Comments Add Comment

‘नेपाल आउनु मेरा लागि चिठ्ठै थियो’

संस्थापकको सम्झनामा पीएन क्याम्पस

१७ भदौ, पोखरा । कास्कीको मात्रै होइन, देशकै अग्रणी शैक्षिक संस्थामध्ये एक हो पृथ्वीनारायण (पीएन) क्याम्पस । पोखराको शैक्षिक इतिहाससँग जोडिएको यो क्याम्पसको कुरा गर्दा छुटाउनै नहुने नाम हो सर जोर्ज जोन ।

आजभन्दा ठीक ६० वर्ष पहिले जोनले पोखरामा क्याम्पस खोल्ने सपना नदेखेको भए अर्कै अवस्था हुन्थ्यो । त्यसबेला दुई शिक्षक, एक कार्यालय सहायक र १३ जना विद्यार्थीबाट पीएन क्याम्पस सुरु भएको थियो । अहिले क्याम्पसमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

मंगलबार क्याम्पसले ६० औं वार्षिकोत्सव मनायो । त्यसमा प्रमुख अतिथि थिए, उनै संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन । ८७ वर्षको अन्तिम ढिकमा उभिएका उनले मञ्चमा विस्तारै भने, ‘अर्को वर्ष रहन्छु रहन्नँ । त्यो ईश्वरको हातमा छ, तर आफैंले सुरु गरेको क्याम्पसमा आउन पाउँदा हर्षविभोर छु । मलाई प्रमुख अतिथिको चिठ्ठा पर्‍यो !’

६० औं वार्षिकोत्सव कार्यक्रम सुरु हुने केही समयअघिसम्म प्रमुख अतिथिमा जोर्ज जोनको नाम थिएन । आयोजककै भनाइलाई मान्ने हो भने त्यो कुर्ची कुनै मन्त्रीको नाममा थियो । अन्तिम समयमा आएर मन्त्रीले जिल्लाबाहिर भएकाले कार्यक्रममा आउन नभ्याउने खबर पठाए । मन्त्री नआउने भएपछि प्रमुख अतिथिमा जोर्ज जोन सरको नाम लिइएको रहेछ । भावुक हुँदै उनले भने, ‘हुन त नेपाल आउनु नै मेरो लागि चिठ्ठा थियो । मलाई जिन्दगीभरि चिठ्ठै चिठ्ठामात्रै परिरह्यो ।’

जोनले अघि भने, ‘नेपाल आउने चिठ्ठा नपरेको भए यति धेरै माया पाउने थिएन । पृथ्वीनारायण क्याम्पस, जो पोखरेलीको शैक्षिक इतिहास जोडिएको छ । त्यसमा जोडिनु पनि मेरा लागि चिठ्ठा नै हो ।’

मञ्चमा उभिएर जोर्ज जोन पुराना दिनमा फर्किए, जतिबेला (१७ भदौ २०१७) क्याम्पसको सुरुआत भयो । ‘पोखरा त्यतिबेला दुर्गम जिल्लामै गनिन्थ्यो । पोखरा आउने सरकारी कर्मचारीले दुर्गम भत्ता खान्थे,’ उनले सम्झिए, ‘त्यतिबेला यो गाउँमा पनि क्याम्पस खुल्नुपर्छ भनेर दुस्साहस गर्‍यौं ।’

स्थानीय बुद्धिजीवी र सरोकारवालाले साथ दिएपछि क्याम्पस खोल्ने निर्णय त भयो, तर जग्गा र भवन थिएन । क्याम्पस भवन नभएकै कारण तत्कालीन रत्नराज्यलक्ष्मी कन्या स्कुलको कक्षाकोठामै अध्यापन सुरु भयो ।

विद्यार्थी आउन थाले । तर दुई शिक्षक र एउटा कर्मचारीलाई तलबको समस्या पर्‍यो । जोर्ज जोनले उपाय फुराए, ‘क्याम्पसको आफ्नै जमीन भए त्यहीं बसिन्थ्यो, खाइन्थ्यो । विद्यार्थीहरुलाई पनि सजिलो हुने थियो ।’

त्यसपछि जोनले सञ्चालक समितिलाई ३ सय रोपनी जग्गा माग गरेरै पत्र लेखे । ‘विद्यार्थीले फुटबल मैदान, भलिबल मैदान उपलब्ध गराइदिनुपर्‍यो भनेर समितिमा माग गरें,’ उनले त्यससमयका दिन सम्झिए, ‘विद्यालयमा विद्यार्थी पढ्ने भवन नभइरहेको बेला ३ सय रोपनी जग्गामा खेल मैदान मागेपछि कस्ले देओस् ? धेरैले ममाथि प्रश्न उठाए ।’

कहिले कन्या क्याम्पस त कहिले पौवामा अध्यापन गराइहिँडेको क्याम्पसले २०१९ सालदेखि भने भीमकालीपाटनमा आफ्नो टहरा बनायो । त्यतिबेलासम्म क्याम्पसमा मानविकी विषयमात्र पढाइएको जोर्ज सुनाउँछन् । ‘एउटा विषयमा मात्रै विद्यार्थी केन्द्रित हुँदा उनीहरुको सिर्जनशीलता सकिन्छ जस्तो लाग्यो,’ भन्छन्, ‘त्यसपछि म्यानेजमेन्ट र साइन्स पनि थप्यौं । त्यसरी ३ वटा विषय पढाइ हुन थाल्यो ।’

