Comments Add Comment

एटीएम ह्याकिङ प्रकरण : भारतबाट १ करोड ७० लाख निकालिएको खुलासा

१९ भदौ, काठमाडौं । चिनियाँ ह्याकरले भारतबाट १ करोड ७० लाख रुपैयाँ  निकालेको पाइएको छ । नेपाल राष्ट्र बैं‌कले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार भारतबाट १ करोड ७० लाख र नेपालबाट १ करोड ८८ लाख रुपैयाँ गरी ३ करोड ५८ लाख रुपैयाँ  विभिन्न बैंकबाट निकालेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले मंगलबार साँझ राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको बताएको हो ।

नेपालबाट १ करोड २६ लाख ५४ हजार नेपाली रुपैयाँ र बाँकी विदेशी मुद्रा बरामद भएको थियो ।

भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेबिट कार्ड प्रयोग गरी रकम निकालिएको थियो । नेपालमा १७ बैंकका ६८ एटिएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदनले नेपालमा निकालिएकै हाराहारीमा भारतबाट समेत निकालिएको देखाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनका अनुसार ६ वटा नेपाली वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका २४ बैंकका १३२ एटिएम काउन्टरबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपैयाँ निकालिएको पुष्टि भएको छ ।

मिश्र नेतृत्वको समितिले प्रतिवेदनमा अल्पकालिन र दीर्घकालीन गरेर २ किसिमका सुझावहरु दिएको छ । हाल घटेको घटनाहरुको विज्ञद्वारा सुक्ष्म अध्ययन तथा विश्लेषण गर्न भनिएको छ । कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्न समितिले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी र पीएसओलाई आ–आफ्नो सूचना प्रविधि तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानी प्रणालीको जोखिम मूल्यांकन गरी जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्न निर्देशन दिइएको छ ।

यसअघि राष्ट्र बैंकले विभिन्न बैंकको एटीएम प्रणाली ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ चोरिएको जनाएको थियो । प्रहरीले गत शनिबार मध्यराति चलाएको अपरेशनबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो ।

जय नेपालको होटल माया मनोहर बुटिकबाट पक्राउ परेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङले सुटकेश र झोलामा बोकेको अवस्थामा ती रकम बरामद भएका थिए ।

आइतबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समूहका अर्का सदस्य सु लुसली पक्राउ परेका थिए । उनलाई पक्राउ गर्ने क्रममा पनि ६ हजार अमेरिकी डलर बरामद भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटी बताउँछन् । बयानका क्रममा ठमेलको सटही केन्द्रबाट रकम साटेको भेटिएपछि ३ जना नेपाली नागरिकलाई पनि पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन् ।

यस्ता छन् दीर्घकालीन सुझावहरुः

  • कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्नु पर्ने ।
  • कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनु पर्ने ।
  • कार्डसँग सम्बन्धित प्रणालीको अर्धबार्षिक रुपमा गर्ने व्यवस्था मिलाउनु पर्ने ।
  • कार्डसँग सम्बन्धित प्रणालीको जोखिम मूल्यांकन त्रैमासिक रुपमा गरी सम्बन्धित बैंकको जोखिम व्यवस्थापन समितिमा छलफल गर्ने व्यवस्था मिलाउनु पर्ने ।
  • एटीएम कक्षमा जडित सीसीटीभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने । साथै, यस्तो अनुगमन शनिबार लगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनु पर्ने ।
  • इजाजतपत्रप्राप्त वित्तीय सेवा प्रदायक संस्थाहरुले साईबर सेक्युरिटीको जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न साइबर सेक्युरिटी बीमा गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने ।
  • कार्डबाट हुने कारोबारको सीमा नियन्त्रणका लागि भिसा, मास्टरकार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालकहरुबाट सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबारको सीमा निर्धारण गर्ने सेवा लिनुपर्ने व्यवस्था मिलाउनुपर्ने ।
  • बैंक तथा वित्तीय संस्था र पीएसओ ले प्रिभिलेज एक्सेस म्यानेमजमेन्छ प्रयोग गरी सूचना प्रविधि प्रणालीको महत्वपूर्ण पूर्वाधार सुरक्षित राख्ने व्यवस्था मिलाउनु पर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment