२४ भदौ, काठमाडौं । वेष्ट इन्डिजले एकदिवसीय र टी–२० क्रिकेटको कप्तानमा अलराउण्डर किरोन पोलार्डलाई नियुक्त गरेको छ ।
यसअघि एकदिवसीय क्रिकेटमा ज्यासन होल्डर कप्तान थिए भने टी– २० क्रिकेटमा कार्लोस ब्राथवइट कप्तान थिए । तर वेष्ट इन्डिज क्रिकेट बोर्डले होल्डर र कार्लोसलाई हटाउँदै पोलार्डलाई क्रिकेटको एकदिवसीय र टी–२० फर्म्याटको कप्तानीमा नियुक्त गरेको हो ।
३२ वर्षीय पोलार्ड घरेलु मैदानमा भारतविरुद्ध भएको टी–२० सिरिजको लागि टिममा परेका थिए तर उनले खेल्न पाएनन् । एकदिवसीय क्रिकेटमा भने उनी सन् २०१६ देखि खेल्न पाएका छैनन् ।
इंग्ल्यान्ड र वेल्समा सम्पन्न भएको विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले ज्यासन होल्डरको कप्तानीमा खेलेको थियो । तर वेष्ट इन्डिजको प्रदर्शन निकै खराब रह्यो । विश्वकपमा होल्डरको टिमले मात्र दुई खेल जितेको थियो ।
प्रतिक्रिया 4