त्रिभुवन विश्वविद्यालय स्थापना भएको एक वर्षपछि नै खेलेको पीएन अहिले आंगिक क्याम्पसको रुपमा छ । ‘२०१९ मा त्रिवि बल्ल पीएनको निरीक्षणमा आएको थियो, त्यो पनि हप्तौं लगाएर,’ जोनले सम्झिए, ‘टोली पाल्पा पुगेको रहेछ । पाल्पाबाट भैरहवा गयो । प्लेनको पालो पर्खिन ३ दिन लाग्यो । एकदिन त क्याम्पस खोज्दैमा बितेछ ।’

निरीक्षण टोली केही दिन बसेर फर्कियो । बल्लतल्ल ३ विषय सुरु गरेको क्याम्सपलाई धक्का लाग्यो । ‘मानविकी मात्रै पढाउनू, बाँकी विषय पढ्ने विद्यार्थी काठमाडौं पठाउनू,’ उनले टोलीले त्यसबेला दिएको निर्देशन सम्झिाए, ‘त्यो बेला उहाँहरुको विचार ठीक थियो । तर, घरबाट मानाचामल बोकेर आएका विद्यार्थी काठमाडौं जान सक्ने अवस्था थिएन । कोही पनि काठमाडौं गएनन् । पढाइ निरन्तर चल्यो ।’

जोर्जकै पालामा विद्यार्थी संख्या २५ सय पुग्यो । यसलाई पनि उनी चिठ्ठा परेकै भन्छन् । ‘त्यतिबेला क्याम्पस चलाउनु चुनौतीको कुरा थियो, तर हेर्दाहेर्दै विद्यार्थी बढेको बढ्यै गरे । योभन्दा गर्वकोे कुरा मलाई के हुनसक्छ ?’ उनले भने । कुनैबेला १९ हजार विद्यार्थी थिए भन्ने सम्झिँदा आफैंलाई विश्वास लाग्न गाह्रो हुने गरेको उनले सुनाए ।

विद्यार्थीले बनाएको पीएन क्याम्पस !

पीएन क्याम्पस गत वर्ष त्रिविको आंगिक क्याम्पसमध्ये सर्वोत्कृष्ट ठहरियोे । गत वर्ष नै क्याम्पस अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) सम्मानबाट विभूषित भयो । क्याम्पस यो सफलतासम्म आइपुग्नुमा जोर्ज जोन विद्यार्थीको देन ठान्छन् ।

‘सुरुआती समयमा क्याम्पसको भवन थिएन । अहिले जस्तो हलक्क बढेका रुखहरु थिएनन्,’ जोर्ज सम्झन्छन्, ‘तर विद्यार्थी आफैं जागरुक भएर भवन पनि बनाए । घरघरबाट विरुवा ल्याएर प्रांगणमा रोपे । अहिले पूरै हरियाली भएको छ ।’

०२५ सालदेखि नै पीएन विश्वविद्यालयको चर्चा

गण्डकी प्रदेश सरकारले आफ्नै विश्वविद्यालय खोल्ने तयारी गरिरहेको छ । क्याम्पसको वार्षिकोत्सव समारोहका अधिकांश वक्ताले पीएनलाई नै विश्वविद्यालय घोषणा गर्नुपर्ने माग राखे । जनशक्ति र पूर्वाधार पर्याप्त रहेकाले पिएन विश्वविद्यालयका लागि उपयुक्त रहेको उनीहरुको तर्क थियो ।

जोर्ज जोनले पनि त्यसमा सहमति जनाए । उनले भने, ‘पीएनलाई विश्वविद्यालय बनाउने कुरा अहिले मात्रै उठेको होइन । २०२५ सालदेखि उठिरहेको छ । तर सरोकारवालाले ध्यान नदिँदा छायाँमा पर्दै आएको छ ।’

क्याम्पसले उत्पादन गरेका विद्यार्थी राज्य सञ्चालनको प्रमुख ओहोदामा पुगे पनि विश्वविद्यालय बनाउनुपर्ने मागलाई बेवास्ता गरेको गुनासो पोखे । ‘कहिले राजनीति त कहिले व्यापारीको दृष्टिकोण र स्वार्थ मिसिँदोरहेछ,’ उनले भने, ‘विश्वविद्यालय बनाउने कुरा उठेदेखि नै ओहोदामा हाम्रै विद्यार्थी छन् । किन प्रयास गरेनन् थाहा छैन ।’

क्याम्पसमा अहिले ५ संकायमा ब्याचलर तहमा १० र मास्टर तहमा २१ विषय पठनपाठन भइरहेको छ । क्याम्पसमा ५ सय शिक्षकसहित ६ सय कर्मचारी छन् । क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाले चाँडै एमफिल र पीएचडीको कक्षा सञ्चालन गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

तस्वीरहरु : युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment