Comments Add Comment

अब ८४८ मात्र म्यानपावर कम्पनी, ३०३ वटा खारेजीमा

मर्जरमा आए ३०३ म्यानपावर

१८ भदौ, काठमाडौं । नेपालमा ८ सय ४८ म्यानपावर कम्पनी मात्रै रहने भएका छन् । सरकारले धरौटी बढाउन दिएको अन्तिम मिति बुधबारसम्म ८ सय ४८ म्यानपावरले बैंक ग्यारेन्टी र नगद धरौटी राख्ने प्रक्रिया पुरा गरेका छन् ।

वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार  इजाजतपत्र लिएका मध्ये  ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेर बन्द हुनेछन् ।

सरकारले दिएको ‘मर्जर’को विकल्प ३०३ वटा म्यानपावरले प्रयोग गरेका छन् । यति म्यानपावर कम्पनी गाभिएर कुल १३१ वटा म्यानपावरले धरौटी पुरा गरेका छन् ।

यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिई एउटा बनेको, पाँच-पाँच वटा संस्था गाभिई बन्ने संस्था २, चार-चार संस्था गाभिई बन्ने संस्था ९, तीन-तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुई-दुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहे।

खारेजीमा परेका मर्जर भएका गरी अब कुल इजाजतप्राप्त कम्पनीमध्ये ४७५ वटा  म्यानपावर कम हुने भुसालले जानकारी दिए ।

वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १५२७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भैसकेका थिए। भदौ १ गतेसम्म १३२३ संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए।

कारोबार रोक्का भएका र निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी र धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने इजाजतपत्रवाला संस्थाको संख्या ३०३ पुगेको भुसालले बताए ।

यो सँगै म्यानपावर कम्पनीको संख्या ५ देखि ६ सयको बीचमा राख्ने सरकारी लक्ष्य असफल भएको छ । विभागले सुरुआतमा बढीमा ६ सय म्यानपावर कम्पनीले मात्रै हाल बढेको धरौटी पुरा गर्न सक्ने आँकलन गरेको थियो ।

श्रम, रोजागर तथा समाजिक सुरक्षा मन्त्रालयले ५ सयभन्दा बढी म्यानपावर कम्पनी आवश्यक नभएको भन्दै वैदेशिक रोजगार ऐनमा संशोधन गरेर धरौटी वृद्धि गरेको थियो ।

तर, अन्तिम सयममा विभागमा धरौटी र बैंक ग्यारेन्टी लिएर पुग्ने म्यानपावरको संख्या ह्वात्तै बढ्दा संख्या उच्च हुन पुग्यो । यसका कारण बुधबार अन्तिम दिनमा पनि ९८ वटा म्यानपावर कम्पनीहरु धरौटी लिएर आए ।

हाल करिब १२ सय म्यानपावर कम्पनी सक्रिय छन् । त्यसमध्ये करिब आधा घटाउन सकिने अपेक्षासहित सरकारले धरौटी बढाएको थियो । तर, अब पनि साढे ८ सयको संख्यामा म्यानपावर कम्पनीहरु सक्रिय रहने छन् ।

सरकारले बैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर कम्पनी धरौटी बढाएको थियो । संशोधित ऐनअनुसार वर्षमा ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने थियो ।

यस्तै तीनदेखि ५ हजारसम्म कामदार पठाउनेले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले दुई करोड नगद धरौटी र तीन करोड बैंक ग्यारेन्टी राख्नुपर्ने नियम छ ।
यसअघि म्यानपावर कम्पनीले ७ लाख मात्र नगद धरौटी र २३ लाख बैंक धरौटी राखे पुग्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment