Comments Add Comment

तालिवानी समूह प्रतिबद्धतासहित आए वार्ता हुन्छ : पोम्पियो

२३ भदौ, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिका अझै पनि तालिवानी समूहसँग वार्ता गर्नुपर्ने पक्षमै रहेको बताएका छन् । तर, त्यसका लागि तालिवानी समूह महत्त्वपूर्ण प्रतिबद्धतासहित आउनुपर्ने उनको सर्त छ ।

अमेरिकाले इरानी राष्ट्रपति असरफ घानी र तालिवानी विद्रोही समूहका शीर्ष नेताबीच तय वार्ता अवरुद्ध बनेसँगै अमेरिकी मन्त्रीको यस्तो भनाइ बाहिर आएको हो ।

आइतबारका लागि वार्ता तय गरिएको भए पनि तालिवानले काबुल आक्रमणको जिम्मा लिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थगित गरिदिएका थिए ।

ट्रम्पको लगातारको ट्विटपछि वार्ताको सम्भावना सकिएको ठानिए पनि अमेरिकी विदेशमन्त्री पोम्पियोले सम्भावना अझै जीवित रहेको बताएका छन् ।

‘मलाई विश्वास छ तालिवानहरूले आफ्नो व्यवहारलाई परिवर्तन गरी पछिल्लो समय अमेरिकी वार्ता टोलीसँग गरेको सहमतिप्रति प्रतिबद्ध भएमा समस्यालाई श्रृङ्खलावद्ध रूपमा समाधान गरी अघि बढ्न सकिन्छ’, पोम्पियोले भनेका छन् ।

विदेशमन्त्री पोम्पियोका अनुसार राष्ट्रपति ट्रम्पले अझै अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने वा नबोलाउने सम्बन्धमा निर्णय गरेका छैनन् । त्यसैले तालिवानले सहमतितर्फ आफूलाई तयार नपारे थप सैन्य दबावको सामना गर्नुपर्ने चेतावनी उनले दिएका छन् ।

वार्ता रद्दपछि तालिवान आक्रोसित

आइतबारका लागि तय वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थगित गरेपछि यसबारे प्रतिक्रिया जनाउँदै तालिवानले आफ्नो कारणले वार्ता रद्द नभएको जिकिर गरेको छ ।

वार्ता प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढिरहे पनि अन्तिममा आएर ट्रम्पले रद्द गरेको उसको आरोप छ ।

वार्ता प्रक्रिया रद्दपछि एक विज्ञप्ति जारी गर्दै उसले यसबाट अमेरिकालाई बढी नोक्सानी पर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment