Comments Add Comment

सिड्नीमा नेपाली वृत्तचित्र पुरस्कृत

सिड्नी । नेपाली सञ्चारकर्मी शान्ता नेपालीले निर्माण गरेको लघु  वृत्तचित्र सिड्नीमा पुरस्कृत भएको छ । बृटिश सैनिकमा कार्यरत रही अफगानिस्तानमा घाइते भएका हरि बुढामगरमाथि बनेको वृत्तचित्र ‘असम्भव केही हुँदैन’ ले संसारभरबाट सबैभन्दा बढी अनलाइन भोट पाएर पुरस्कृत भएको हो ।

यही सेप्टेम्बर ६ मा सिड्नीमा सम्पन्न २०१९ को  ‘फोकस अन येबिलिटी’ शीर्षकको लघु वृत्तचित्र महोत्सवमा ‘असम्भव केही हुँदैन’ प्रदर्शन गरिएको थियो ।

युद्धमा घुँडा मुनिका दुवै खुट्टा गुमाए पनि मानिसमा कसरी फरक खालको सक्षमता हुनसक्छ भन्ने उदाहरणको रुपमा हरि बुढामगरलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

हरि बुढामगरले आफ्नो कथामा बनेको वृत्तचित्र पुरस्कृत भएकोमा आफूलाई गौरवको महसुस भएको बताएका छन् ।

अस्ट्रेलियाको समयअनुसार बिहान सबेरै बुढामगरले फेसबुकमा लेखेका छन्- ‘असम्भव केही हुँदैन’ शीर्षकको मेरो जीवनमा आधारित भएर शान्ता नेपालीले  निर्माण गरेको वृत्तचित्र अस्ट्रेलियामा पुरस्कृत भएको थाहा पाउँदा गौरवान्वित महसुस गरेको छु ।

यद्दपि आफू अन्य प्रतिवद्धताका कारण सिड्नी आउन नपाएको तर निर्माता/निर्देशक शान्ताले पुरस्कार ग्रहण गरेको बताएका छन् ।

उनले यो फिल्म महोत्सवमा पुरस्कृत यस प्रकारको पहिलो नेपाली फिल्म भएको भन्दै संसारभरबाट माया गर्नेहरुलाई धन्यवाद दिएका छन्  । उनले भनेका छन्- मेरो सगरमाथा यात्रासम्म सबैको सहयोग सदभाव हुने छ ।

यो वृत्तचित्रकी निर्माता/निर्देशक शान्ता नेपालीले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘संसारभरिका ६० वटा फिल्म सहभागी महोत्सवमा नेपाली फिल्मले सबैभन्दा बढी अनलाइन भोटिङ्ग प्राप्त गर्नु खुशीको कुरा हो । म यो फेस्टिबलको एक सहभागीको नाताले गौरवान्वित छु । मेरोलागि यो फिल फेस्टिबलभन्दा पनि मैले अपाङ्गता भएका मानिस पनि महान काम गर्न सक्छन् भनेर सहयोग र प्रोत्साहन गर्ने अवसर पाएको अनुभूति भएको छ ।’

वास्तवमा यो पाँच मिनेट मात्रको वृत्तचित्र हरि बुढामगरमाथि बन्दै गरेको लामो वृत्तचित्रको एउटा सानो भागमात्र हो । हरि बुढामगरको सगरमाथा यात्रासम्मको साहसिक कथा त छायांकन हुने बाँकी नै छ ।

अर्को वर्ष उनी सगरमाथा आरोहण गर्दै छन् । अहिलेसम्म उनले ६ हजार मिटरसम्मका हिमाल आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment