‘क्याबिनेट बैठक’ भनेका थिएनन् । बुधबार प्रकाशित गोरखापत्रको प्रमुखमा समाचारमा पनि बास्कोटाले त्यसलाई ‘मन्त्रिपरिषद बैठक’ भनेनन् ।

सरकारका प्रवक्ता बास्कोटाले ‘भिडियो कन्फरेन्स’लाई ‘मन्त्रिपरिषद बैठक’ नमान्नुका पछाडि एउटा कानूनी आधार छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिखितरुपमै दिइसकेको अवस्था छ । सो लिखत अनुसार प्रधानमन्त्री सिंगापुरबाट नफर्केसम्म मन्त्रिपरिषदको बैठक पोखरेलकै अध्यक्षतामा बस्नुपर्ने हुन्छ ।

राष्ट्रपति कार्यालयको पत्रलाई आधार मान्ने हो भने भिडियोमा देखिएकै भरमा प्रधानमन्त्री ओलीले सिंगापुरबाट मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्न मिल्दैन । अर्कोतिर ईश्वर पोखरेलको अध्यक्षतामा केपी ओली बैठकमा सहभागी हुने प्रश्नै आउँदैन ।

सिंगापुरबाट प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक नै बसाएको मान्ने हो भने त्यो अवैधानिक हुन जान्छ । यदि त्यो बैठकलाई बैधानिक मान्ने हो भने बैठक बस्नुपूर्व राष्ट्रपति कार्यालयले सुम्पेको कार्यभारको व्यहोरा सच्याउनुपर्ने हुन्छ । त्यो व्यहोरामा ‘विदेशबाट भिडियो कन्फरेन्स बैठक बसेको बेलामा बाहेक अन्य समयमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्रीले व्यहोर्ने’ भन्ने भाषा राख्नुपर्ने हुन्छ ।

हुन त यसअघि ओलीको अध्यक्षतामा क्याबिनेटबाटै प्रधानमन्त्रीले विदेशबाट भिडियोमार्फत् मन्त्रिपरिषद बैठक राख्न सक्ने गरी कार्यसम्पादन नियमावलीमा परिमार्जन भैसकेको थियो । त्यस आधारमा प्रधानमन्त्री ओलीले सिंगापुरबाट क्याबिनेट बैठक राख्न सक्थे । तर, यसो गर्नका लागि सरकारले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दाखेरि नै ‘विदेशबाट भिडियो कन्फरेन्स गरेका बेलामा बाहेक उपप्रधानमन्त्रीमा कार्यभार रहने’ व्यहोराको जनाऊ दिनुपर्ने हुन्थ्यो, जुन व्यहोरा शीतलनिवासको पत्रमा छैन ।

प्रधानमन्त्री ओली सिंगापुर जाँदा सरकारले यसबारेमा होस पुर्‍याएन र शीतलनिवासले केपी ओली अनुपस्थित रहँदासम्म ईश्वर पोखरेललाई निरन्तरतामा कार्यभार सुम्पियो । यही कारणले सोमबार भिडियोबाट मन्त्रिपरिषद बैठक सम्भव भएन र आधा घण्टासम्म हाई हेल्लोमात्रै गर्नुपर्ने स्थिति आयो ।

प्रधानमन्त्री र सल्लाहकारले छरेको भ्रम

तर, समस्या कहाँनेरबाट सुरु भइदियो भने स्वयं प्रधानमन्त्री ओलीले भावुक हुँदै सिंगापुरबाट पहिलोचोटि मन्त्रिपरिषद बैठक बस्न सकियो भनेर टि्वट गरिदिए । प्रधानमन्त्रीको टि्वटलाई आधार मानेर सबै मिडियामा ‘सिंगापुरबाटै मन्त्रिपरिषद बैठक’ भन्ने समाचार आउनु स्वाभाविकै थियो ।

प्रधानमन्त्री ओलीले टि्वटमा लेखेका थिए, ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलोचोटि सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत् मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्यवाद ।’

प्रधानमन्त्री ओलीले मात्रै होइन, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि अर्को ‘भ्रमपूर्ण’ टि्वट गरे । प्रधानमन्त्री र मन्त्रीहरुवीच भिडियो सम्वाद भइरहेका बेला रिमालले टि्वटरमा लेखे, ‘सिंगापुरदेखि काठमाडौं : पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्दै ।’

अन्ततः सरकारका प्रवक्ताले नै त्यो क्याबिनेट बैठक थिएन भनेपछि प्रधानमन्त्री र मन्त्रीहरुवीच भएको भिडियो सम्वाद विवादको घेरामा तानिएको छ । प्रधानमन्त्री स्वयंले यसलाई ‘मन्त्रिपरिषद बैठक’ भनिसकेका छन् । तर, सरकारका प्रवक्ता बास्कोटाले यो क्याबिनेट बैठक नभएर प्रधानमन्त्रीसँगको हाई हेल्लो मात्र बताएका छन् ।
प्रधानमन्त्री, उनका राजनीति सल्लाहकार एवं मन्त्रीका फरक-फरक भनाइले आम जनमानसमा भ्रमको सिर्जना भएको छ । अब यो भ्रम सरकारले कसरी चिर्छ ? सरकारको औपचारिक प्रतिक्रिया पर्खनुबाहेक अर्को विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment