Comments Add Comment

प्रहरीबाट निर्घात कुटिए कन्टेनर चालक (भिडियोसहित)

डीएसपी भन्छन्- प्रहरी दोषी देखिए कारबाही गर्छौं

१८ भदौ, काठमाडौं । रसुवामा एक कन्टेनरका चालक नेपाल प्रहरीबाट निर्घात कुटिएका छन् । नेपाल-चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा कुटिएका हुन् ।

टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादका क्रममा कुटपिट गरेको खुले पनि असई र हवल्दारको पहिचान प्रहरीले गोप्य राखेको छ ।

भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिन्छ । चालकमाथि प्रहरीको ज्यादतिपछि प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले धम्याएका छन् ।

‘यसरी कुटपिट गर्न मिल्छ ? ड्राइभरको इज्जत छैन र भन्या ?’ एक प्रत्यक्षदर्शीले प्रहरीलाई सुझाउँछन् । तर, चालकले सुरुमा गल्ती गरेको जिकिर गर्दै प्रहरीहरु लात्ती र मुक्का बर्साइरहन्छन् ।

भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी रवैयालाई लिएर यसको आलोचना भएको छ । ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन् ।

यसबारे जानकारी लिन रसुवा प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालसँग सम्पर्क गर्दा उनले अव्यवस्थित गाडी हटाउन प्रहरीले आग्रह गर्दा घटना भएको र यसमा चालक स्वयं जिम्मेवार रहेको दाबी गरे ।

साँघुरो सडकमा अव्यवस्थित रूपमा राखेको गाडी हटाउन आग्रह गर्दै पुगेको प्रहरीलाई चालक तामाङले हात छाडेपछि घटना भएको उनको भनाइ छ । ‘प्रहरीले सडकमा राखिएको सवारी हटाउन गरेको आग्रहमा चालक तामाङले प्रहरीमाथि नै हात छाडेपछि घटना भएको हो’, घटनामा प्रहरी जिम्मेवार नभएको दाबी गर्दै उनले अनलाइनखबरसँग भने ।

यद्यपि, उनले यसबारे अनुसन्धान थालेको र प्रहरी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘घटनापछि हामीले प्रहरी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । यसबारे एक समिति पनि बनाउँछौं । अनुसन्धानबाट प्रहरी दोषी देखिए कारबाही गर्छौं,’ डीएसपी ढकालले भने ।

सामाजिक सञ्जालमा भिडियोलाई लिएर आलोचना भइरहेका बेला उनले सार्वजनिक भिडियोको दृष्य सुरुको नभएर अन्तिमको भएको जिकिर गरे ।

प्रहरीलाई कानूनको रक्षक मानिन्छ । कानून हातमा नलिई कानूनको रक्षा गर्नुपर्ने भए पनि प्रहरीको कार्यशैली बेलाबेला आलोचित हुने गरेको छ । यसअघि पनि गोंगबुमा एक असहाय व्यक्तिलाई प्रहरीले यसैगरी निर्घात कुटेको भिडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment