Comments Add Comment

प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, हामीले नमस्कार गर्‍यौं : सञ्चारमन्त्री बास्कोटा

१२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नबसिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला ९ भदौमा भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुले कुराकानी गरेका थिए । त्यसअघि भदौ पहिलो सरकार मन्त्रिपरिषद् बैठक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन गरेर भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।

तर विपक्षी नेपाली कांग्रेसले यसमा प्रश्न उठाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक दिएको अवस्थामा प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्नु नीतिगत त्रुटि भएको कांग्रेसको दाबी छ ।

यो पनि पढ्नुहोस भिडियोमा मन्त्रिपरिषद बैठक : वैधानिकतामाथि प्रश्न

कतिपयले गोपनीयताबारे पनि प्रश्न गरेका छन् ।

यसबारे संसदलाई जानकारी दिँदै सञ्चारमन्त्री बास्कोटाले मन्त्रिपरिषद् बैठक नै नबसेको बताए । ‘क्याविनेटको वैठक हामीले भनेका थिएनौं । मैले त्यसै दिन मिडियालाई बताएको थिएँ’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सामूहिक रुपमा हेलो भन्नुभयो । हामीले नमस्कार गर्‍‍यौं, उहाँले फर्काउनुभयो ।’

उनले अगाडि थपे ‘उहाँले कयौं वियषयमा जानकारी लिनुभयो, मन्त्री र कार्यवाहक प्रधानमन्त्रीलाई आवश्यक निर्देशन पनि दिनुभयो । आफ्नो स्वास्थ्य राम्रो भइरहेको बताउनुभयो । आफ्नो स्वास्थ्यप्रति चिन्ता चासो सरोकार र शुभेच्छा राख्ने नेपालीलाई धन्यवाद दिनुभयो । मन्त्रीहरुले पनि स्वास्थ्यलाभको कामना गर्‍यौं । तर यो कुरालाई बेग्लै ढंगले लगियो ।’

सांसदको प्रश्न : दिल्लीबाट पनि भिडियो कन्फरेन्स हुन्छ

मन्त्री बास्कोटाको जवाफपछि पुष्पा भुसाल, प्रकाश रसाइली स्नेही, सरिता गिरी र प्रेम सुवालले प्रश्न गरेका थिए ।

कांग्रेस सचेतक भुसालले हेलो गर्न मात्र भिडियो कन्फरेन्स गरिएको भए मन्त्रिपरिषद् बैठक सञ्चालनको कार्यविधि किन संशोधन गरियो भन्ने प्रश्न गरिन् । अर्का सांसद स्नेहीले चौतर्फी आलोचना भएपछि सरकारले झुट बोलेको आरोप लगाए ।

सांसद गिरीले भिडियो कन्फरेन्सको हेलो हेलोमार्फत कार्यबाहक प्रधानमन्त्री हटाउने व्यवस्था नियमावलीमा गरिएको छ कि छैनन् भन्ने प्रश्न गरिन् भने अर्का सांसद सुवालले दिल्लीबाट पनि भिडियो कन्फरेन्स हुन्छ भनेर सोधेका छन् ।

मन्त्रीको जवाफ

सञ्चारमन्त्री बास्कोटाले भने भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नगरेको दाबी दोहोर्‍याए । ‘सत्य यत्ति हो भिडियो कन्फरेन्स भएको हो, सत्य यत्ति हो, त्यहाँ कुनै एजेण्डा प्रस्तुत भएन, सत्य यत्ति हो, कुनै निर्णय भएन’ उनले भने, ‘भिडियो कन्फरेन्स र क्याविनेट बैठकबीच स्वभाविक रुपमा फरक हुन्छ होला नि ।’

व्यक्तिलाई हेरेर नभई भविश्यलाई हेरेर कार्यविधि संशोधन गरेको उनले बताए ।

साथै अमेरिका र रसियाका राष्ट्रपतिले जहाजमा उड्दाउड्दै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठकहरु गर्ने भन्दै उनले यसले सार्वभौमसत्तामा कुनै फरक नपर्ने बताए ।
उनले मुलुकको सार्वभौमिकता र प्रधानमन्त्रीको देशभक्तिमाथि प्रश्न उठाउनु अनुचित र खेदजनक भएको उनले जिकिर गरे ।

‘प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदसहित जानुभएको छ । उहाँले आफ्नो नागरिकता अरु देशमा दिनुभएको पनि छैन’ सञ्चारमन्त्री बास्कोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment