Comments Add Comment

सोमबारदेखि काठमाडौंमा विद्युतीय बस गुड्दै

२२ भदौ, काठमाडौं । वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत बनाइरहेको काठमाडौंको सार्वजनिक यातायातमा सोमबार(भोली)बाट विद्युतीय बसको पुनरागमन हुँदैछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै छ । तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना कम्पनीको छ । केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्दैछन् । ट्रली बसपछि काठमाडौंमा पहिलो पटक सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने अध्यक्ष थापाले बताए । कम्पनीले प्रति बस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

सुन्दर यातायातले भित्र्याएका बस नेपालको सडक मैत्री रहेको दाबी कम्पनीको छ । सुन्दरले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराउँदै बसको डिजाइन गराएको थियो । त्यही स्वीकृत डिजाइन अनुरुप राम्रो ‘ग्राउन्ड क्लेयरेन्स’ राखेर बस निर्माण भएको हो ।

चीनमा हाल प्रयोग भइरहेका बसहरुका ग्राउन्ड क्लेयरेन्स कम हुन्छन्, किन कि त्यहाँ सडकको अवस्था निकै राम्रो छ । तर, नेपालमा त्यही बस ल्याउँदा गुडाउन समस्या हुने भएपछि नेपालका लागि छुट्टै प्राविधिक डिजाइन गरिएको हो ।

खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर नेपाल आउने बसलाई छुट्टै तवरले डिजाइन गरिएको छ । काठमाडौंमा गुडिरहेका बसहरुभन्दा फरक लाग्ने यी बसका पछाडिको भागलाई पनि खाल्डाखुल्डी युक्त सडकमा जान सकिने गरी बनाइएको थापाले बताए ।

सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ । यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरु हुनेछन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाउन सकिने अध्यक्ष थापा बताउँछन् ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको छ । हाल कम्पनीसँग २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आइसकेको छ ।

‘काठमाडौंमा चार्जिङ स्टेशनका लागि धेरै जग्गा उपलब्ध हुन सक्दैन, त्यसैले जतिसक्दो छिटो चार्ज हुने र एउटै मेसिनबाट फरक–फरक गाडीमा पनि चार्ज गर्न सकिने प्रविधि चिनियाँ कम्पनीले नेपालकै लागि विकास गर्दैछन्,’ उनले भने । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उद्घाटन गरिसकेको छ ।

यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्नेछन् । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ । अहिले कम्पनीले यो प्रणालीको परीक्षण गरिरहेको छ ।

बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । जसमा यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । बसको भित्री बनोट पनि मजबुत तवरको रहेको कम्पनीका अध्यक्ष थापा बताउँछन् । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने उनको भनाइ छ ।

विद्युतीय बस वातावरणमैत्री हुन्छन् । यिनीहरुले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनी निकाल्दैनन् । आफ्ना विद्युतीय बसहरु उकालो सडकमा पनि सजिलै चल्न सक्ने बीएके कम्पनीको दावी छ ।

बीएकेका विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुनेछ । हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चन्छन् । तर, विद्युतीय बसको सञ्चालन खर्च त्यो भन्दा निकै कम छ । प्रत्येक ५ किलोमिटरमा बीएके कम्पनीको सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने अध्यक्ष थापा बताउँछन् । ३ देखि ५ किलोमिटर चल्दा विद्युतीय बसले डिजेलको भन्दा १०० रुपैयाँ कम खर्च गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment